समाचार

महन्थ ठाकुरसँग श्यामशरणको ‘गोप्य’ भेटपछि जनता समाजवादी पार्टी नयाँ नक्साको विपक्षमा

काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत एवं पूर्वभारतीय विदेश सचिव श्यामशरण काठमाडौं आएको विषयले मंगलबार दिनभर नेपालको राजनीति तरंगित बन्यो । सत्तारुढ नेकपा निकटबाटै श्यामशरण काठमाडौंको मेरियट होटलमा बसेको सूचना चुहिएपछि उनले क–कसलाई भेटे भन्ने विषयप्रति धेरैको चासो छ ।

यस्तो कडा लकडाउनका बेला पनि श्यामशरण कसरी काठमाडौं आउन सक्छन् भन्ने प्रश्न पनि धेरै उठे । भारतीय दूतावासकै कर्मचारी श्यामशरण काठमाडौंमा आएको भन्ने विषयमा अनभिज्ञ थिए । स्रोतका अनु्सार भारतले नेपालबाट चार दिनअघि १६४ जना आफ्ना नागरिक लैजान विमान काठमाडौं पठाएको थियो । सोही विमानमा श्यामशरण आएको बताइन्छ । काठमाडौं आइपुगेका श्यामशरण होटल मेरियटमा बसेको र जनता समाजवादी पार्टीका संयोजक महन्थ ठाकुरलाई भेटेका थिए । उनी मंगलबार अपराह्न ५ बजेर ४५ मिनेटमा मुम्बई उडेको विमानबाट भारत फर्केको स्रोतले बतायो ।

स्रोतका अनुसार श्यामशरणले नयाँ नक्साको पक्षमा संविधान संशोधनमा मतदान नगर्न महन्थलाई सुझाएका थिए । श्यामशरणमार्फत भारतको त्यस्तो चाहना रहेको बुझेपछि ठाकुरले ठोस जवाफ नदिएको उनी निकट जनता समाजवादी पार्टीका एक नेताले बताए । अहिलेसम्म जनता समाजवादी पार्टीले नयाँ नक्साको बारेमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छैन । उच्च स्रोतका अनुसार जसपाका नेता डा.बाबुराम भट्टराईकै दबाबका कारण पार्टीले अहिलेसम्म आधिकारिक धारणा बाहिर नल्याएको हो ।

बाबुरामको चलखेलपछि जसपाका नेता राजेन्द्र महतो पनि अन्योलमा परेका छन् । तत्कालीन एमाले तथा वर्तमान प्रधानमन्त्री केपी ओलीकै निगाहमा महतो सांसद निर्वाचित हुन सफल भएका थिए । उनको ओलीसँग हार्दिक सम्बन्ध छ । तर, नयाँ नक्साको विषयले सम्बन्ध बिग्रिने परिस्थिति सिर्जना भएको छ । ‘हामी नयाँ नक्साकै पक्षमा उभिनु पर्छ, नत्र बर्बाद हुन्छ । बाबुरामजी मानिरहनु भएको छैन,’ महतोको भनाइ उद्धृत गर्दै जसपाका एक नेताले भने ।

नयाँ नक्सा र संविधान संशोधनको विषयमा छलफल गर्न भन्दै मंगलबार प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा प्रधानमन्त्रीको प्रस्ताव सर्वसम्मत पारित भएन । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकले पारित गर्ने जानकारी दिए ।

जसपाका नेता बाबुराम भट्टराई प्याकेजमै सहमति गरी सर्वसम्मत संविधान संशोधन हुनुपर्ने विचार राखेका थिए । त्यसमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सहमति जनाएको बुझिएको छ । प्रधानमन्त्री ओलीले आफूविरुद्ध विभिन्न षड्यन्त्र भएको र भारत विरोधी देखाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

Related Articles

Back to top button
Close