भिडियो

२ वर्षमा यस्तो बन्यो धरहरा, अहिलेसम्म १०५ करोड सकियो, हेर्नुहोस् भिडियो

काठमाडौं । भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ११औं तलाको काम चलिरहँदा हालसम्म एक सय पाँच करोड खर्च भएको छ ।‘नयाँ धरहरा २२ तलाको हो, १० तलासम्मको काम सकिएको छ, आउँदो आइतबारसम्म ११औं तलाको काम सक्ने लक्ष्य छ’, पुनर्निर्माण विज्ञ समितिका सदस्य राजुमान मानन्धरले भने ।

कोरोना भाइरसको महामारी र लकडाउनले प्रभावित बनेको धरहरा पुनर्निर्माणको काम अहिले पुनः सुचारु भएको मानन्धरले बताए । ‘अब नियमित काम भयो भने प्रत्येक १५ दिनमा एक तलाको काम सक्ने लक्ष्य छ’, उनले भने । धरहरा पुनर्निर्माणका लागि ३ सय ५ करोड लागत लाग्ने अनुमान गरिएको छ । तर, ढिलासुस्ती अन्य कारणले लागत बढ्न सक्ने मानन्धरले बताए । ‘यो परियोजनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बजेट कुर्नु पर्दैन, बजेट घटे अर्थ मन्त्रालयले पनि रकमान्तर गरेर छुट्याइदिन्छ, त्यसैले काम चाडों सक्नुछ’, उनले भने ।

नयाँ धरहरा भूकम्पले भत्काएको पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा बनिरहेको हो । गजुरसहित नयाँ धरहराको उचाई झण्डै ७७ मिटरको हुनेछ । ‘अहिले ११ तलाको काम चलिरहेको छ, अब दुई तला थपिएपछि अर्थात् १३ तला पुगेपछि पुरानोसँग धरहराको उचाई र यो नयाँको उचाई बराबर हुनेछ तर, नयाँ धरहरा कूल २२ तलाको हुनेछ’, मानन्धरले भने ।

मोटाइ भने पहिलेको भन्दा केही बढी हुनेछ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राख्ने योजना छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई संरक्षण गरेर राख्ने पुनर्निर्माण प्राधिकरणको विस्तृत परियोजनामा उल्लेख छ ।

अब धरहरा क्षेत्र अब ४२ रोपनी जमिनमा फैलनेछ । त्यसका लागि नजिकै रहेको गोश्वारा हुलाक कार्यालय हटाइससकिएको छ भने वाणिज्य बैङ्क रहेको टक्सार भवन पनि भत्काएर खाली गर्ने काम भइरहेको छ । हुलाक कार्यालय भत्काइसकिएको छ भने सञ्जय कोषको काठमाडौं मलको केही भाग समेत भत्काइएको छ ।

धरहरा निर्माणसँगै यसको छेउ अर्थात् पहिले गोश्वारा हुलाक कार्यालय रहेको ठाउँमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल निर्माणको काम समेत धमाधम भइरहेको र त्यहीं प्रवेद्वार बन्ने धरहरा पुनर्निर्माण विज्ञ समितिका सदस्य मानन्धरले बताए ।
धरहरा निर्माणका लागि अघिल्लोपटक प्रधानमन्त्री हुनभएका बेला केपी शर्मा ओलीले २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गर्नु भएको थियो ।

Related Articles

Back to top button
Close