समाचार

जोखिम बढेपछि काठमाण्डौ उपत्यकाका ३ जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय

काठमाडौं । काठमाडौमा अप्रत्यासित रुपमा कोरोना संक्रमितको संख्या बढेपछि उपत्यका भित्रका तीन जिल्ला प्रशासन कार्यालयका केही र स्थानिय तहले फेरी अत्यावश्यक वाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् । वजारमा भिडभाड बढेका कारण कोरोना फैलिएको निष्कर्ष निकाल्दै कम्तीमा ती साताका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । तीन दिन अघि बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकराीकारकिो बैठकले पनि अत्यावश्यक वाहेकका काम बन्द गर्ने निर्णय गरेका थिए । स्थानिय तहका कार्यालयले तीन साताका लागि अत्यावश्यक काम बाहेक सबै काम बन्द गर्ने निर्णय भएको मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ जानकारी दिए । उनले बैठकले गरेको निर्णय सुनाउँदै भीडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि कोरोना तिब्र रुपमा फैलिएको निष्कर्ष निकालेको छ । स्थानिय तहले सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन भएर मजदुरहरुको दैनिक आवत(जावत बढ्दा र पसल सञ्चाल हुँदा सर्वसाधारणको पनि भिड बढ्दा कोरोनाको जोखिम बढेको छ । मजदुरहरुलाई पनि अब बाहिर ननिस्कने वातावरण बनाउन उद्योग तथा कलकारखानाभित्रै क्वारेन्टाइनको व्यवस्था गर्न पनि स्थानिय तहले आग्रह गरेका छन् । उनीहरुले कर कारखाना संचालन गर्दा स्वास्थ्य मापदण्ड पुरागरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद असोज मसान्तसम्म बढाउन पनि सरकारलाई अनुरोध गरेका छन् । सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न नदिन पनि सरकारलाई आग्रह गर्ने निर्णय भएको बताइएको छ । साथै सामुहिक रुपमा गरिने सांस्कृतिक कार्यक्रम पनि तत्कालका लागि रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

सपिङ्ग मलहरु, होटल, रेष्टुरेष्ट आदिमा उच्च सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्न पिसिआर परीक्षणको दायरा बढाउन भन्दा पनि कोरोना रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय पनि बैठकले गरेको छ।

मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ विहान मात्र सञ्चालन गर्न दिने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकल मार्फत गरिने व्यापारलाई भदौं १५ गतेसम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

उपत्यका प्रवेशमा रोक्न साँगा नाकामा कडाइ :

विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हँुदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिए । साँगा र बनेपाबाट नाला हँुदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकललगायत अत्यावश्यक सवारी साधनबाहेक अरूलाई रोक लगाएको उनको भनाइ छ ।

विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको बताउँदै प्रनाउ जोशीले पैदल यात्रीलाई समेत रोक लगाएको बताए । उहाँले साँझ ७ देखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकलबाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाएको बताए । पास भएका सवारी साधन पनि साँझ ७ बजेदेखि प्रवेश गर्न पाउने छैनन् ।

ढुवानीका साधन भने राति १० देखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालकबाहेक अरू व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताए ।

प्रहरीले राति ९बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ देखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाएको छ । प्रनाउ जोशीले भने , “राति ९ देखि बिहान ५ बजेसम्म तोकिएको बाहेक कुनै पनि यातायात सञ्चालन गर्न पाइने छैन, त्यो अवधिमा पैदल यात्रीलाई समेत हिँड्डुल गर्न रोक लगाएका छौँ, त्यसैले ९बजेभित्र सबैजना आ–आफ्नो घर पुगिसक्न आग्रह गर्दछौँ ।” ९ बजेपछि कुनै पनि पसल, होटल, रेष्टुरेष्ट सञ्चालनमा रोक लगाइएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिएको छ ।

केही दिनअघि नमूनाका रुपमा साँगा नाकाबाट प्रवेश गर्ने ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकालाई कडाइ गरिएको हो । लकडाउन खुलेसँगै विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत रहेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यसैगरी काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको आज मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

उपत्यकामा ४४ सङ्क्रमित भेटिए

मुलुकका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ४३४ नमूना परीक्षणमा आज कुल ३३८ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । आज सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडौँ उपत्यकामा ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

अध्यागमन विभागको अत्यावश्यकबाहेकका सेवा बन्द

अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेवा केही समयको लागि बन्द गरेको छ ।

कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उहाँसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको निर्देशक तिवारीले बताए । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा रहेको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत गौलोचन सैँजुले विमानस्थलको अध्यागमन सेवा समान्वयरुपमा सञ्चालन भइरहेको जानकारी दिए ।

Related Articles

Back to top button
Close