समाचार

रेल आएपछि पूर्वराष्ट्रपति यादवले भने – कामभन्दा हल्ला धेरै भयो

प्रथम राष्ट्रपति डा. रामवरण यादव दिल्ली जाँदा माधव नेपाल नेतृत्वको तत्कालीन सरकार र भारतबीच पाँच नाकामा अन्तरदेशीय रेल चलाउने सम्झौता भएको थियो ।
भारतले दिने भनेको सात अर्ब अनुदानबाट पहिलो चरणमा निर्माण सम्पन्न भएको जयनगर–जनकपुर रेलमार्गमा चलाउन नेपाल सरकारले ८५ करोडमा दुईवटा रेल ल्याएको छ । शुक्रबार जनकपुरमा रेल आएपछि पूर्वराष्ट्रपति यादव भने– कामभन्दा हल्ला धेरै भयो।
उनकै शब्दमा
भारत या तेस्रो देशसँग विकास निर्माणका विभिन्न सम्झौता हुन्छन्, तर हाम्रोमा राजनीतिक उतारचढावले गर्दा सम्झौता समयमा अघि बढ्दैनन् । हामी फलोअप पनि गर्दैनौँ । हामी भारतलाई दोष दिन्छौँ, उनीहरू पनि ढिलाइ गिरिदिन्छन् । रेलमार्ग विस्तारको कुरा अहिले प्रचार गरिएकोजस्तो मात्रै होइन ।
पहिलो जनआन्दोलनपछि निर्वाचित भएर ०४८ मा बनेको गिरिजाप्रसाद कोइरालाको पालादेखिको विषय हो रेलमार्गको विस्तार । तर, हाम्रै कमजोरीले गर्दा समयमा काम हुन सकेन । ०४८ सालपछि अहिले आएर थोरै मात्रै काम भएको छ । तर, अहिले जति काम भएको छ यो पर्याप्त होइन ।
सरकार परिवर्तन भइरहने र भारतसँग सम्झौता भइरहने, तर समयमा काम अघि नबढ्ने हुँदै आएको छ । हुलाकी राजमार्गको अवस्था यस्तै छ । कुरा हुने काम नहुने यो सधैँको रोग हो । जहाँसम्म रेलमार्गको कुरा छ– नेपालको काठ भारतमा लान अंग्रेजहरूले राणाकालमै नेपालसम्म रेल ल्याएका थिए । रक्सौल र बर्दियाबाट पनि काठ लाने गरेको सुनिथ्यो ।
म राष्ट्रपति हुँदा भारत भ्रमणमा जाँदा पाँचवटा नाकामा रेलमार्ग विस्तारको घोषणा गरिएको थियो । त्यतिखेर माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, सात वर्षमा सातवटा सरकार परिवर्तन हुँदा प्रभावकारी रूपमा काम अघि बढ्न सकेन । पहिलेको सम्झौतामा अहिले हल्लाखल्ला नै बढी भयो । के भइरहेको छ भन्ने फिल्डमा गएर हेरेपछि मात्रै थाहा हुन्छ । अहिले हल्लीखल्ली भएको जस्तो यथार्थ होइन ।
रेलको विषयमा ०४८ सालमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएको निरन्तरता मात्र हो । गिरिजाप्रसाद कोइरालाले दिल्लीमा रेलमार्ग विस्तारको सम्झौता गरेपछिको निरन्तरताका विषय हुन् । जुन समयक्रममा उठ्दै–सेलाउँदै आएको छ । जनकपुरदेखि कुर्था, कुर्थादेखि बिजलपुरासम्म गएको छ कि छैन ? गत वैशाखमा जाँदा कुर्थासम्म काम भएको भन्ने सुनेको थिएँ ।
कुर्थाभन्दा माथिबाट मोडिएर जाँदा बिजलपुराको स्टेसन हुन्छ । यता बर्दिबासतिरको त कुरै छोडौँ । कामभन्दा हल्ला बढी गर्ने प्रचलन छ । रेल आयो भनिए पनि यसको नियमित सञ्चालनमा जनशक्ति अभाव देखाइँदै छ । भारतले ३०–४० जना टेक्निकल मान्छे दिएको भन्ने छ । तर, यहाँ अढाई सयलाई भर्ना गर्न खोजिँदै छ । एकजनाले काम गर्नुपर्नेमा ६० जना भर्ना गरेर कार्यकर्ता पोस्ने काम हुँदै छ । रेल्वे बोर्डमा आफ्नो मान्छे राखेर मनोमानी गर्न खोजिँदै छ ।
भारतले जनकपुरलाई प्राथमिकतामा राखेको थियो । मैले सहयोग सबै क्षेत्रलाई गर्नुस् भनेको थिएँ । म भारत जाँदा हेटौँडामा पोलिटेक्निकल इन्स्टिच्युट, वीरगन्जमा सभाहलको सम्झौता भएको थियो । जनकपुरमा मात्रै सहयोग माग्न सक्थेँ । तर, म ओलीजी (प्रधानमन्त्री केपी ओली) जस्तो थिइनँ । सबैतिर विकास होस् भन्ने मेरो चाहना थियो ।
काठमाडौंको केन्द्रमा रहेको महाँकाल मन्दिरको सिँगारपटार गर्न पटकपटक आग्रह गरेँ । तर, सुधारेनन् । सबैको आँखा पर्ने सिंहदरबारअगाडिको भद्रकाली मन्दिरको हालत यस्तै भयो । सेनाले गरेको अलिअलि सिँगारपटारले यो मन्दिर बाँचेको छ ।
तर, सरकारको मुख्यालय सिंहदरबारकै सामुन्नेको मन्दिर सुधार गर्न चाहेनन् । बरु झापामा भ्युटावर बनाउने चाहना सरकारलाई हुन्छ । झापाको खेतीयोग्य जमिनमा खेती गर्ने कि टावर बनाउने ? भ्यु हेर्न त पहाडको टाकुरमा पो बनाउने त । जहाँ पर्यटकहरूले आनन्द लिन सक्ने थिए ।
भारतको कामगराइको प्रवृत्तिलाई यहाँ गाली गरिन्छ । उनीहरू पनि सम्झौता गर्ने, तर काम नगर्ने गर्छन् । नदीनाला पनि होल्ड गर्ने, तर काम नगर्ने उनीहरूको शैली छ । हाम्रोमा एउटाको वेलामा सम्झौता हुन्छ । तर, अर्को सरकारले अघि बढाउँदैन ।
जुन सरकारको पालामा गरेको सम्झौता भए पनि अर्को सरकारको पालामा अघि बढाउनुपर्ने हो । तर, अर्को मन्त्रीले पहिलेको काम गर्दैनन् । अर्को काम हुनै दिँदैनन् । एउटा मन्त्रीले कुनै जिल्लामा लगेको योजनालाई अर्को मन्त्रीले पूरा हुनै नदिने प्रवृत्ति छ । अर्कोले ल्याएको योजनाले आफू निर्वाचनमा हार्छु भन्ने पथ्र्यो । यस्तो प्रवृत्ति एउटामा होइन सबै पार्टीमा छ । अर्कोले जस लिन्छ भन्ने भएपछि राष्ट्रको भलाइ हुने काममा पनि सहयोग नगर्ने प्रवृत्ति हाबी छ । नयाँ पत्रिका

Related Articles

Back to top button
Close