Banner newsसमाचार

सडक अवरुद्ध हुँदा चार जिल्ला प्रभावित सेनाद्वारा खाद्यान्न ढुवानी

काठमाडौं । घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक अवरुद्ध हुँदा पूर्वी पहाडका चार जिल्लाको जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध भएको दुई साता बिते पनि सडक सञ्चालन नहुँदा भित्री मधेसको उदयपुरसहित ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङको जनजीवन प्रभावित भएको छ ।

उदयपुरको पश्चिम र उत्तरी भाग तथा पूर्वी पहाडका तीन जिल्लामा दैनिक उपभोग्य सामग्री र इन्धनको मूल्य महँगिएको हो । असार २६ गते सिद्धिचरण राजमार्गको घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक बगाएदेखि अवरुद्ध बनेको हो । अवरुद्ध सडक निर्माणको कार्य भइरहेको छ ।

त्यस क्षेत्रमा पाँच सय मिटर खण्ड पहिरोले बगाएको छ । सडक डिभिजन कार्यालय, लहानका प्रमुख विनोद साहले अवरुद्ध सडकको पाँच सय मिटर खण्डमा डाँडा काटेर नयाँ सडक बनाउन लागेको जानकारी दिनुभयो । डिभिजन प्रमुख साहले भन्नुभयो, “दैनिक रूपमा १० वटा उपकरण लगाएर बाटो बनाइँदै छ, अर्को साता सञ्चालन हुने छ । ”

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले ‘लाइफ लाइन’ मानिएको उक्त खण्ड अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले दैनिक उपभोग्य सामग्री र इन्धन अभाव हुन नदिन वैकल्पिक बाटोका रूपमा सिन्धुली–खुर्कोट–घुर्मी खण्ड प्रयोग गरिएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Related Articles

Back to top button
Close