समाचार

उपत्यकामा मंगलवार ९ संक्रमित थपिए, अव विदेशवाट फर्कनेका लागि यस्तो नयाँ नियम

काठमाडौं । मुलुकका अन्य ठाउँमा कोरोना संक्रमितको संख्या घट्दै गएपनि काठमाडौं उपत्यकामा भने संक्रमति थपिने क्रम रोकिएको छैन । मंगलवार पनि काठमाडौं उपत्यकामा ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार व्रिफिगंमा काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरस संक्रमित भेटिएका जानकारी दिएका छन् ।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका ८ जना र स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा कोरानो पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशैभर १५० जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६०९ जना कोरोना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस रहेका देशवाट फर्किनेहरुले अब आफ्नै घरमा १४ दिन क्वारेन्टाइन बस्न सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम क्वारेन्टाइन सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेसँगै विदेशबाट आएकाले घरमा बस्न पाउने भएका हुन्।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा मापदण्ड पालना गरेर दुई हप्ता आफ्नै घरमा बस्न सक्ने गरी क्वारेन्टाइन सम्बन्धी मापदण्ड स्वीकृत गरेको जानकारी दिएका छन् । यस अघि भने सरकारले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने अवस्था थियो । सरकारले नयाँ नियम सार्वजनिक गरेको हो । स्वास्थकर्मीको सहमतिमा स्थानीय अधिकारीको रेखदेखमा होम क्वारेन्टाइनमा बस्न सक्ने मन्त्रालयले जनाएको छ। होम क्वारेन्टाइनमा बस्न चाहनेले स्थानीय अधिकारीलाई अनुरोध गर्न सक्नेछन्।

‘प्रभावित देशबाट नेपाल फर्किनेले आफ्नै घरमा बस्ने अनुरोध गरेमा स्थानीय अधिकारीको प्रत्यक्ष निगरानीमा रहनेगरी १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउन सकिने सहितको मापदण्ड स्वीकृत भएको छ,’ उनले व्रिफिगंका क्रममा भनेका छन् ।

क्वारेन्टिन अव्यवस्थित भएको गुनासो आएपछि सरकारले क्वारेन्टाइन बसाइलाई सहज बनाउन नयाँ मापदण्ड ल्याएको जनाएको हो। क्वारेन्टिनमा बसेका अवस्थामा धेरै युवायुवतीले देह त्याग गरेका घटना सार्वजनिक भएका छन् ।

Related Articles

Back to top button
Close