समाचार

श्रीमान्-श्रीमती सँगै हिँड्न नदिए एक व्यक्ति एक सवारी देऊ सरकार!

जेठ ३२, २०७७ काठमाडौं : लकडाउन खुकुलो बनाएर शुक्रबारबाट देशभर मोटरसाइकल र निजी सवारीमा जोर/बिजोर प्रणाली लागू भएपछि यसको सर्वत्र विरोध भइरहेको छ। सरकारको यो नियमलाई कतिपयले ‘जोक’ का रुपमा पनि ग्रहण गरिरहेका छन्। लकडाउनका बेला केही खुकुलो पार्न २ पाङ्ग्रे मोटरसाइकलमा एकजना मात्र चढ्न पाइने तर कारमा भने २ भन्दा बढी चढ्न पाइने भएपछि विभेद भएको प्रतिक्रिया दिएका छन्। कीर्तिपुरमा भेटिएका सरोज शाक्यले यो नीति विभेदकारी रहेको बताए। ‘ट्राफिक प्रहरीले चेक गर्ने ठाउँभन्दा केही पर झर्ने र चेकिङ प्वाइन्टबाट केही परसम्म हिँडेर पुन: मोटरसाइकलमा सवार गर्ने काम भइरहेको छ। यस्तो बेला कसरी रोकथाम हुन सक्छ?’ उनले भने, सँगै खाने, सँगै बस्ने र सँगै हिँड्ने श्रीमान श्रीमतीको हकमा एकजना गुड्न पाउने नियम जोकको नयाँ रूप हो।’ सामाजिक सञ्‍जाल फेसबुक प्रयोगकर्ताले २ पाङ्ग्रेमा मोटरसाइकलमा १ जना चढ्न पाउने भए श्रीमतीका लागि नयाँ सवारी किन्न आवश्यक रहेको भन्दै ठट्टा गरे। ‘यो नियमसँगै सरकारले केही लाख रकम जनतालाई अनुदान दिए हुने, एक व्यक्ति एक सवारीसाधन किन्न हुन्थ्यो। आखिर स्वास्थ्यभन्दा ठूलो धन होइन क्यारे।’ सरकारको यो नियमले कतिपय कर्मचारी तथा बिरामीका लागि अप्‍ठेरो महसुस हुने पक्कापक्की छ। कालिमाटीको एक फार्मेसीमा भेटिएका बाग्लुङ घर भएका सुरज कँडेलले यो नियमले गर्दा श्रीमतीका लागि औषधी किन्न आफैँ आउनुपरेको बताए। उनले भने, ‘दुई जना आउन पाएको भए स्वास्थ्य चेक पनि गर्न हुन्थ्यो। अब बिरामीलाई लागेको रोगलाई अनुमान लगाएर ‌औषधि किन्न आउनुपरेको छ’, उनले गुनासो पोखे। सरकारको आदेश पालना गरेका हौँ जनताको चर्को आक्रोशबीच महानगरीय ट्राफिक महाशाखाले भने सरकारको आदेश पालना गरेको जनाएको छ। महाशाखा प्रमुख भीमप्रसाद ढकालले सरकारले गरेको निर्णय पूर्णरूपले कार्यान्वयन गरिएको बताए। ‘बिरामी तथा आपतकालीन अवस्थामा दुईजना चढ्नेलाई उनीहरूको समस्या हेरेर हिँड्न दिएका छौं। अन्यलाई भने कारबाही गरेका छौं’, प्रमुख ढकालले भने। आइतबार १ बजेसम्म महाशाखाले ४ सय ४० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। यस्तै, १ सय ४१ अन्य सवारी साधनलाई नियन्त्रणमा लिएको छ। प्रमुख ढकालले भने, ‘जोरविजोर उल्लघंन गर्ने र सरकारले ल्याएको नियम नमान्नेहरू रहेका छन्।’

Related Articles

Back to top button
Close