समाचार

त्रिशूली नदीको खतरनाक रुप, पुलमाथि पानी बग्यो सडकको छेउ सम्म आइपुग्यो पानि !

धादिङ्ग – आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ । बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए ।

उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए । जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए । उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए ।

त्यस्तै पछिल्लो समय परेको निरन्तर वर्षाको कारण त्रिशूली नदी मडारिएको बगेको छ । त्रिशुली नदीमा रहेका झोलुङ्गे पुलदेखि पक्की पुलहरु उच्च जोखिममा परेका छन् । त्रिशूली नदीमा पानीको सतह बढेपछि चितवनको भरतपुर महानगरपालिका–१, दासढुङ्गाको पक्की पुल समेत खतरनाक अवस्थामा पुगेको छ । पक्की पुलको पिल्लर पुरै पानीमा डुबेको छ । गोरखा–धादिङ हुँदै बग्दै आएको बुढीगण्डकी नदी बेनिघाटमा मिसिएर सुरु हुने त्रिशुली नदी उर्लिएको हो

त्यस्तै भरतपुर महानगरपालिका–२९, सिमलतालमा रहेको झोलुङ्गे पुलको बीच भागलाई त्रिशुली नदीले नाघेको छ । सिमलताललाई तनहुँसँग जोड्ने पुलको मध्यभागमा बाढीले हिर्काइरहेकाले पुल बग्ने खतरा बढेको छ । बाढीले पुल छोएपछि त्यहाँ आवतजावत बन्द भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार त्रिशुली नदीमा रहेका सबै पुल उच्च जोखिममा छ । उनले भने, ‘सिमलतालमा रहेको झोलुङ्गे पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा छ ।’ त्रिशुली नदी उर्लिएसँगै चितवन, धादिङ, गोरखा र तनहुँ जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।

पहिराले पुरेर दुई महिला बेपत्ता

तनहुँको भानु नगरपालिका–९ पुर्काेटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको उनले बताए ।

अझै पाँच दिन भारीवर्षा, सही सूचना दिन मन्त्री पुनको निर्देशन

न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुनेभएको छ । उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराएका थिए ।

सो क्रममा महानिर्देशक बैद्यले यही साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिएका थिए । उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ ।

यो मात्रा अझै बढेर २०० मिलिलिटर पानीपर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताए । महानिर्देशक बैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ । यो परिमाणमा अझै वृद्धि हुने बैद्यले बताए । “यो पछिल्लो २४ घण्टाको विवरण हो”, बैद्यले भन्नुभयो, “यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ ।”

Related Articles

Back to top button
Close