समाचार

नेपालका यी ४ जिल्ला कोरोना ‘ हटस्पट’ , लकडाउन कडाई गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने भएको हो

गृह मन्त्रालयले यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनस्वास्थ्यसम्बन्धि मापदण्ड अनुसार यी जिल्लाको अवस्था उच्च जोखिममा रहेकोले अर्को व्यवसथा नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा सुचारु नगरिएको बताए ।

‘सरकारले २ सय सम्म कोरोना संक्रमित रहेका जिल्लामा शर्तसहित लकडाउन खुकुलो पार्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सेवा सुचारु गर्ने निर्णय लिएको छ,’ अधिकारीले कान्तिपुरसँग भने, ‘तर सर्लाही, रौतहट, कपिलबस्तु र दैलेख संक्रमणको उच्च जोखिम रहेकै कारण यस क्षेत्रमा लकडाउनलाई थप कडाइका साथ पालना गर्न स्थानीय प्रशासनलाई भनेका छौं।’

मंगलबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ रहेकोमा उच्च जोखिममा रहेका जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ।

उच्च जोखिममा रहेका ४ बाहेक उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् । कम जोखिम रहेका जिल्लामा निजी सवारी सञ्चालन गर्न जोरविजोर प्रणाली लागू गरिएको छ।

यसअघि जारी भएका सवारी पास दुरुपयोग हुनसक्ने भएर सोमबार नै गृहले जिल्लाभित्र आवागमनका सबै पास खारेज गर्नुका साथै एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाइ गरिएको छ।

Related Articles

Back to top button
Close