Friday, February 28

१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिज यसरी बने एप्पलमा ‘सफ्टवेयर इञ्जिनियर’ !

January 19, 2020 555

काठमाडाैं, जम्मा १५ सय रुपैयाँ तिर्न नसक्दा स्कुलबाट निकालिएका क्षितिजराज लोहनीसंसारकै धनी कम्पनी एप्पलमा ‘सफ्टवेयर इञ्जिनियर’ का रूपमा कार्यरत छन्। सानोमा खासै पढ्न नरूचाउने उनले कक्षा १० सम्म आइसक्दै ८ वटा स्कुल फेरिसकेका थिए। कुनैमा बदमास भएकाले निकालिए, कुनै स्कुल मन नपरेर छाडे, कुनै टाढा भएकाले त कुनैमा के …। पढ्न भनेपछि उनलाई फिटिक्कै मन नलाग्ने। पढ्न नपर्ने भएपछि जे पनि गर्न तयार। आमाबुबाले पढाइमा चासो नदेखेपछि मनपर्ने अन्य गतिविधिमा सामेल गराउन चाहे।

२७ वर्षीय क्षितिजले सानो हुँदाको घटना सम्झँदै भने, ‘हाम्रो परिवारसँग कुनै बेला जम्मा १५ सय तिर्न सक्ने हैसियत थिएन। स्कुलको व्यवहारले मलाई साह्रै चित्त दुखेको थियो,’ ‘त्यो बेलाको केटौले जोशमा म जस्ता सबैको पैसा तिरिदिन्छु भनेको थिएँ। त्यो त नसकिएला, तर जति सक्छु, त्यति भने तिर्छु। मलाई जे भयो, भविष्यमा अरूलाई नहोस्।’स्कुलबाट निकालिएपछि घरमै थन्किए। उनले स्मरणशक्ति बढाउने तालिम लिए। जीवनमा कुनै दिन गम्भीर भएर नपढेका क्षितिजले दैनिक ७-८ घन्टा ध्यान दिएर ‘मेमोरी रेकर्ड’ बनाउने दौडमा स्मरणशक्ति अभ्यास गर्न थाले। सन् २००५ मा उनले चारवटा अन्तर्राष्ट्रिय र एउटा राष्ट्रिय रेकर्ड बनाए।

त्यो रेकर्डपछि उनले र उनकी बहिनीसमेतले पढ्ने छात्रवृत्ति पाए। ‘मेमोरी रेकर्ड’ बनाएकाले यसैलाई व्यावसायिक बनाएर भविष्य बनाऊँ कि भन्ने क्षितिजलाई लागेको थियो। तर उनले कम्प्युटर इञ्जिनियर बन्ने लक्ष्य राखे।’सानोमा जिटिए, फिफा अत्ति खेल्थेँ। कम्प्युटरमा बसिरहन के पढ्नुपर्छ भन्दा कम्प्युटर इञ्जिनियरिङ भन्ने दिमागमा आयो,’ आफ्नो इञ्जिनियरिङ यात्राबारे खुलाउँदै भन्छन्, ‘प्रोग्रामिङमा चासो भएर होइन, गेम खेल्न मन लागेर यो पेसामा जोडिएँ।’एसएलसीपछि छात्रवृत्तिमै चेल्सी कलेजमा ‘ए लेभल’ पढे।

आफ्ना सबै गतिविधिका रमाइला प्रसंग सुनाउने क्षितिजले भने, ‘ए लेभल भनेको के हो, थाहा पनि थिएन। एउटा साथीले भन्थ्यो, ‘क्षितिज, लास्टमा कि ब्ल्याक लेबल कि रेड लेबल खाने हो। पढ्न चाहिँ ए लेभल नै।’साथीको उक्साहटमा ए लेभल पढेका उनले पढाइपछि अमेरिकाको नर्थ इस्टर्न विश्वविद्यालयमा छात्रवृत्ति पाए। छात्रवृत्ति पाएपछि खुसी हुनुपर्ने उनको दिमागमा प्रश्न जन्मिन थाले, ‘अब के त? भिसाको पैसा कहाँबाट ल्याउने, प्लेन खर्च, सामान कसरी किन्ने?’घरमा पैसा थिएन, प्लेनको टिकटका लागि माइजूले सिक्री बेचिन्। चेल्सीका एक शिक्षकले सामान किन्न खर्च जुटाइदिए।

त्यसरी अमेरिका पुगेका क्षितिजको इञ्जिनियरिङ यात्रा सुरू भयो। विश्वविद्यालय पढाइ क्रममा त्यहाँका शिक्षकले एकपटक प्रत्येक विद्यार्थीलाई आफ्नो देशको ‘नेटवर्किङ’ बारे प्रस्तुति दिन भनेका थिए। आफ्नो देशबारे सोच्दा अन्यौल भएपछि क्षितिजले अमेरिकाकै अन्तरिक्षसम्बन्धी काम गर्ने संस्था नासाबारे प्रस्तुति दिएछन्। शिक्षकले सोधे, ‘किन आफ्नो देशबारे नगरेको?’ उनी नाजवाफ भए। त्यो घटनाबाट प्रेरित क्षितिज आफैं केही काम किन नगर्ने भनेर घोत्लिन थाले। नेपालको झन्डा सबभन्दा अग्लो स्थानमा पुगेको भनेको सगरमाथाको ८८४८ मिटरमा हो।

झन्डा त्योभन्दा माथि कसरी पुर्‍याउन सकिएला भनेर ‘वेदर बलुन टेक्नोलोजी’ मार्फत् काम थाले। १७ महिना लगाएर उपकरण तयार गरे, प्रोग्रामिङ गरे र झन्डा राखे। ‘क्रिन्जल स्पेस’ नामाकरण गरिएको उक्त उपकरण ८० हजार फिट माथि पुग्यो। ‘रकेट जसरी अन्तरिक्षमा पुर्‍याउन नसके पनि त्यसको किनारसम्म पुर्‍याएँ। उपकरण त्यहाँ पुगेपछि मैले राष्ट्रिय गान बज्ने बनाएको थिएँ। त्यहाँ बजाउँदा हाम्रो राष्ट्रिय गान सधैं वायुमण्डलमा रहिरहन्छ भन्ने हो,’ उनले सुनाए। सन् २०१४ मा नेपाल सरकारले उनलाई ‘राष्ट्रिय युवा पुरस्कार’ ले सम्मान गर्‍यो।

सन् २०१५ मा स्नातक सकेका उनले एप्पल कम्पनीमा काम गर्नुपूर्व दुई ठूला कम्पनी ‘पे-पाल’ र ‘गोल्ड म्यान स्याक्स’ मा काम गरिसकेका छन्। ‘पहिले पे-पालमा इन्टर्नसिप गरेँ। त्यो बेला मलाई केही अनुभव थिएन। गेम खेल्न र माइक्रोसफ्टमा आफ्नो नाम लेखेर झिलिमिली पार्न मात्र आउँथ्यो। त्यहाँका म्यानेजरले मलाई सिकाए,’ उनले भने, ‘त्यहाँ एक वर्ष सिकेपछि गोल्ड म्यान स्याक्समा रिसर्च टिममा काम गरेँ।’त्यही क्रममा ३, ४ महिना लगाएर एप्पल प्रवेश गर्ने तयारी पनि गरे। फोन, भेटेर, प्राविधिक, सामूहिक लगायत ६, ७ अन्तर्वाता दिएर बल्ल जागिर पाएको बताउँछन्। सन् २०१८ देखि उनी एप्पलको आइफोन बनाउने ‘कोर टिम’ मा सफ्टवेयर इञ्जिनियर छन्।

Loading...

प्रतिकृया दिनुहोस्