समाचार

गण्डक बाँध भत्किने खतरा !

त्रिवेणी (नवलपुर) । नेपाली भूमिलाई हरेक वर्ष डुबानको समस्यामा पार्ने गण्डक बाँध भत्किने खतरा बढेको छ । झण्डै ५० वर्षअघि निर्माण गरिएको बाँध जीर्ण अवस्थामा छ ।

पानीको बहाव बढ्दै जाने हो भने बाँध कुनै पनि बेला भत्किने जानकारहरू बताउँछन् । नेपाल र भारत सरकारबीच १९५९ मा गण्डक सम्झौता भएको थियो ।

सम्झौताको पाँच वर्षपछि बाँध निर्माण सम्पन्न भएको थियो । साढे ८ लाख क्यूसेक पानीको वहाव धान्ने क्षमता भएको भनिएको बाँध सन् २००८ मा ६ लाख २९ हजार क्यूसेक पानीको वहावले भत्काइदिएको थियो ।

साढे ८ लाख क्यूसेक क्षमताको संरचनामा कम्तीमा साढे ७ लाख क्यूसेक पानी बग्नुपर्ने भए पनि त्योभन्दा कम पानीले नै बाँध भत्किएकोले परियोजना असफल भइसकेको गण्डक नदी नियन्त्रण संघर्ष समितिका अगुवा प्रेमचन्द्र गुप्ताको भनाइ छ ।

नदीको पिँध उचालियो

अहिले नदीमा पानीमुनिको जमिनको सतह उचालिँदै गएको छ । नदीले बगाएर ल्याउने माटो, गेगर र बालुवाले पिँधको भाग उचालिने गरेको छ । कतिपय ठाउँमा ठूला–ठूला रुखको जङ्गल बनेका कारणले नदीले धारसमेत परिवर्तन गर्ने अवस्था आएको छ ।

नदीको सतह उचालिँदै गएपछि वहाव क्षमता घट्ने भएकाले पानी बाहिर जाने गर्दछ । पानी बाहिर गएपछि बाँध लगाउने दूरगामी निकास नभएको गुप्ताको भनाइ छ । राजनीतिक दलहरूले भोटको राजनीतिमात्रै गरेको र दीर्घकालीन समाधान दिन नसकेको कतिपयको बुझाइ छ ।

नदी विज्ञको अभाव

नेपाल र भारतको दुबै देश मिलेर स्थायी समाधान निकाल्नेतर्फ ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेको स्थानीयबासिन्दाको आरोप छ । विज्ञहरू राखेर काम गरेमात्रै स्थायी समाधान हुनसक्छ ।

सिँचाइ क्षेत्रका विज्ञहरूलाई नदी विज्ञ बनाएर ल्याउँदा निकास निस्कन नसकेको गुप्ताको भनाइ छ । भारतबाट आएका विज्ञहरूले आफूहरु सिँचाइको मात्र जानकार भएकाले नदीसम्बन्धी जानकारी नभएको स्वीकार गरेको गुप्ताले बताए ।

उनले भने, ‘नेपाल र भारतमा नदीसम्बन्धी विज्ञहरू नभए विदेशी विज्ञहरू झिकाएर भए पनि स्थायी समाधान गर्नेतर्फ लाग्नुपर्छ ।’ स्थानीय बासिन्दाको सल्लाहबाट मात्रै नदी नियन्त्रणमा स्थायी समाधान निस्कने नसक्ने भएकाले विशेषज्ञहरू झिकाएर काम गर्नुपर्ने गुप्ताको सुझाव छ ।

गण्डक बाँधले नेपाललाई जति नोक्सान हुन्छ, त्योभन्दा धेरै भारतलाई हुने भएकाले दुबै देश मिलेर स्थायी समाधान निकाल्नुपर्ने गुप्ताले बताए ।

वातावरण विज्ञानमा स्नाकोत्तर गरेका गुप्ता पहाडी क्षेत्रमा पहिरो नियन्त्रण गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउँछन् । उनका अनुसार बाँध निर्माणमा अहिलेसम्म भारतले दशौं अर्ब खर्चिसके पनि उपलब्धि हुन सकेको छैन ।

नर्सहीदेखि पक्लिहवासम्म जोखिम

गण्डक बाँधले पश्चिम नवलपरासीको नर्सहीदेखि पक्लिहवासम्म जोखिम उच्च छ । नर्सहीको जमिनभन्दा पनि नदीको भाग उच्च भएर बगिरहेकोले नर्सही गाउँ सबैभन्दा बढी जोखिममा छ ।

नर्सही, कुडिया, रानीनगर, पक्लिहवा मात्र नभई त्रिवेणीदेखि लिएर त्रिवेणीको मुहान ठटियाखोलासम्म जोखिम रहेको स्थानीय पत्रकार प्रेमचन्द्र रौनियारले बताए ।

दुबै देशका अधिकारीहरू मिलेर समस्या समाधानमा लाग्नुपर्नेमा नागरिक भिडाउने काम भएको गुप्ताको गुनसो छ । नेपालीले भारतीयको र भारतीयले नेपालीको विरोध गर्ने अवस्था सिर्जना गर्नु उचित नहुने उनको भनाइ छ ।

बिजुलीमा पनि ठगियो नेपाल

नेपाललाई सिँचाइ सुविधा दिने आश्वासन दिएर बनाएको बाँधले मात्र होइन, सम्झौतामा भएअनुसारको बिजुली नदिएर समेत भारतले ठगिरहेको छ ।

गण्डक सम्झौताअनुसार सुरजपुराबाट १५ मेगावाट बिजुली नेपाललाई दिने सम्झौता छ । नेपालले अहिले ४ मेगावाट मात्रै विद्युत पाएको छ ।

पुरानो प्रविधिको परियोजना भएकाले उक्त विद्युत परियोजना पनि असफल भइसकेको छ ।

Related Articles

Back to top button
Close