अन्तर्राष्ट्रिय समाचार

चीनले नेपाल जोड्ने रेल परियोजनाको सर्वेक्षण सुरु गरेपछि भारतमा तरंग

काठमाडौं। चीनले ल्हासा र काठमाडौं जोड्ने रेल परियोजनाको काम सुरु गरेपछि यसले भारतमा तरंग ल्याएको छ । नेपाल–भारत सीमा विवादका कारण दुई देशको सम्बन्ध बिग्रिएका बेला चीनले यो परियोजना सुरु गर्नुलाई भारतीय विश्लेषकहरुले चीनले नेपाललाई आफ्नो प्रभावमा पार्न चाहेको विश्लेषण गरेका छन्।

यो रेलवे ल्हासा–काठमाडौंसँगै लुम्बिनीसम्म पुग्नेछ । लुम्बिनी भारतको सीमानजिकै भएकोले लुम्बिनीसम्म चीनको सहज पहुँचले भारतलाई समस्या पार्ने भारतीय विश्लेषकहरुको बुझाइ छ । चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)का पत्रकार शेल शिवेइले चिनियाँ विशेषज्ञहरुले रेलवेको सर्वेक्षण गर्दै गरेका केही तस्वीरहरु ट्वीट गरेका थिए। उनको यो ट्वीटसँगै भारतीय मिडियामा तरंग आएको हो।

यो परियोजना ३० करोड डलरको भएको बताइएको छ । रेलवेको योजना सन् २००८ मा बनेको थियो तर त्यसपछिका वर्षहरुमा खासै प्रगति भएको थिएन । अहिले चीनले यो परियोजनामा काम तीब्र बनाएको हो । चीनले २००८ मा यो परियोजना सुरु गर्दा पहिले ल्हासा र शिगात्सेलाई जोड्ने, त्यसपछि नेपालको सीमा नजिकै केरुङसम्म ल्याउने, तेस्रो चरणमा काठमाडौं जोड्ने र चौथो चरणमा लुम्बिनीलाई जोड्ने योजना बनाइएको थियो।

भारतीय मिडियाले यो परियोजना रोक्ने र भारतको प्रभाव कायमै राख्नेतर्फ पहल थालिसकेका छन् । इण्डिया टुडेले भारतका पनि नेपाल जोड्ने ६ रेलवे परियोजना भएको भन्दै नेपाल–चीन रेलवे भन्दा नेपाल–भारत रेलवेको लागत कम पर्ने लेखेको छ।

Related Articles

Back to top button
Close