Friday, February 21

पाँचवटा बिहे गरेर पनि छोराछोरी नभएपछि ८२ वर्षीय वृद्ध सम्मानित

January 14, 2020 239

पाँचवटा श्रीमती बिहे गरेर पनि छोराछोरी नभएपछि विरक्तिएर घर छोडी भारत गएका नलगाड नगरपालिका–३ का ८२ वर्षीय दलबहादुर बुढा अहिले वृद्धाश्रममा बस्दै आउनुभएको छ ।

उहाँको साथमा अहिले श्रीमती र आफन्त नभएकाले विगत सात वर्षदेखि वृद्धाश्रममा बस्दै आएको बताउँदै उहाँले भन्नुभयो, “मेरो सम्पत्ति खाने भाइका छोरा अहिलेसम्म भेट्न आएका छैनन्, न त अन्य कोही आफन्त मेरोबारेमा कहाँ छ, के गर्छ भन्ने चासो नै देखाउँछन् ।”

भाइका छोरालाई आफ्नो छोरा सम्झी आफ्नो नामको सम्पत्ति सबै दिएको भन्दै उहाँले थप्नुभयो, “मेरो नाममा आउने वृद्धभत्ता कैना गएर बुझी ल्याएर गाउँका चन्द्रबहादुर बुढालाई राख्न दिएको छु, मर्दाखेरी कत्रो किन्ने पैसा जम्मा गरेर राखेको छु, आफन्तले हेर्दैनन् के गर्नु ।”

भेरी नगरपालिका–१ डिगाका ७५ वर्षीय कुमार थापा उहाँका दैनिक कुरा मिल्ने साथी हुनुहुन्छ । आफ्नो उमेर मिल्ने धेरै भए पनि मन मिल्ने थोरै भएको उहाँको भनाइ छ ।

मन मिल्ने साथीहरु दैनिक कुरा गरेर, बारी गोडमेल गरेर दैनिक समय बिताउने गरेको उहाँको भनाइ छ । आफूजस्तै दैनिक ७० भन्दा बढी वृद्ध वृद्धाश्रममा आएर दुःखसुखका कुरा बाँड्ने काम हुँदै आएको छ । दुःखसुखका कुरा बाँड्दा मन हलुको हुने गरेको कुमार थापाले बताउनुभयो ।

आफन्तसँग कुरा नभए पनि वृद्धाश्रममा भएका आफ्नै उमेरका साथीहरुसँग गफ गरेर चित्त बुझाउने गरेका थापाको भनाइ छ । आफूजस्तै जिल्लाभरि धेरै वृद्ध भए पनि सबैले राम्रो व्यवहार नपाएको भन्दै थापाले चित्त दुखाउनुभयो ।

उहाँले भन्नुभयो, “उमेर छउञ्जेल सबैले काम लिनका लागि माया गर्दा रहेछन्, आजभोलि उमेर गयो, वृद्ध भयौँ, काम गर्न सकिँदैन, सबैले हेला गर्न थाले ।”

आज जाजरकोट सदरमुकाममा स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखामा सदरमुकाममा उपलब्ध ७० भन्दा बढी वृद्धलाई वृद्धाश्रममै जम्मा गरेर सम्मान गरेपछि सबैका आँखामा खुशीका आँशु देखिन्थे । ‘कोही नहुनेको भगवान् हुन्छन् भन्थे, हो रहेछ’ भन्दै सबैले एकै स्वरमा स्वास्थ्य कार्यालयबाट आएर सम्मान गरेकामा खुशी प्रकट गरे ।

भेरी नगरपालिका–४ का रतिवान बुढाले भन्नुभयो, “हामीलाई बिहान एकै पटक वृद्धाश्रममा आएर हजुरहरुलाई माया, सम्मान र औषधि गर्नु छ भन्दै अस्पतालका अध्यक्ष धर्मशीला बस्नेत छोरीले भनिन्, साथमा डाक्टरसाब आउनुभएको रहेछ, हाम्रा कुरा सुन्न प्रदेशका माननीय करवीर शाहीसमेत आएका रहेछन् ।”

स्वास्थ्य सेवा कार्यालयको सबै टिम र प्रदेशसभा सदस्यको सहभागितामा सम्मान तथा औषधिसमेत उपलब्ध गराएपछि महिना, महिनामा आएर स्वास्थ्य अवस्था बुझ्न वृद्धहरूले सबैलाई आग्रहसमेत गरेका थिए ।

जिल्लाका सबै ठाउँमा रहेका वृद्धलाई सम्मान, माया गरी भगवान्को आशीर्वाद पाउनसमेत ज्येष्ठ नागरिकले आग्रह गरेका थिए । स्वास्थ्य सेवा कार्यालयले अहिले पनि प्रत्येक महिना निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ ।

जिल्लाका सबै वृद्धलाई यसरी नै औषधि गरेर एक दिन भए पनि थप संसार देख्ने वातावरण बनाउन ज्येष्ठ नागरिकको अनुरोध छ । जिल्लाका सबै स्थानीय तहले ज्येष्ठ नागरिकको कुरा सुन्नुपर्ने कुरामा समेत उनीहरुले जोड दिएका थिए । रासस

Loading...

प्रतिकृया दिनुहोस्