समाचार

उपत्यकामा आजवाट फेरी निषेधाज्ञा, सवारीसाधनमा अझै जोरबिजोर

काठमाडौँ । काठमाडौ उपत्यकामा पुन निषेधाज्ञा यथावत राख्ने निर्णय गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बद्ध जनस्वास्थ्य एवं सुरक्षा अधिकारीहरूको बुधबार साँझ बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा कोरोनाको जोखिम कायम रहेकाले निषेधाज्ञालाई अहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरेको हो ।

भदौ ३ गते बुधबार रातिबाट हप्ता दिनका लागि जारी निषेधाज्ञा भदौ २९ दिनको अवधिमा क्रमशः भदौ १०, १७, २४ र ३१ गते गरी चारपटक थप गरिएको हो । सो अवधिमा निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ ।

काठमाडौँका प्रजिअ जनकराज दाहालले कोरोना बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले असोज १ गतेबाट लागू हुने गरी अर्को आदेश नभएसम्म साबिकको निषेधाज्ञा जारी रहेको स्पष्ट पारे ।

त्यस्तै काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली नहट्ने भएको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् । सोही अनुसार कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन ।

प्रशासनको आदेश अनुसार उपत्यकामा अनिश्चितकालसम्मको लागि सभा, समारोह, भोजभतेर, पार्टी लगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

Related Articles

Back to top button
Close