समाचार

गण्डक बराजको पीडा : बर्खा लागेपछि रातभर जाग्राम बस्छन् सुस्ताबासी

त्रिवेणी (नवलपुर) । जल तथा मौसम पूर्वानुमान महाशाखाले गत असार २४ देखि २९ गतेसम्म वर्षा र बाढीपहिरो आउन सक्ने पूर्वानुमान गरेको थियो ।

नभन्दै असार २४ गते एकै दिनको पानीले गण्डकी प्रदेशसहित देशका धेरै ठाउँमा बाढीपहिरोले क्षति पुर्‍यायो । त्यतिबेला गण्डक बाँधबाट ३ लाख ६३ हजार क्यूसेक पानी बगेको थियो

पानीको बहाव अवलोकन गर्न त्रिवेणी आइपुगेका ऊर्जा तथा जलस्रोत मन्त्रालयको भूआर्जन तथा जनसम्पर्क कार्यालय गण्डक योजनाका जनसम्पर्क अधिकृत तारासिंह थापाले यही आइतबार गण्डक पुलबाट १ लाख ७२ हजार ४ सय क्यूसेक पानी बगेको बताए ।

असार सुरुमै मनसुन सक्रिय भएको यो वर्ष बाढीपहिरोको महाविपत्ति आउने पूर्वानुमानले धेरैलाई चिन्तित बनाएको थियो । त्यो भन्दा बढी चिन्ता बर्सेनि डुबानको समस्या झेल्दै आएका सुस्ता र नारायणी आसपासका बासिन्दालाई छ ।

बाढी पूर्वानुमान महाशाखाले असार अन्तिम साता सतर्क रहन गरेको आह्वानले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक चनाखो देखिए ।

नारायणी नदीमा पानीको बहावले सतर्कताको संकेत नाघेर साइरन बज्न थालेपछि गण्डक नहरको ढोका खोल्न भारतीय समकक्षीसँग दुबै प्रमुख जिल्ला अधिकारीले पहल गरे । आठ सय मिटर लामो गण्डक बराजका ३६ ढोकामध्ये २८ वटा खोलिएपछि नेपाली भूमि डुब्नबाट बच्यो ।

अहिले फेरि आइतबारदेखि वर्षा र बाढीको खतरा रहेको महाशाखाले जनाएपछि सुस्ताका बासिन्दाको निद्रा हराएको छ । उनीहरू रातभर जाग्राम छन् ।

१३ वर्ष भयो, क्षतिपूर्ति पाएनन्

झण्डै ५० वर्षअघि गरिएको गण्डक बाँध निर्माणपछि यहाँको करिब ४५ सय बिगाहा खेतीयोग्य जमिन बर्सेनि डुबानमा पर्ने गरेको छ । भारतले निर्माण गरेको गण्डक बराजकै कारण बर्सेनि डुबानको समस्या बढ्दै गएपछि गण्डक नदी नियन्त्रण संघर्ष समितिका नाममा किसानहरू संगठित भई २०४९ सालदेखि आन्दोलन जारी छ ।

पटक पटकको आन्दोलनको सुनुवाइ नभएपछि पीडित किसानहरू क्षतिपूर्तिको माग गर्दै नहरको पानी नै बन्द गरेर अनसन बसे । २०६३ सालमा २९ दिन नहरमै अनसन बसेपछि भारतले २ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने वचन दियो । तर, अहिलेसम्म पनि क्षतिपूर्ति नपाएको संघर्ष समितिका अगुवा प्रेमचन्द्र गुप्ताले बताए ।

स्थानीयबासिन्दाले नहरमा रहेको सिल्ट इजेक्टरदेखि नारायणी नदीको ‘ए ग्याप’ बाँधको किनारासम्म नयाँ तटबन्ध निर्माण गर्नुपर्ने, ए ग्याप बाँधको उचाइ थप दुई मिटर बढाउनुपर्ने लगायत २१ वटा माग राखेका थिए ।

त्यतिबेला त्रिवेणी सुस्ता, गुठीसूर्यपूरा, पक्लिहवा लगायतका साविकका १३ वटा गाविसका ८ हजार ४६४ घरधुरीलाई क्षतिपूर्ति दिने सहमति भएको थियो ।

कटान हुनसक्ने क्षेत्रमा अस्थायी तटबन्ध

गण्डक सम्झौताअनुसार नदीले क्षति पुर्‍याएमा क्षतिपूर्ति दिने तथा मर्मतसम्भार गर्ने काम भारतको हो । यो वर्ष चाँडै मनसुन सक्रिय हुँदा बोरामा बालुवा र माटो भरेर नदी किनार र कटान हुनसक्ने सम्भावित क्षेत्रमा अस्थायी तटबन्ध बनाइएको छ ।

नवलपरासीपूर्वको विनयी त्रिवेणी तथा पश्चिमको प्रतापपुरका खोलाहरूमा अस्थायी तटबन्ध गरी सुरक्षित गरिएको अधिकारीहरू बताउँछन् ।

पश्चिमी गण्डक नहरका कारण स्थानीय ससाना खोलामा पानीको बहाव रोकिएर नेपाली खेतीयोग्य भूमि डुबानमा पर्ने गर्दछ । खेती पूरै डुबेपछि गतवर्ष पनि सुस्ताबासीले नहरको केही भाग भत्काइदिएका थिए ।

भारतीय पक्षबाट भएको ज्यादतीविरुद्ध वर्षौंदेखि लड्दै आए पनि अहिलेसम्मका कुनै पनि सरकारले नसुनेको संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताको गुनासो छ ।

गण्डक योजनाका जनसम्पर्क अधिकृत थापाका अनुसार प्रारम्भमा ८ लाख क्यूसेक पानी बहँदा नेपाली भूमि डुबानमा पर्ने खतरा रहन्थ्यो । संरचनाहरू पुराना भएकाले र नदीको सतह पुरिँदै गएकोले अहिले ब्यारेज पुलबाट साढे चार लाख क्यूसेक पानीको लेबल भएप्छि चनाखो हुनुपर्ने अवस्था छ ।

गण्डक ब्यारेज इतिहास

नेपाल र भारत सरकारबीच २०१६ साल मंसिर १९ गते गण्डक सम्झौता भएको थियो । नेपालका तर्फबाट तत्कालीन उपप्रधानमन्त्री सुवर्णशमशेर जबरा र भारतका तर्फबाट तत्कालीन भारतीय राजदूत भगवान सहायले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सोही सम्झौतापछि भारतले निर्माण सम्पन्न गरेको बाँधको २०२१ सालमा नेपालका तर्फबाट तत्कालीन राजा महेन्द्र र भारतकातर्फबाट तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

भारतको फुलपुर लगायतका उत्तर प्रदेशका बासिन्दा वर्षामा बाढीबाट पीडित थिए भने हिउँदमा सिँचाइको अभावमा खेतहरू सुख्खा हुन्थे ।

सोह्र १६ वर्षभन्दा बढी भारतका प्रधानमन्त्री रहेका नेहरुले आफ्नो निर्वाचन क्षेत्रमा नारायणीको पानीले सिँचाइ गरी हरियालीको सपना देखेका थिए । उनले २०१६ साल मंसिर १९ गते गण्डक सम्झौता गराएर सपना पूरा गरेरै छाडे ।

सम्झौताको पाँच वर्षमै नारायणी नदीमा गण्डक बराजको निर्माण सम्पन्न भयो । उद्घाटन हुने बेलासम्म तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला अपदस्थ भइसकेका थिए ।

नेपालको १९ किलोमिटर भूमि प्रयोग गरेर उत्तर प्रदेशका लागि ठूला नहर बनाइएका छन् । नेपाली भूभाग हुँदै भारत पुग्ने नहरको पानीले भारतका महाराजगञ्ज, देवरिया, कुशीनगर, गोरखपुरलगायत विहार र उत्तर प्रदेशका १८ लाख ५० हजार हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ ।

गण्डक नहरका कारण नेपाललाई क्षति भएमा भारतले क्षतिपूर्ति दिने सम्झौतामा उल्लेख गरिएको छ । गण्डक बराजकै कारण बर्सेनि नेपालतर्फ डुबान र कटान जस्ता ठूला क्षति हुने गरेको छ । त्यसतर्फ भने भारतले कुनै चासो नदिएको स्थानीयबासीको गुनासो छ ।

१५ मेघावाट विद्युत सम्झौता

गण्डक ब्यारेज निर्माण गरी भारतर्फ पानी लगिए बापत नेपाललाई १५ मेगावाट विद्युत उपलब्ध गराउने गण्डक सम्झौतामा उल्लेख गरिएको छ । सोही सम्झौताअनुसार नेपाललाई विद्युत उपलब्ध गराउन भारतको चम्पारणमा पावर हाउस निर्माण गरिएको छ ।

Related Articles

Back to top button
Close