समाचार

नेपाली नागरिक भन्छन्, बरु भोकै बसिन्छ तर भारतमा गईन्न !

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका २ सुर्खेतका ४० वर्षीय शशी नेपालीको परिवार बिगत करिब दुई हप्तादेखि बालमन्दिर विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा हुनुहुन्छ भने उहाँका श्रीमान् र १४ वर्षका छोरा शिक्षा क्याम्पस सुर्खेतको क्वारेन्टिनमा । क्वारेन्टिन बस्नु उहाँहरुको बाध्यता हो । गत मङ्सिरमा घरमा ताल्चा लगाएर भारत गएका नेपाली परिवार विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा सात महिनापछि मुस्किलले ज्यान मात्र लिएर रित्तो हात घर फर्किनुप¥यो ।

“घरको ऋण तिर्न केही कमाई होला भनेर भारत गयाँै तर कमाएको जति खाना र गाडी भाडामै सकियो” शशीले भन्नुभयो, “कोरोनाले गर्दा अहिले खाली हात फर्किएका छौँ । जेनतेन ज्यान जोगाएर आफ्नो ठाउँसम्म आइपुगेका छौँ ।” भारतको उत्तराखण्डस्थित अल्मोडामा उहाँको परिवार पुल बनाउने काममा लागेका थिए । घर फर्किने बेलामा कोरोना सङ्क्रमणको कारण बन्दाबन्दी शुरु भयो । उहाँहरुले गर्दै आएको काम रोकिएपछि कमाएको केही रकम पनि कामबिहीन भइ बसेर खाँदा सकियो । उहाँले भन्नुभयो, “उता बस्ने उपाय नभएपछि घरमा फर्किनु विकल्प भएन । मरेपनि जन्मेकै ठाउँ मरौँला भनेर फर्कियौँ । अब विदेश नजाने वाचा गरेका छौँ । अब बरु आफ्नौ गाउँठाउँमा खोले सिस्नु खाएर बसौँला, विदेश जादैनौँ ।”

ज्यान बचेर आएकोले अब आफ्नै गाउँठाउँमा जे जसरी भए पनि दिन काट्ने मेसो गर्ने उहाँको भनाई छ । परदेशमा कोरोना सङ्क्रमणको बेलामा नेपालीहरु अपमानित भएर बस्नुपरेको अनुभव उहाँले सुनाउनुभयो । त्यो देख्दा र शुरुतिरका महामारी सम्बन्धी हल्ला सुन्दा बाँचेर घरसम्म आउँछौ भन्ने आश नै मरिसकेको उहाँ बताउनुहुन्छ ।

त्यसैगरी विगत १२ दिनदेखि बाल मन्दिर प्राविको क्वारेन्टिनमा बस्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका खोलीगाउँकी ३० वर्षीया कमला बिक पनि कमाई गरेर साहुको ऋण तिर्न श्रीमानसँगै भारत जानुभएको थियो । तर उहाँ पनि अहिले रित्तो हात घरमा फर्किनुपरेको दुखेसो गर्नुहुन्छ । “श्रीमानले मिस्त्री काम गर्नुहुन्थ्यो मैले काम गर्नेहरु सबैलाई खाना बनाएर बस्थेँ” उहाँले भन्नुभयो, “ऋण तिर्न त परै जाओस् ज्यान जोगाएर आउनु नै ठूलो कुरा भयो हामीलाई ।”

उहाँले दुई साना छोरालाई घरमै छोडेर भारत जानुभएको थियो । अब कमलाले पनि शशीले जस्तै आफ्नै ठाउँमा पसिना बगाउने निधो गर्नुभएको छ । “अरु बेला जे सुकै भएपनि सङ्कट आएको बेलामा आफ्नै जन्मभूभि प्यारो लाग्दो रहेछ । कोरोनाकै कारण मर्न परेपनि आफ्नै ठाउँमा मरौँला भनेर मातृभूमि फर्कियौँ” कमलाले भन्नुभयो, “बाध्यताले परदेशमा जानुपर्यो त्यसैमा पनि यो वर्ष त झन महामारीले गर्दा धेरै कष्ट भोग्नुप¥याण्े । ”

वीरेन्द्रनगर ५ श्रीनगरकी सीता सुनार पनि श्रीमान र छ वर्षकी छोरीसहित तीन महिना अघि भारत जानुभएको थियो । भारत गएको तीन महिनामै लकडाउन भयो । कमाएको जति बसेर खाँदा सकिन थालेपछि आफ्ना साथीहरुसहित नेपाल फर्किएको उहाँले बताउनुभयो । “अब त अर्काेको ठाउँमा बसेर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा बस्न राम्रो हुन्छ भन्ने सोच पलाएको छ । राम्रो काम मिल्यो भने यतैतिर काम गर्ने सोच बनाएकी छु ।” सुनारले सुनाउनुभयो ।

तीन महिना यता सुर्खेतको बाबियाचौरकी पार्वती बिकका आँखा ओभाएका छैनन् । गाउँमा ऋण गरेर श्रीमान् भारत गएको एक महिनामै बन्दाबन्दी शुरु भयो । पार्वतीको मुख्य आम्दानीको स्रोत नै उहाँका श्रीमान्ले भारतमा मजदुरी गरेर पठाएको पैसा हो । कोरोना सङ्क्रमणका कारण शुरु भएको बन्दाबन्दीले गर्दा पैसा नआएपछि उहाँलाई अहिले घर खर्च चलाउन मुस्किल भएको छ ।

उहाँका तीन छोरी र दुई छोरा छन् । अनि बिरामी सासुससुरालाई औषधी किन्नेसम्म पनि पैसा छैन । वर्षदिन गरेको खेतीले मुस्किलले तीन महिना पनि खान पुग्दैन । त्योभन्दा पनि ठूलो पिर उहाँलाई भारत गएका श्रीमानसँग भेट हुन्छ कि हुँदैन भन्ने लागेको छ । गाउँका पसलमा कहिलेकाहीँ उधारो चामल किनेर साँझ बिहानको छाक जोहो गर्ने गरेको पार्वती बताउनुहुन्छ ।

“यता भोकै बस्नुको पिरभन्दा पनि उता श्रीमानलाई केही भयो कि भन्ने पीरले सताउँछ” पार्वती भन्नुहुन्छ “श्रीमानलाई सधैँ फोनमा कुराकानी गर्दा भनेकी छु, आउनुस् बरु ‘गाउँमै खोले सिस्नु खाएर बसौँला, सँगै मरौँला ।” पार्वतीका श्रीमान् रतन विक चाडपर्वका बेलामा घरमा आउने र अन्य समयमा भारतमा काम गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ । घरमा पैसा पठाउने बेलामा बाँचेर घरसम्म आइपुग्ने हो कि होइन भन्ने ठूलो पिर छ पार्वतीको परिवारलाई । भारतमा दिनप्रतिदिन ठूलो सङ्ख्याका सङ्क्रमितहरु थपिँदै गएको समाचारले पार्वतीको मनमा डर मात्र पलाउँछ ।

“यस्तो होला भन्ने थाह पाएको भए उहाँलाई भारत पठाउने थिइन” उहाँले भन्नुभयो “उहाँ नेपाल कहिले कसरी फर्कने भन्ने चिन्ताले पिरोलिरहन्छ । अब गाउँ फर्केपछि यतैतिर खेती किसानी गर्ने सल्लाह भएको छ । अब आएपछि भारत नफर्किने सल्लाह भएको छ ।” वीरेन्द्रनगरको भैरवस्थानमा डेरा गरी बस्दै आउनुभएकी कृष्णा गोरलालाई पनि बन्दाबन्दी शुरु भएयता राम्रोसँग निद्रा परेको छैन । भारतमा कमाउन गएका श्रीमान् उतै परेपछि उहाँलाई पर्नु पिर परेको छ । तीन वर्षअघि भारतको देहरादुन गएका कृष्णाका श्रीमान् यही वैशाखमा फर्कने कुरा थियो । तर उहाँका श्रीमान भारतमै लकडाउनमा पर्नुभयो ।

कोरोना महामारीको कारण भएको लकडाउनले गर्दा भारत गएका अधिकांश कर्णालीबासी यस्तै पीडामा परेका छन् । साहुसँग ऋण लिएर कमाउन भारत गएका उनीहरु सबै रित्तो हात घर फर्कन बाध्य भएका छन् । श्रीमान् परदेश जाँदा घरको सारा काम महिलाले नै धान्नुपर्दछ । यसमा बढी दलित पुरुषहरु नै ज्यालादारी कामका लागि भारत जाने गर्दछन् ।

परदेशमा कमाई गर्नु त्यति सजिलो पनि छैन । समय समयमा आइपर्ने विविध समस्याले गर्दा कति पटक जीवन जोगाएर घर फर्कन कठिन हुन्छ उनीहरुलाई । धेरै त कमाउन गएका उनीहरु रित्तो हात लिएर घर फर्कनुपर्ने अवस्था छ । यसरी बिना कमाइ घर आउँदा परिवारले बुनेका सपना अधुरो हुने गर्दछन् । भारतबाट फर्केका तिला गाउँपालिका ४ जुम्लाका शेरबहादुर सुनारले भन्नु्भयो, “वर्गीय हिसाबले अहिले पनि यहाँको समाज र संस्कृतिले दमन गरिरहेको छ । प्राकृतिक विपद् पनि वर्सेनि हामीमाथि अभिशाप बनेर आउँछ ।”

मूलतः आर्थिक सङ्कटका साथै विभिन्न सामाजिक, धार्मिक र साँस्कृतिक अवयवका कारण विशेषगरी महिलाले तनावपूर्ण जीवनयापन गर्नु परिरहेको महिला अधिकारकर्मी किमशरा खत्रीले बताउनुभयो । जसका कारण उनीहरुमा डिप्रेसन बढेर आत्महत्याका घटनाहरु समेत भइरहेका खत्रीले बताउनुभयो । महामारीपछिको यस अवधिमा कर्णालीमा भारतबाट मात्रै ५८ हजार १८२ नागरिक भित्रिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गरिबी, अशिक्षा र कमजोर आर्थिक अवस्थाले होला हरेक विपत्तिको मारमा दलित वर्ग नै परेको पाइन्छ । कोरोना महामारी होस् या अन्य प्राकृतिक विपद् ती सबै विपत्तिको शिकार अधिकांश दलित र विपन्न दलितहरु बन्दै आएका छन् ।

विसं २०७१ मा भेरीमा आएको बाढीले सुर्खेत पञ्चपुरी, भेरगंगा, लेकबेसी, गुर्भाकोट नगरपालिका तथा बराहताल गाउँपालिका अधिकांश दलित नागरिक अहिलेसम्म पनि घरबारविहिन् नै छन् । उनीहरु सम्पूर्णलाई स्थानीय, प्रदेश र संघ सरकारले अहिलेसम्म पुनःस्थापना गर्न सकेको छैन ।

सन्तति गुमाएका पीडित परिवारलाई उचित राहतसमेत व्यवस्था गर्न सरकारले सकेको छैन । गएको बिहीबार बारेकोट गाउँपालिका जिरीस्थित पहिरो जाँदा दुई घर दलित परिवारका १२ जनाको पुरिएर ज्यान गयो । प्राकृतिक विपत्तिको शिकार बनेका उनीहरुमा केही व्यक्ति कोरोनाको महामारीबाट बच्न भारतबाट फर्केका थिए ।

अशिक्षा, बेरोजगार, कमजोर आर्थिक अवस्थाले कमजोर भौतिक संरचना र उपयुक्त ठाउँमा बसाई हुन नसक्नुले पनि विपत्तिबाट वर्सेनि उनीहरुले ज्यान गुमाउनु परेको छ । कर्णालीको हालको कुल जनसङ्ख्या १७ लाख ७० हजारमा करिब २४ प्रतिशत नागरिक दलित नै छन् । दलित समुदायका नागरिक मुलुकमा हेपिएको, चेपिएको र दमनमा परेको अवस्थामा छन् ।

प्रतिनिधिसभाका सांसद पार्वती विशुंखे जमीनको असमान वितरण र राज्यको ध्यान जान नसक्नुले दलितहरु प्राकृतिक विपत्तिको शिकार हुनुपरेको बताउनुभयो । “दलित र पहुँचविहीन नागरिक नै विपत्तिको पीडामा छन्,” सांसद विशुंखेले भन्नुभयो, “जमीनमा दलितको समान पहुँच नहँुदा उनीहरुले पाखापखेरा र खोल्सा बस्नुपरेकोले यस्ता समस्या व्यहोर्नु परेको छ ।”

कर्णाली प्रदेशसभा सदस्य तथा विधायन एवं प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियारले हरेक विपत्तिको शिकार दलित हुनुमा राज्यको विभेदकारी नीति भएको आरोप लगाउनुहुन्छ । दलितहरुलाई राज्यले जमीनको अधिकार नदिँदा भीरपाखा, खोला किनार जोखिमपूर्ण स्थानमा बस्नुपरेको तर्क गर्दै अध्यक्ष परियारले दलितमाथिको उत्पीडनको प्रभावले यो वर्गले विपद् सहनुपर्ने बाध्यता रहेको जनाउनुभयो ।

Related Articles

Back to top button
Close