समाचार

भैसेपाटीमा नयाँ घर किने प्रियंका र आयुष्मानले !

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आगामी फागुनमा विवाह गर्ने भएका छन् । उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको उनका नजिकका एक साथीले नाम नखुलाउने सर्तमा बताए । उनका अनुसार प्रियंका आयुष्मान बिवाहको तयारीमा जुटिसकेका छन् ।

विवाहको विषयमा प्रियंका र आयुष्मानले भने आधिकारिक मिति सार्वजनिक गरेका छैनन् । गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मान पहिलो पटक फिल्म ‘कथा काठमाण्डु’को सेटबाट भेटेका थिए ।

सोहीबाट उनीहरु बीच प्रेम टुसाएको थियो । केही समय प्रेम सम्बन्ध लुकाएका उनीहरुले सम्बन्ध बाहिर आएपछि सार्वजनिक रुपमा प्रेम स्वीकार गरेका थिए ।

यो जोडी पछिल्लो समय ‘आयांक’ फाउण्डेसन खोलेर एकसाथ काम गर्दै आएका छन् । हुन त आयुष्मान र प्रियंकाको गत असारमा विवाह हुने चर्चा चलेको थियो । तर, दुवै पक्षका परिवारका सदस्यको समय नमिलेका कारण विवाह हुन सकेन ।

गत मंसिरमा अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा प्रियंकाले अर्को वर्ष मात्र विवाह गर्ने बताएकी थिइन् । तर, केही दिन नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो ।

घरको फोटो फाइल
दुई पटक इन्गेजमेन्ट गरेका प्रियंका र आयुष्मानको विवाह मिति पर सरिरहँदा धेरैले उनीहरुको विवाह नहुने अड्कल समेत काटेका थिए ।

यहि क्रममा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १७ गते बिहे गर्न लागेको चर्चा चलिरहेको छ । तर, यो जोडीले आफ्नो बिहेको मिति सार्वजनिक गर्ने बताएको छ । यसैविच, प्रियंका र आयुष्मान बिहेपछि छुट्टै घरमा बस्ने तयारीमा लागेका छन् । यसैले पनि यी दुइले भैसेपाटीमा नयाँ घर किनेका छन् ।

नायिका प्रियंका कार्कीले आफूहरुले नयाँ घर किनेको र अहिले घरको सजावटमा व्यस्त भएको बताएकी छिन् । नायिका कार्कीले घर सेटअप गर्नका लागि निकै नै गाह्रो रहेको बताउँदै आफूलाई आफ्नो परिवारले साथ दिएको उल्लेख गरेकी छिन् ।

नायिका कार्कीले बिहेका कारण आफूले नयाँ चलचित्र साइन नगरेको बताउँदै चैत्रदेखि नयाँ चलचित्रमा व्यस्त हुने पनि जानकारी दिएकी छिन् । बिहेपछि पनि चलचित्र क्षेत्रमा नै सक्रिय रहने बताएकी कार्कीले अहिले भने बिहेको तयारीमा पूर्ण रुपमा लागेको जानकारी दिएकी छिन् ।

Related Articles

Back to top button
Close