समाचार

सुरक्षा खतराका कारण नेपाली बैंकका ‘एटिएम’ अनिश्चितकालका लागि बन्द

काठमाडौं । अनधिकृत रुपमा रकम निकाल्ने पाँच चिनीयालाई प्रहरीले पक्राउ गरेसँगै केही बैंकका एटिएम अनिश्चितकालका लागि बन्द गरिएकाे छ ।

नेपालका केही एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा तत्काललाई अनिश्चित कालका लागि बन्द गरेका हुन् । एनआइसी एसिया र प्रभु बै‌ंककाे सिस्टम नै ह्याक गरिएकाे छ भने नबिल बैंकका एटीएमबाट ठूलाे मात्रामा नगद झिकिएकाे छ ।

सुरक्षा खतराका कारण एनआइसी एसिया, प्रभु लगायतबैंकका ‘एटिएम’ बन्द गरेकाे महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गएराति प्रहरीले पक्राउ ५ चिनियाँ नागरिकलाई एटिएकबाट अनाधिकृत रुपमा रकम निकाल्दै गर्दा समातेको थियो ।

प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ । बरामद गरिएको सबै रकम बैंकका खातावालाको एकाउन्टबाट निकालिएको खुलेको छ ।

नेपालका केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई नै चिनियाँ गिरोहले ह्याक गरेको खुलेपछि अनिश्चितकालका लागि एटिएमहरु बन्द गरिएकाे हाे । यो प्रणालीमा हाल नेपालका ११ वाणिज्य बैंक र ७ वटा विकास बैंकहरु आबद्ध छन् । भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड हाेस्टिङलगायत कार्ड सञ्चालन सम्बन्धी सेवा यस प्रणालीले दिँदै आएकाे छ ।

प्रारम्भिक अनुसन्धानमा ६ वटा बैंकबाट गरी करिब ५ कराेड रुपैया झिकिएको फेला परेको छ । थप अनुसन्धान भइरहेछ, यसरी अनअधिकृत झिकिएकाे रकम बढ्न सक्ने देखिएकाे छ । प्रणाली ह्याक भएपछि नेप्सले शनिबार रातिदेखि सदस्य बैंकहरुकाे एटिएम सिस्टम बन्द गराएकाे थियाे ।

Related Articles

Back to top button
Close