खेलकुदसमाचार

ला लिगा क्लब फर्किने विषयमा नेयमारले यसो भने

एजेन्सी, १५ भदौ । ला लिगा क्लब फर्किने चर्चामा रहेका ब्राजिलियन स्टार खेलाडी नेयमारले आफ्नो सरुवाको विषयमा मुख खोलेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार २७ वर्षीय नेयमारले आफू यस सिजन फ्रान्समै रहने बताएका छन् ।

फ्रेन्च दैनिक समाचारपत्र एल’इक्युपेका अनुसार नेयमारले आफू यो सिजन क्लबमै बस्ने बताएका छन् । नेयमारले आफू क्लबमै बस्ने भन्ने शीर्षकको समाचारलाई फ्रान्सेली समाचारपत्रहरूले विशेष स्थान दिँदै प्रकाशन गरेका छन् ।

केही समययता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमार ला लिगा क्लब फर्किने चर्चामा रहेका थिए । ला लिगा क्लबद्वय बार्सिलोना र रियल मड्रिड जस्ता क्लबसँग जोडिएका उनी पीएसजीमा अनुबन्ध भएको २ वर्षपछि क्लब छोड्ने मनसायमा थिए । सन् २०१७ मा कीर्तिमानी रकममा फ्रान्स आएका नेयमार सन् २०१७ मा २ सय २२ मिलियन युरोमा फ्रान्स आएका हुन् ।

पीएसजी आएपछि अधिकांश समय घाइते रहेका उनी क्लबमा अपेक्षाअनुरुपको प्रदर्शन गर्न नसकेपछि क्लब छोड्ने मनसायमा थिए । ला लिगा क्लब जाने मनसाय बनाएका उनलाई आफ्ना पिताका साथै पूर्वसहकर्मी लियोनल मेस्सीले सहयोगी भूमिका निभाएका थिए । तर, त्यसका बाबजुत पनि उनी ला लिगा क्लब जान असफल भएका थिए ।

samachar

ट्रान्सफर विन्डो सकिन केही समय बाँकी छँदा नेयमारले आफू क्लबमै रहने कुरा खुलाएको फ्रेन्च मिडियाको दाबी छ । फ्रान्समा आइतबार प्रकाशनमा आएको एल’इक्युपेले आफ्नो कभर पृष्टमा नै ‘से क्वेडा’ अर्थात् ‘नेयमार क्लबमै रहने’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

स्पेनिस खेलमा आधारित पत्रका जोक्वाइम पेइराले पीएसजीका खेल निर्देशक लियोनार्डोलाई उदृत गर्दै यो समाचार तयार पारेका छन् । जसमा, नेयमारले पीएसजीमै रहने मनसाय बनाएको बताइएको छ । नेयमारले आफ्ना सहकर्मीसँग पीएसजीमै रमाएकाले अहिले नै अर्को क्लब नजाने पनि बताएको खबरमा उल्लेख छ ।

यसअघि नै ला लिगा क्लबद्वय बार्सिलोना र रियल मड्रिडले पीएसजीको मागअनुरुपको रकम खर्च गर्न नसकेपछि नेयमार लिग वान क्लबमै रहने भएको खबर प्रकाशित भएको थियो । नेयमारका लागि ला लिगा क्लब र पीएसजीबीचको लेनदेनको विषयमा सहमति नभएका कारण नेयमार ला लिगा फर्कन असम्भव रहेको बताइएको थियो । उनी सन् २०१७ मा २ सय २२ मिलियन युरोमा फ्रान्स आएका हुन् ।

Related Articles

Back to top button
Close