अन्तर्राष्ट्रिय समाचार

कतै बाहिर नगएका र कसैसंगको सम्पर्कमा पनि नभएका एकै परिवारका ११ सदस्यलाइ कोरोना संक्रमण देखिएपछी….

काठमाडौँ । भारतमा संयुक्त परिवारका सदस्यमा कोरोना संक्रमित हुँदा कस्तो अवस्थाको सामना गर्नुपर्छ भन्ने कुराको यो निकै मार्मीक उदाहरण हो । भारतका मुकुल गर्गले आफ्नो ब्लगमा १७ जनाको संयुक्त परिवारमा सल्कीएको कोरोनाले कसरी एक पछि अर्को सदस्यमा सर्दै गयो भन्ने कुरा निकै मार्मीक ढंगले प्रस्तुत गरेका छन् । मुकुलले लेखेका छन् अप्रिल २४ मा ५७ वर्षीय काकालाई ज्वरो सुरु भयो ।

कोरोनाको त्रास बढीरहेको बेलामा आफ्ना काकालाई ज्वरो सुरु भयो उनी चिन्तित भए । अब १७ जनाको परिवार कसरी सुरक्षित हुने भन्ने चिन्ता उनलाई लाग्यो काकाको शरिरको तापक्रम रोकिएन झन बढ्दै गयो । खोकी र कफले आवाज शिथिल हुन थाल्यो । सुरुमा त उनले काकाको त्यो लक्षणलाई सिजनल फ्लु भनेर सोचे । त्यसैले अस्पताल गएनन् । तर विस्तारै अन्य सदस्यमा पनि त्यो लक्षण बढ्दै गयो ।

कतै बाहिर नगएका र कसैसंगको सम्पर्कमा पनि नभएका आफ्नो परिवारमा कसरी कोरोना प्रवेश गर्यो उनी अचम्ममा परे । परिवारमा विरामी पर्नेको संख्या बढ्दै गएपछि उनी जाँच गराउन गए । उनलाई परिक्षण पछि कोरोना पुष्टि भएको खबर दिइयो ।“बाहिरका कसैलाई भेटेनौँ, बाहिरका कोही घरभित्र आएन, यद्यपि कोरोनाभाइरस हाम्रो घरमा छिर्यो र एकपछि अर्कोलाई सङ्क्रमित बनायो ।”– गर्गले पछि आफ्नो ब्लगमा उल्लेख गरेका छन् । जसमा सयौँले प्रतिक्रिया दिएका छन् । भारतीय संस्कारमा संयुक्त परिवारिक परम्परा छ । त्यसैले संयुक्त परिवारमा प्रवेश गरेको कोरोनाले कसरी एक पछि अर्को सदस्यलाई सिथिल बनाउँदै लैजान्छ भन्ने कुराको यसमा विस्तृत वर्णन गरिएको छ ।

भारतमा कुल जनसङ्ख्याको करिब ४० प्रतिशत परिवार अझै सामूहिक र संयुक्त रुपमा बस्दैआएका छन् । एउटै छानामुनि चारभन्दा बढी र तीन पुस्तासम्मका अटाउँछन् । र घर भिडभाड स्थल जस्तै बन्छ । जसले गर्दा एउटा परिवारमा कोरोना प्रवेश गर्यो भने घर नै अस्पताल बनाउनुपर्ने अवस्था आउँछ ।

गर्गको परिवार तीन तल्ले घरमा छन् । उत्तरी पश्चिम दिल्लीको भिडभाडयुक्त बस्तीमा उनको घर छ । हजूरबुवा र हजूरआमासँगै ३३ वर्षीय गर्ग, ३० वर्षीया उनकी श्रीमती, छ र दुई वर्षीय दुई छोराछोरी सबैभन्दा माथिल्लो तल्लामा बस्छन् । पहिलो तल्लामा उनको काका र परिवार बस्छन् । परिवारमा चार महिने शिशुदेखि ९० वर्षीया वृद्ध हजूरबुवा बस्छन् ।

कोरोना प्रवेश गरेपछि परिवारमा १७ जना रहेपनि एक्लिएको महसुस गर्न थालेको गर्गले बताएका छन् । “हामीमध्ये कसैको निधन हुँदा कोरोना फैलन आशङ्कामा अन्त्येष्टिमा पनि कोही नआउने हो की भन्ने चिन्ताले पिरोल्न थाल्यो”, गर्गले पीडा सुनाएका छन् । परिवारका विरामी सदस्यलाई सतर्कतासंग राखेर कोरोना प्रभावित नभएका सदस्य उनीहरुको सेवामा लागिरहे । उनीहरु नै डाक्टर, सेवक सबै बने । लाग्थ्यो उनीहरुको घर नै अस्पताल हो ।

मेको पूरा महिना परिवारका १७ जना नै कोरोनाभाइरससँग लड्दै बिताए । उनीहरूले उच्च ज्वरो हुने दुई जनालाई छुट्टै कोठामा राखे । एघार जना सङ्क्रमितमध्ये छ जनामा मधुमेह, हृदयरोग र उच्च रक्तचापको समस्या थियो । जसले जोखिम र चिन्ता अझै बढायो । “रातभरिमै हाम्रो घर अस्पतालमा परिणत भयो र बाँकी रहेकाहरू नर्सको भूमिका निर्वाह गर्न बस्यौँ ।”

तर ९० वर्षको हजुरआमालाई कोरोनाको कुनै लक्षण नदेखिएकोमा उनी निकै अचम्ममा परे । परिवारकै सदस्यको हेरचाहका कारण मे दोस्रो साता थुप्रै सङ्क्रमितको परीक्षण निगेटिभ आउँदा उनले राहत महसुस गरे । विस्तारै परिवारको अन्य सदस्यले पनि कोरोनालाई परास्त गर्दै गए । “भाइरसको दोस्रो तरङ्ग आउन सक्नेमा हामी सचेत छौँ, तर अहिलेलाई हामी भाइरसलाई परास्त गर्न सफल भएको खुसीयाली मनाउँदैछौँ ।” गर्गले भनेका छन् ।

Related Articles

Back to top button
Close