समाचार

‘पोइ पर्यो काले’को शीर्ष गीतमा पूजा र आकाश

विराटनगर, ११ भदौ । शिशिर राणाको निर्देशनमा तयार भएको ‘पोइ पर्यो काले’ फिल्मको सम्पूर्ण छायांकन सकेपछि फिल्मको हालै शीर्ष गीतको छायांकन पनि सकिएको छ । बालाजुमा रहेको चलचित्र विकास कम्पनीको स्टूडियोमा भब्य सेट बनाएर फिल्मको गीत खिचिएको हो ।

गीतमा फिल्मका सबै मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा नृपेश उप्रेतीको शब्दलाई रामचन्द्र काफ्ले र अन्जु पन्तले स्वर भरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई शिव ढकालले छायांकन गरेका छन् । उक्त शीर्ष गीत फिल्ममा समावेश गरिएको एउटा पूजामा बजाइने भएको छ ।

हिन्दूहरुको महान चाड तिहारको अवसर परेर फिल्म आउँदो कात्तिक ८ गते प्रदर्शनमा आउने भएको छ । गीतको छायांकन गर्ने क्रममा केही तस्विरहरु सार्वजनिक भएका छन् । सार्वजनिक गरिएका तस्विरले फिल्मप्रति दर्शकमा कौतुहलता बढाएको छ । फिल्ममा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि अभिनय रहने भएको छ ।

सौगातकै वरिपरि मूल कथा घुम्ने यस फिल्ममा कसले कसको श्रीमान्–श्रीमतीको भूमिका निभाएको भन्ने कुरालाई सस्पेन्समा राखिएको छ । फिल्म हेरेपछि मात्र दर्शकले यसको जवाफ पाउने निर्देशक राणाले बताएका छन् । फिल्मको मुख्य ट्विस्ट नै यही रहेको उनले थपे । शिशिरले आफै फिल्मको कथा लेखेका हुन् ।

कमेडी कथावस्तुमा आधारित रहेर निर्माण भएको फिल्मलाई शिव ढकालले छायांकन गरेका हुन् । दिपक मनाङ्गे, रघु परियार र किरण नेपालीको संयुक्त लगानीमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । फिल्ममा पुरुषोत्तम न्यौपाने र शिव गौतमले संगीत दिएका छन् ।

Related Articles

Back to top button
Close