Friday, February 28

देशलाई घाटा भए हुन्छ गलत चिजविरुद्ध बोलिरहन्छु, भारत सामु झुक्दैन : मलेसियाका प्रधानमन्त्री

January 15, 2020 220

क्‍वालालम्पुर — मलेसियाले कुटनीतिक तनावका कारण भारतले अघोषित रुपमा पाम तेलको आयात रोकेकोमा चिन्ता व्यक्त गरेको छ । तर मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले देशले आर्थिक समस्या झेल्ने नै भए पनि ‘गलत चिज’ विरुद्ध बोलिरहने बताएका छन् ।

भारतले गएको हप्तादेखि मलेसियाबाट हुने पाम तेल आयातमा अघाेषित रुपमा रोक लगाएको छ । भारत विश्वमै सबैभन्दा बढी पाम तेल आयात गर्ने देश हो । त्यस्तै इन्डोनेसियापछि मलेसियाले विश्वमै सबैभन्दा बढी पाम तेल उत्पादन गर्छ ।

मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले भारतले ल्याएको विवादिन नयाँ नागरिकता कानुनमा आपत्ति जनाएपछि दुई देशबीच कुटनीतिक तनाव सिर्जना भएको हो । महाथिरको अभिव्यक्तिका कारण केही महिनादेखि भारत र साउदी अरबसँग मलेसियाको सम्बन्ध चिसिएको छ । महाथिरले संयुक्त राष्ट्र संघको महासभामा पत्रकारहरुसँग कुरा गर्दै भारतले आक्रमण गरीकश्मीर कब्जामा लिएको बताएका थिए ।

भारतले आयात रोकेपछि मलेसियाका पाम तेल उत्पादकले ठूलो घाटा बेहोर्नु परेको छ । प्रधानमन्त्री महाथिरले भने यो समस्याको समाधान खोजिने बताएका छन् । ‘हामी निश्चित रुपमा चिन्तित नै छौँ । किनभने हामीले भारतमा ठूलो परिणाममा पाम तेल पठाउछौँ । तर कहीँ गलत भइरहेको छ भने त्यसमा पनि हामीले निर्धक्क बोल्नुपर्छ,’ उनले पत्रकारहरुसँग भने, ‘हामीले पैसा मात्रै सोच्ने अनि गलत क्रियाकलाप पनि भइरहने हो भने मलाई लाग्छ हामीबाट धेरै नै गलत काम भइसकेको हुन्छ ।’

भारत सरकारले अनौपचारिक रुपमा व्यापारीहरुलाई मलेसियाको पाम तेल नकिन्न भनेको छ । भारतीय व्यापारीले भने इन्डोनेसियाबाट पाम तेल आयात गरिरहेका छन् ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका सचिव रविश कुमारले भारतले देश हेरेर पाम तेल आयात नगर्ने बताएका थिए ।

सन् २०१९ मा भारतले मलेसियाबाट ४४ लाख टन पाम तेल आयात गरेको छ । मलेसियासँगको सम्बन्ध सुधार नभए यसवर्ष मलेसियाबाट पाम तेलको आयातमा १० लाख टन कम हुने भारतीय व्यापारीले बताएका छन् ।

मलेसियाले भने भारतको विकल्पको रुपमा पाकिस्तान, फिलिपिन्स, म्यानमार, भियतनाम, इथियोपिया, साउदी अरब, इजिप्ट, अल्जेरिया र जोर्डनमा पाम तेल निर्यात गर्ने योजना बनाएको छ । मलेसियाका उद्योग मन्त्रीले पनि पाम तेल निर्यातमा देखिएको समस्या समाधानका लागि भारतीय समकक्षीसँग पहल गरिरहेको बताएका छन् ।

पछिल्लो महिना नेपालबाट पनि निर्यातको १ नम्बरमा रहेको पाम तेललाई भारतले रोक लगाएको छ । नेपाल सरकारले पाम तेलकाे निर्यात खुलाउन भारतसँग अनौपचारिक वार्ता सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार अनौपचारिक छलफलमा भारतले समाधान गर्ने संकेत दिएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्