समाचार

अभियोग दर्तापछि अस्मिता कार्कीको बयान सम्पन्न, सञ्चारकर्मीद्वय लामिछाने र कँडेलको बाँकी

काठमाडौं । शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल अस्मिता कार्कीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।

सरकारी वकिलको कार्यालयले प्रहरीको राय अनुसार नै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत, चितवनमा दर्ता गराएको हो ।

अब अदालतमा प्रतिवादी तीनजना मध्ये दुई जनाको बयान लिन बाँकी रहेको जानकारी गराइएको छ । अस्मिता कार्कीको बयान सकिएको बताइएको छ भने सञ्चारकर्मीद्वय लामिछाने र कँडेलको बयान भने भोलि मात्र हुने सम्भावना बढेको छ । बयानपछि भोलि नै थुनछेक बहस हुने सम्भावना रहेको छ । त्यसपछि मात्र अदालतले धरौटीमा रिहा, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने (तीन) मध्ये कुनै एक आदेश दिन सक्नेछ ।

न्यायाधीश हेमन्त रावलको इजालशमा मुद्दा पेश भएको छ । बहस लम्बिने सम्भावना भएकाले आजै प्रारम्भिक आदेश आउन नसक्ने पनि बताइएको छ ।

गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।

Related Articles

Back to top button