समाचार

हाम्राे कार्यक्रम जनताकै लागि हाे, जनताका कुरा उठाउन फेरि पनि कुनै कमी हुने छैन : रवि लामिछाने

चितवन । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले प्रहरीकाे नियन्त्रणमा रहेको समयमा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

रिहा भएपछि मंगलबार बिहान चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुवै सञ्चारकर्मीले सहयोग तथा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको हाे ।

जनताको विषयमा कुरा उठाउने काममा कुनै कमी नहुने दुवै सञ्चारकर्मीले प्रतिबद्धता समेत जाहेर गर्नुभएकाे छ ।

सिधाकुरा जनतासँग कार्यक्रमका सञ्चालक लामिछानेले आफूले गर्ने कार्यक्रम राजनीतिक नभई सर्वसाधारण जनताका पीडा-मर्मका विषयमा भएको भन्दै राजनीतिसँग जोडेर नहेर्न आग्रह समेत गर्नुभयो ।

साउन ३० गते दुवै सञ्चारकर्मीलाई न्युज ट्वान्टी २४ काे पानीपोखरीस्थित कार्यालयबाट पक्राउ गरिएको थियो । साउन २० मा चितवनको कंगारु होटलमा मृत अवस्थामा भेटिएका न्युज २४ कै पूर्व सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धमा छानविनका लागि नियन्त्रणमा लिइएको थियो ।

जिल्ला अदातल चितवनको आदेशअनुसारको धरौटी बुझाएर गए राति उहाँहरु रिहा हुनु भएको छ । संचारकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरण सम्बन्धी दुरुत्साहन मुद्दामा हिजो जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कडेललाई क्रमशः पाँच र तीन लाख रुपैया धरौटी बुझाउने आदेश दिनु भएको थियो । त्यसैगरी अस्मिता भनिने रुकु कार्कीलाई सामान्य तारेखमा छाड्ने अदालतले आदेश दिएको थियो ।

रिहा गरेपछि प्रतिक्रया व्यक्त गर्दै संचारकर्मी लामिछानेले अदालत प्रति आफूलाई विश्वास भएको बताउनु भएको थियाे ।

Related Articles

Back to top button
Close