समाचार

आज एकैदिन ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौँ, १ असार – कोभिड– १९ को सङ्क्रमणबाट आज ६७ जना निको भएका छन् । प्रवक्ता डा गौतमले विभिन्न अस्पतालमा ६० पुरुष र सात जना डिस्चार्ज भएका छन् । उहाँका अनुसार कोभिड– १९ अस्पताल जनकपुरबाट २४ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन महिला र एक जना पुरुष, सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड अस्पतालबाट दुई महिला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एक महिला र एक पुरुष, कलैया अस्पताल बाराबाट छ पुरुष, शाहीकृष्ण आइसोलेशन सप्तरीबाट १७ पुरुष र कोभिड–१९ अस्पताल बेलझुण्डी दाङबाट एक महिला र ११ पुरुष डिस्चार्ज भएका छन् ।

आज भएका डिस्चार्जसँगै एक हजार ४१ जना डिस्चार्ज भएका छन् । तीमध्ये १०४ महिला र ९३७ पुरुष रहेका छन् । अहिलेसम्म पिसिआर एक लाख ३८ हजार ६८३ र आरडिटी दुई लाख १९ हजार ३३६ जनाको गरिएको छ । देशभरि क्वारेन्टिनमा एक लाख ३३ हजार ८२९ जना छन् ।

यस्तै आजदेखि पोखरामा कोभिड–१९ को पिसिआर मेसिन जडान गरी थप एक प्रयोगशाला स्थापना गरी परीक्षण थालिएको छ । योसँगै पोखरामा दुई पिसिआर विधिबाट प्रयोगशाला स्थापना गरिएको छ । नयाँ प्रयोगशालासँगै मुलुकभर २२ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिन्छ ।

यसैगरी मन्त्रालयले विभिन्न स्वास्थ्यसंस्थासँग कोभिड– १९ का बिरामीको उपचारमा समन्वय र सहजीकरण गर्न मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधवप्रसाद लम्सालको संयोजकत्वमा एक चिकित्सक टोली गठन गरेको प्रवक्ता डा गौतमले बताउनुभयो ।

यसैगरी कैलालीका लम्की चुहा नगरपालिका–१ मा रहेका क्वारेन्टिनमा एक महिलामाथि भएको बलात्कारमा संलग्न सबैलाई कारवाहीको प्रक्रिया शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले उक्त घटनाप्रति मन्त्रालयको खेदप्रकट गर्दै घटनामा स्वास्थ्यकर्मीसहित स्थानीय अगुवाको समेत संलग्नता रहेको बताउनुभयो ।(रासस)

Related Articles

Back to top button
Close