समाचार

मकवानपुरमा ‘ट्रक दुर्घटनामा छोराको मृत्यु बाबु घाइते’

मकवानपुर – मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् ।

बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना४ख ७०४ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो पनि : कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ ।

सङ्घका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

Related Articles

Back to top button
Close