समाचार

सीमा विवाद बढेपछि भारतीय एसएसबीले बढायो नेपालतर्फ सीमावर्ती क्षेत्रमा कडा निगरानी

काठमाडौँ, कपिलवस्तु, बर्दिया। भारतले नेपालतर्फ सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का उच्च अधिकारीहरू नै सीमावर्ती क्षेत्रमा बाक्लो रूपमा निरीक्षणमा आउन थालेका हुन् । एसएसबीले गस्ती पनि यसअघिको तुलनामा बढाउँदै लगेको छ ।

गत जेठ ३० मा सीमा सुरक्षार्थ सर्लाहीको संग्रामपुरमा खटिएको नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) को कारबाहीमा भारतस्थित सीतामडीका एक जनाको मृत्यु भएपछि एसएसबीको पैदल र सवारी गस्ती बाक्लिएको हो ।

यसबाहेक दार्चुलाको कालापानी क्षेत्रमा भारतीय अतिक्रमणले पनि दुई देशबीचको सम्बन्ध तनावपूर्ण छ । यहीबीच सोमबार चीन र भारतको सीमावर्ती लद्दाखस्थित गलवान घाँटीमा दुई देशका सेनाबीच हिंसात्मक झडप भएको थियो । झडपमा भारतीय स्थल सेनाका कर्णेलसहित २० सैनिकको मृत्यु भएपछि उसले छिमेकी मुलुकसँगको सीमामा तैनाथी थप बढाएको हो ।

नेपालसँग भारतको १ हजार ८ सय ८० किमि लम्बाइको सीमा छ । यसमध्ये प्रदेश १ का ६ जिल्लाले ४ सय ४० किमि, प्रदेश २ का ८ जिल्लाले ४ सय ३५, वाग्मती र गण्डकी प्रदेशका १/१ जिल्लाले क्रमश: ८८ र ४, प्रदेश ५ का ५ जिल्लाले ४ सय ४५ र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाले ४ सय ६८ किमि ओगेटका छन् । ती सबै सीमावर्ती स्थानमा भारतले एसएसबीको गस्ती बढाएको छ ।

भारतले ५ सय ३० बोर्डर आउटपोस्टमार्फत सीमा सुरक्षा गर्दै आएकोमा थप फौजलाई पनि गस्तीमा उतारेको सशस्त्र प्रहरी बलका एक बीओपी कमान्डरले बताए । सशस्त्र प्रहरीको भने भारतीय सीमातर्फ १ सय २२ स्थानमा बीओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी मुख्यालयले पनि सीमावर्ती क्षेत्रमा आफ्नातर्फबाट चुस्त र प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न मातहत फौजलाई निर्देशन दिएको छ । सशस्त्रले सहकार्य गरेर आवश्यकता अनुसार संयुक्त गस्ती गर्न पनि बाहिनीपतिहरूलाई निर्देशन दिएको छ ।

कपिलवस्तुसँग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको बढनी बीओपी र बढनी प्रहरी चौकीले संयुक्त रूपमा सीमामा निगरानी र पेट्रोलिङ बढाएका छन् । यही क्रममा उनीहरूको ९ जना सुरक्षाकर्मीको टोलीले बुधबार ठूलो पिलर नम्बर ५७१ देखि ५७३ सम्म पेट्रोलिङ गरेको छ । त्यस क्रममा उनीहरूले स्थानीय गाउँलेलाई सतर्क र सजग भएर बस्न आग्रह गरेका थिए ।

उनीहरूले सीमामा शान्ति बनाएर आपसी सद्भाव कायम गरी बस्न गाउँलेलाई आग्रह गरेको एक स्थानीयले बताए । बढनी नाकावारि कृष्णनगर नाका पर्छ । सीमा क्षेत्रको बढनी भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको नेपालको सबैभन्दा नजिकको सहर हो । उक्त क्षेत्र सीमाबाट ६ सय मिटरको दूरीमा पर्छ । यो नेपालका १० ठूला भन्सार नाकामध्ये एक हो ।

सिद्धार्थनगरकै सोहरतगढ तहसिलअन्तर्गत पर्ने सीमाको खुनवा नाकाको एसडीएम अनिलकुमार र सीओ सुनिलकुमार सिंहले संयुक्त रूपमा निरीक्षण गरेका थिए । उनीहरूले खुनवा प्रहरी चौकीमा एसएसबी र प्रहरीसँग बैठक गरी सीमा क्षेत्रको वस्तुस्थिति बुझेका थिए । सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिई शान्ति कायम राख्न उनीहरूले निर्देशन दिए । उनीहरूले दुवै मुलुकका सुरक्षाकर्मीको पहलमा सीमामा सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको सोहरतगढ थाना इन्चार्ज रामआशिष यादवले बताए ।

गोरखपुर जोनका अतिरिक्त प्रहरी निर्देशक (एडीजीपी) दावा शेर्पाले पनि सीमा क्षेत्र बढनीको स्थलगत निरीक्षण गरी सीमा क्षेत्रमा निगरानी बढाउन निर्देशन दिएका छन् । शेर्पाले नेपाली सुरक्षा अधिकारीसँग समन्वय गरेर सीमा क्षेत्रमा शान्ति र सौहार्दको वातावरण बनाइराख्न स्थानीय सुरक्षा अधिकारीलाई निर्देशन दिएको हिन्दुस्तान दैनिकका बढनी संवाददाता विकास सिंहले जानकारी दिए । शेर्पा यस क्षेत्रमा भर्खरै सरुवा भएर आएका सुरक्षा अधिकारी हुन् ।

सामान्य अवस्थामा दुवै मुलुकका सुरक्षाकर्मीले सीमा क्षेत्र र पिलरको संयुक्त गस्ती गर्ने गरेका थिए । तर यसपटक भने भारतीय सुरक्षा अधिकारीले एक्लै गस्ती गरेका हुन् । ‘संयुक्त गस्ती हुँदा खबर हुन्छ,’ सशस्त्रको २८ नम्बर गणका उपरीक्षक जनकराज पुरीले भने, ‘एक्लाएक्लै गस्ती हुँदा आ–आफ्नो क्षेत्रमा हुन्छ ।’

समन्वय भइरहेको छ : सशस्त्र प्रहरी

प्रदेश १ र २ का सशस्त्र प्रहरी प्रमुखहरूले सीमा क्षेत्रमा अप्रिय घटना हुन नदिन आपसी समन्वयमा काम भइरहेको बताएका छन् । दुवै देशका बीओपी तथा गण/गुल्ममा कार्यरत सुरक्षाकर्मीले परिस्थिति हेरेर संयुक्त गस्ती र आवश्यकताअनुसार एकल गस्ती गर्दै आएको उनीहरूले जानकारी दिए । प्रदेश २ स्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी राजु अर्यालले सीमा क्षेत्र सुरक्षाका लागि दुवै देशका सुरक्षाकर्मीबीच संयुक्त गस्ती र छलफल बाक्लो बनाइएको बताए । उनका अनुसार केही स्थानमा आपराधिक गतिविधि र स्थानीयका असन्तुष्टिका कारण उत्पन्न असहज परिस्थितिलाई साम्य बनाउन दुवै देशका सुरक्षा अधिकारीबीच छलफल हुने गरेको छ ।

बिहीबार मात्रै सशस्त्र प्रहरी बलको धनुषास्थित गणका एसपी राजेश उप्रेती र भारतीय एसएसबीका ४८ नम्बर गणका कर्णेल शंकर सिंहसहित दुवै देशका २०–२० जना सुरक्षाकर्मीले धनुषाको विदेह नगरपालिका–१, मैनाथपुरस्थित दशगजामा २७६/५ देखि २ सय ७८ सम्मको ४ किमि क्षेत्रमा संयुक्त गस्ती गरेका थिए । शुक्रबारको घटनापछि भारतीय पक्ष थप आक्रोशित बनेको थियो । तर त्यसलाई आपसी समन्वयबाट परिस्थिति साम्य पार्दै संयुक्त गस्ती गरिएको हो ।

प्रदेश १ को सुनसरीस्थित पकलीका १ नम्बर बराहा बाहिनीका बाहिनीपति डीआईजी नगेन्द्र थापाले लकडाउनका क्रममा संयुक्त गस्ती केही पातलिएको बताए । यद्यपि लकडाउन पालना र सीमा नाका सिललाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति मजबुद पारिएको उनको भनाइ छ ।

सीमावर्ती इलाकामा आपराधिक गतिविधि गर्ने तथा स्थानीय खेतीकिसानी गर्ने मानिस आवतजावत गर्न नपाउँदा कहिलेकाही असहज परिस्थिति आउने गरे पनि दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा समस्या समाधान गरिने गरेको बताए । उनका अनुसार केही दिनअघि मात्रै झापा र मोरङका एसपी र काउन्टरपार्टका अधिकारीबीच सुरक्षा छलफल भएको थियो ।

प्रदेश ५ मा पनि संयुक्त गस्ती

बाँके–बर्दिया सीमामा भारतको सुरक्षा गतिविधि बढेको छ । तर नेपाल–भारतका सुरक्षाकर्मीले भने नियमित संयुक्त सुरक्षा गस्तीलाई निरन्तरता दिएको बताएका छन् । बिहीबार बाँकेको जयसपुर, बह्रैया, काला बन्जड बीओपी पोस्टका सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमामा संयुक्त गस्ती गरेका हुन् । यसअघि बर्दिया सीमामा पनि संयुक्त गस्ती भएको थियो ।

नेपालगन्जस्थित सशस्त्रको नेपाल गण हेडक्वाटर नम्बर ३० का गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले साता/पन्ध्र दिनमा सशस्त्र प्रहरी र एसएसबीले सामूहिक गस्ती गर्दै आएको बताए । उनले भने, ‘यो नियमित प्रक्रिया हो । दुई मुलुकका सुरक्षा अधिकारीहरूसँग समन्वय गरेर संयुक्त गस्ती गर्छौं ।’ पछिल्लो समय देखिएको सीमा विवादयता पनि एसएसबीको गतिविधि पहिलेजस्तै रहेको उनको दाबी छ ।

बाँके र बर्दियाको सीमा सुरक्षाका लागि भारतले तीन/तीन किलोमिटर दूरीमा बीओपी स्थापना गरेको छ । नेपालतर्फ भने १० देखि २० किलोमिटर दूरीमा बीओपी राखिएका छन् । बर्दियामा बढैयाताल गाउँपालिकाको फुटहा, गुलरिया नगरपालिकाका कालाफाँटा, कट्टी, मधुवन नगरपालिकाको धनौरा र राजापुर नगरपालिकामा सशस्त्र प्रहरीको बीओपी राखिएको छ । थप ५ स्थानमा बीओपी स्थापनाका लागि सरकारले स्वीकृति दिएको छ । बाँकेको सीमामा ११ स्थानमा सुरक्षा जाँच पोस्ट छन् । तीमध्ये ६ बीओपी र ५ स्थानमा फरवार्ड अपरेटिङ बेस (एफओबी) राखिएका छन् ।

एक दर्जन सीमा स्तम्भ हराए

बाँकेमा नेपाल–भारत सीमाका मुख्य र सहायक गरी ३ सय ७ सीमा स्तम्भ रहेकोमा एक दर्जनभन्दा बढी हराएका छन् । पूर्वकटकुइँया र पश्चिम मानखोलासम्मको सीमाका मुख्य ५ (जंगे पिलर) र सहायक स्तम्भ राप्ती नदी र मानखोलाले बगाएको हो । चार वर्षअघि राप्ती नदीको बाढीले नरैनापुर गाउँपालिका भगवानपुरस्थित ६४३ (१४) नम्बरको सीमा स्तम्भ बगाएको स्थानीयले बताए । उक्त स्तम्भ स्थानीय आफैंले खोज्ने प्रयास गरेका थिए । तर सरकारको उदासीनताका कारण पिलरको अवस्था खुल्न सकेको छैन ।

बर्दियाको सीमा क्षेत्रमा मुख्य र सहायक गरी २ सय ४५ सीमा स्तम्भ छन् । अहिलेसम्म ७ मुख्य र ९३ सहायक सीमा स्तम्भ हराइसकेका छन् । बाढीले मुख्य र सहायक गरी ३२ सीमा स्तम्भ बगाएको छ । बबईको कटानले ३ वटा स्तम्भ जोखिममा छन् । कटान भएको ठाउँमा सबैतिर बालुवा हुने भएकाले दशगजा क्षेत्र नै नचिनिने अवस्था छ । स्थानीय प्रशासनका अनुसार आव २०७०/७१ मा १६, २०७१/७२ मा ६ र २०७३/७४ मा ५ सीमा स्तम्भ हराएका थिए । आजको कान्तिपुरबाट

Related Articles

Back to top button