समाचार

धरौटीमा थुनामुक्त भएपछि रविले भने, ‘भविष्यमा राजनीतिमा लाग्ने बाटो रोकिएको छैन’

चितवन, १० भदौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानले अदालतको आदेश शिरोधार्य गर्ने बताएका छन् । पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले मंगलबार चितवनमा पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताएका हुन् ।

पत्रकार सम्मेलनका क्रममा रविले आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिए । यस्तै उनले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको पनि बताए । उनले भने, ‘मलाई साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्छु । म अदालतको आदेश शिरोधार्य गर्छु । तर, भविष्यमा मेरो राजनीतिमा लाग्ने बाटो रोकिएको छैन ।

सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।

प्रदर्शनकारीलाई पनि छोडियो
रवि पक्राउ परेको विरोध गर्दै प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई छोडिएको छ । रविसहित तीन जना पक्राउ परेको विरोध गर्दै प्रदर्शन गर्दा पक्राउ परेका प्रदर्शनकारीहरुलाई मंगलबार छाडिएको हो ।

पक्राउको विरोधको क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । तर, लामिछानेसहित तीनै जना सोमबार धरौटीमा थुनामुक्त भएपछि आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

Related Articles

Back to top button
Close