समाचार

केपी ओलीको फिल्म फ्लप भयो, तित्राजस्तो कराउनुभन्दा भ्रष्टाचारीलाई कारबाही गर्नुहोस् : चन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि केपी शर्मा ओलीको अभिनय रहेको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई बहुमत हाँसिल गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले दुई तिहाई बहुमत प्राप्त ओली सरकारको फिल्म फ्लप भयो ।’

काठमाडौंमा आयोजित एक साक्षात्कारमा समाजलाई भड्काउनको लागि होली–वाइन प्रकरण भएको सुनाउँदै उहाँले सरकारको आलोचना गर्नुभयो । भण्डारीले भन्नुभयो, ‘बुद्धको मूर्ति तोडफोडको घट्ना भयो । नेपालमा के हुँदैछ ? होली वाइन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाइयो । अहिले तीन, चार सय गाईलाई भीरबाट खसालेर मारिएको छ । जसले गरेपनि, यो मुलुकमा द्वन्द्व फैलाउन खोज्ने षड्यन्त्र हो ।’

अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको उहाँको चिन्ता छ । उहाँले भन्नुभयो, ‘हामीले हाम्रो देशको क्षमता आँकलन गर्न सकेनौं । ९, १० खर्बको राजश्व उठ्छ, तर देशका तलदेखि माथिल्लो तहका सबै कर्मचारीको तलबमा देशको बजेट खर्च हुन्छ ।’
विगतमा देशमा एउटा राजामात्रै भएको तर अहिले आएर सयौं राजा, सयौं युवराज र सयौं युवराज्ञीहरु बन्न थालेको पनि उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘हाम्रा नेता तथा मन्त्रीहरुलाई फरक कुर्सी चाहिन्छ । नेताहरुलाई खोकी लाग्यो भने उपचारको लागि विदेश जानुपर्छ ।’ आफूहरुले प्रणालीलाई चलाउन नजानेको उहाँको टिप्पणी छ ।

नेता भण्डारीले व्यक्ति असफल भएपनि व्यवस्था कहिल्यैपनि असफल नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा थुप्रै कमिकमजोरीहरु छन् । यस्तो पाराले त जुनसुकै बेला दुर्घट्ना हुनसक्छ ।’
उहाँले देशमा पछिल्लो समय देखिएको डेंगु संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकार गम्भिर हुनुपर्ने पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘यदि डेंगु नियन्त्रण गर्न सेना सक्षम छ भने यसलाई प्रयोग गर्नुपर्छ । सरकारले यसबारेमा स्पष्ट कुरा गर्नुपर्छ । बोल्न डराउनुहुँदैन् । सेनापनि राज्यको संयन्त्र हो ।’

उहाँले जनताका आवाज संसदमा त्यति उठ्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, ‘अहिले यसरी गौहत्या भएको छ । तर, संसदमा यो कुरा उठेको छैन् । मुलकुको धर्म,संस्कृतिमाथि प्रहार गर्ने काम कतैबाट पनि गर्नुहुँदैन् ।’

भण्डारीले संघीय प्रणाली आफैंमा नराम्रो नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो प्रणाली आफैंमा धेरै नराम्रो होईन, तर यो धेरै महँगो भयो भन्न थालिएको छ ।’ उहाँले वाईडबडी खरिद प्रकरणमा सरकार र अख्तियारले दोषीलाई कारबाही गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘जोसुकै होस, यसमा दोषी देखिए कारबाही गरे भैगयो नि । किन कारबाही गर्न डराउनु ? तर, कारबाही निश्पक्ष हुनुपर्छ ।’

भण्डारीले देश बनाउने हो भने भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि कारबाही गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारीहरुलाई धमाधम कारबाही गर्ने हो भने धेरै नेताहरु अहिले जेल पर्छन् । सरकारसँग काम गर्ने क्षमता छैन । भ्रष्टहरुलाई कारबाही गर्ने हुति छैन् ।’ उहाँले नेताहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

आफ्नो पार्टीका सभापति एवम्् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वाइडबडी खरिद घोटालामा संलग्न दोषीहरुलाई कारबाही गर्नुपर्ने भनेर संसदमै बोलिसकेको भण्डारीले सुनाउनुभयो ।

Related Articles

Back to top button
Close