स्वास्थ्य/ जिबनशैली

लकडाउन खोलेर यसरी जनजीवन सुरक्षित बनाउँ – डा. रवीन्द्र पाण्डे

काठमाडौं- जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले लकडाउनको विकल्प खोज्दै जनजीवन सुरक्षित बनाउनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लकडाउनलेमात्र समस्या समाधान नहुने भन्दै जनस्वास्थ्य सुरक्षित बनाउने उपाय अबलम्बन गर्नुपर्ने बताएका छन् ।

उनले अहिलेको लकडाउनलाई परिवार नियोजनको प्रभावकारी उपाय ‘एब्स्टिनेन्स’ सँग तुलना गरेका छन् ।

कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘एब्स्टिनेन्स’ हो । अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने । यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स’ हो ।

यो प्रभावकारी छ तर लामो समयको लागि सम्भव छैन । जसरी परिवार नियोजनका प्राकृतिक बिधि तथा अस्थायी साधन अनेक छन् । त्यसैगरि कोरोना संक्रमण नियोजन गर्न थुप्रै उपाय छन् । कोरोना बिरुद्धको खोपलाई संक्रमण नियोजनको स्थायी उपाय अर्थात भ्यासेक्टोमी, ल्यापेरेस्कोपी ( ट्युबल लिगेसन ) को रुपमा बिम्ब दिन सकिन्छ ।

विश्वब्यापी महामारीको रुपमा बिगत ५ महिनादेखि संसारलाई ठप्प पारेको कोरोना संक्रमणबाट नेपाल अछुतो रहने सबाल थिएन । विश्वग्रामको यो युगमा अन्य देशको अवस्था देखेर हामी यति भयातुर भयौं कि दोस्रो केस देखिने बित्तिकै हामीले लकडाउन गर्यौं । निश्चय नै त्यो लकडाउनको कारण कोरोना भाइरस हवाइजहाज चढेर नेपाल आउन पाएन, आएको भएपनि घरभित्र थुनिंदा निसास्सिएर मर्यो, त्यो निर्जीव भाइरस । लकडाउनको कारण प्रचार भयो, प्रसार हुन पाएन ।

भारतसँग खुला सीमानाको कारण सुरुमा भारतीय नागरिकमा देखिएको कोरोना संक्रमण पछि गएर सीमानामा प्रेसर बढेपछि ह्वारह्वार्ती भित्रिन थाल्यो । यो क्रम बढिरहेको छ, अझै बढ्नेछ ।

संसारका जल, थल तथा नभमा रहेका पृथ्वी ध्वस्त गर्ने क्षमता रहेका हतियार एबम कमाण्डोहरू अहिले आँखाले देख्न नसक्ने नाथे भाइरससँग माघको जाडोमा जस्तै थुरथुर कामिरहेका छन् । लाखौँ व्यक्तिको निधन भएको छ भने विश्व अर्थतन्त्र धरासायी भएको छ, बीसौं करोड नागरिकको रोजगारी गुमेको छ ।

नेपालमा लकडाउन भएको २ महिना नाघिसकेको छ । लकडाउनको उपलक्ष्यमा सुरुसुरुमा देखिएका भोज र मोज अहिले चिन्ता र सोंचमा परिवर्तन भएका छन् । सम्भ्रान्त वर्गको ब्यबसाय चौपट भएर हात उठाउने स्थितिमा पुगेका छन् । मध्यम वर्गका व्यक्तिहरु न मागेर खान सकेका छन्, न कमाएको बाँकी रहेको छ भने निम्न आय भएका व्यक्तिहरु रोगले भन्दा भोकले मर्ने चिन्तामा आधा पेट खाएर प्राण धानेका छन् ।

विकसित तथा सामाजिक सुरक्षाको राम्रो प्रबन्ध भएका देशहरुले सबै वर्गलाई आआफ्नो क्षति न्यून गर्न ठोस राहतको ब्यबस्था गरेका छन् । तर हामीकहाँ राहतको नाममा कतै दाल / चामल वितरण गरिएको छ भने कतै एउटा चाउचाउ र २ वटा मास्क । मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन । तर मास्कले भोक रोक्न सक्दो रहेनछ ।

कोरोना संक्रमणको आयु लामो समय भएको बिभिन्न अध्ययनले बताएका छन् । संसारमा फैलिएका भाइरल रोगहरु जस्तै एचाइभी / एड्स, स्वाइन फ्लु, बर्ड फ्लु आदिको ठोस औषधि वा खोप अहिलेसम्म आएको छैन । एचाइभी / एड्सको उमेर ४० बर्ष पुगेको हामीलाई अवगत नै छ, अन्य भाइरल रोग पनि कम उमेरका छैनन् ।

अहिले कोरोना भाइरसमा चलाइएक औषधि ‘ घ्युको अड्को तेलको धुप ‘ मात्र हुन् । बिज्ञान रन्थनिएर कहिले मलेरियाको औषधिको शरणमा पुगेको छ त कहिले इबोलाको औषधिको शरणमा । कहिले जापानी इन्फ्लुएन्जाको शरणमा पुगेको छ त कहिले सार्स/ मर्स रोगका दवाइको शरणमा ।

त्यति मात्र हैन गाँजा, तितेपाती, गुर्जो, बेसार, मुलेठीदेखि जुम्राको औषधि आइभरमेक्टिनसम्म बिज्ञान दौडिरहेको छ । खोप निर्माणको लागि संसारका १०० भन्दा धेरै प्रयोगशालामा तालु खुइलेहरु ‘ ट्रयाल एण्ड इरर ‘ मा पसिना निकालिरहेका छन् । कोरोना संक्रमण बिरुद्धको खोप कहिले आउँछ ? हामीले कहिले पाउँछौ ? यी प्रश्नको उत्तर पाउन १-२ बर्ष वा अझै बढी लाग्न सक्छ ।

रोग वा खोप ७० % भन्दा धेरै जनसंख्यामा फैलिएर बाँकी ३० % जनसंख्यालाई हर्ड इम्युनिटी हुने परिकल्पनामा पुग्न हामीले लामो र खतरनाक बाटो हिंड्नुपर्ने हुनसक्छ । तसर्थ अबको हाम्रो बाटो भनेको यो भाइरसलाई छल्दै हाम्रो जनजीवन सहज बनाउने हो ।

कसैले कोरोना संक्रमणलाई फ्लु अर्थात रुघाखोकीसँग तुलना गरेका छन् भने हाम्रो समाजमा कोरोना संक्रमण भयो भने मरिहालिन्छ भन्ने भ्रम रहेको छ । यी दुवै अतिबादी सोंचाई हुन् ।

सामान्य रुघाखोकी लागेको १ जना व्यक्तिले औसत १.३ जनालाई फ्लु सार्न सक्छ भने कोरोना संक्रमित १ जनाले औसत ३ जनालाई रोग सर्न सक्छ । १ जनाले १.३ जनालाई, १.३ जनाले अर्को १.३ जनालाई गर्दै १० पटक यो चक्र पुग्दा १४ जनामा फ्लु सर्छ भने कोरोना संक्रमण १ जनाले ३ जना, ३ जनाले ९ जना, ९ जनाले २७ जना हुँदै १० पटक यो चक्र घुम्दा ५९ हजार ४९ जनालाई कोरोना संक्रमण सर्न सक्छ । तसर्थ हामी सबै गम्भीर भएर यो भाइरसको गुणन तोड्न सजग हुनु जरुरी छ ।

नेपालको परिप्रेक्ष्यमा संक्रमितको संख्या बढिरहेको, छिमेकी भारतमा जुन – जुलाईमा दशौँ लाख संक्रमित हुनसक्ने अनुमान गरिएको, सीमानामा बैज्ञानिक ढंगले परीक्षण तथा क्वारेन्टाइनको ब्यबस्था नगरिएको तथा लाखौँ नेपालीहरु असुरक्षित तरिकाले आफ्नो थातथलोमा जाने क्रम बढिरहेको हुनाले आगामी ३ महिनामा नेपालमा संक्रमितको संख्या ३० हजारसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।

यी अवस्थाको बाबजुद हामीले लकडाउन गरेर घरमा बस्ने क्षमता हामीसँग छैन । अबको बिकल्प भनेको सुरक्षा र रोकथामका उपाय अपनाएर आफ्नो काम गर्ने नै हो । ६ फिटको व्यक्तिगत दुरी, मास्क / चस्मा / पञ्जा / आउटर ड्रेसको प्रयोग, साबुनपानीले हात धोइरहने तथा भीडभाडमा नजाने नै हो ।

जनजीवन सुरक्षित र सहज बनाउन तलका उपाय अबलम्बन गर्नु जरुरी छ ।

– बिना काम घर बाहिर नजाने ।

– घरबाहिर जाँदा सहि तरिकाले मास्कको प्रयोग गर्ने, चस्मा लगाउने, सकभर पञ्जा पनि लगाउने । विन्ड चिटर, पातलो ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने ।

– बाटोमा, कार्यस्थलमा वा पसलमा ६ फिटको दुरी कायम गर्ने । यो प्रमुख उपाय हो ।

– नाक, मुख, आँखा तथा अनुहारमा नछुने । छुन परेमा साबुनपानीले मिचिमिची हात धुने । झोलामा ह्याण्ड स्यानिटाइजर राख्ने । बाटोमा वा साबुनपानी नभएको ठाउँमा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने ।

– सकभर रेलिंग, टेबल वा अन्य ठाउँ नछुने ।

– भीडभाडमा नजाने ।

– तरकारी बजार तथा डिपार्टमेन्टल स्टोरमा भीडभाड हुने भएकोले स्थानीय किराना पसल / तरकारी पसलबाट किन्ने बानी गर्ने ।

– कार्यस्थल जाँदा खाजा तथा पानी आफैले लिएर जाने ।

– रुघाखोकी तथा ज्वरो आएका व्यक्ति घरमै बस्ने । घरका सदस्यसँग पनि दुरी कायम गरेर बस्ने । गाह्रो भएमा मात्र स्वास्थ्य संस्थामा जाने ।

– सिनेमा हल, स्विमिंग पुल, जिम, नाइट क्लब, रंगशाला लगायतका भीडभाड हुने ठाउँ केहि महिना बन्द गर्ने ।

– रेस्टुरेन्टलाई पटकपटक संक्रमणरहित बनाएर, सामाजिक दुरी कायम गरेर तथा स्टाफलाई होटेलमा लगाउने PPE को ब्यबस्था गरेर संचालन गर्ने ।

– निर्माण कार्यमा धेरै कामदारको रोजगारी गाँसिएकोले भौतिक दुरी कायम गरेर सुचारु गर्ने ।

– खाली भएका पार्टी प्यालेस, सार्वजनिक भवन तथा खेलकुद स्थानलाई भाडामा लिएर त्यहाँ मजदुर बस्ने ब्यबस्था मिलाउने । उनीहरुलाई बसमार्फत कलकारखानामा पुर्याएर उद्योग संचालन गर्ने । सम्भव भए उद्योगमा आबासीय ब्यबस्था मिलाउने । भौतिक दुरी कायम गर्ने । मास्क अनिबार्य गर्ने ।

– बैंक, मालपोत, कर कार्यालय, बिद्युत कार्यालय, दुर संचार लगायत धेरै आवतजावत हुने कार्यालय बिहान र अपरान्ह गरेर २ सिफ्टमा चलाउने । फोन वा अनलाइनबाट पालो नम्बर र समय लिएर त्यहि समयमा जाने ब्यबस्था मिलाउने ।

– यातायातका साधनलाई जोर / बिजोर प्रणाली लागु गर्ने ।

– सार्वजनिक यातायातलाई हरेक पटक धोएर संक्रमणरहित बनाउने, बस स्टाफ तथा यात्रुले मास्क,चस्मा तथा पञ्जा लगाउने, बसमा कम्तीमा १ मिटरको दुरी कायम हुनेगरि प्यासेन्जर राख्ने ।

– संक्रमित क्षेत्र शिल गर्ने । ग्रीन जोनबाट लामो दुरीका बस सुरु गर्ने । यसो गर्दा माथि भनेका तरिका अपनाउने । बाटोमा खानको लागि खाना आफैले लिएर जाने वा खानाको प्याकेट किनेर भौतिक दुरी कायम गरेर खाने ।

– आन्तरिक हवाइजहाज ग्रिन जोनबाट चलाउने । प्लेनलाई प्रत्येक पटक संक्रमण रहित बनाउने । यात्रुलाई मास्क, पञ्जा, भाइजर तथा स्यनिटाइजरको ब्यबस्था गर्ने । लगेजलाई बाहिरबाट संक्रमणरहित बनाउने ।

– स्कुल भर्ना पैदल दुरीमा गर्ने ब्यबस्था मिलाउने । यो सम्भव नभए स्कुल बसलाई संक्रमणरहित बनाउने, भौतिक दुरी कायम गराउने, मास्क / चस्मा / पञ्जा / स्यानिटाइजर अनिबार्य गर्ने । एउटा सेसनमा ३० जना बिद्यार्थी हुन्छन् भने १५ जनालाई १ दिन र १५ जनालाई अर्को दिन छुट्टी दिएर भौतिक दुरी कायम गर्ने । कुनै बिध्यार्थिलाई रुघाखोकी लागेमा, ज्वरो आएमा घरमै बस्न लगाउने । बिद्यालयमा सौचालय थप्ने । सफा गरिरहने । साबुनपानी तथा स्प्रिट कपासको ब्यबस्था गर्ने । सामुहिक प्रार्थना नगर्ने । ५० % बिद्यार्थी आउँदा स्कुलको कोरिडोर, सौचालय तथा प्रांगणमा भिडभाड हुँदैन । स्कुलमा धेरै स्पेस भए अस्थायी संरचना बनाएर कक्षा कोठा थप्ने । कलेज पनि यसै गरि संचालन गर्ने ।

– क्वारेन्टाइनमा एकैपटक एउटा समुह राख्ने । त्यसमा नयाँ १ जना पनि नथप्ने । बीचमा नयाँ व्यक्ति थपेमा नयाँको संक्रमण अरुलाई सर्न सक्छ । क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मिको ब्यबस्था गर्ने ।

– सामान्य समस्यामा अस्पताल नजाने । अस्पतालबाट संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । ठूला केहि अस्पताललाई रुघाखोकी, ज्वरो तथा कोरोना अस्पतालको रुपमा बिकास गर्ने । त्यहाँ कोरोना संक्रमणको परीक्षण, उपचार, भर्ना, आइसीयु तथा भेन्टिलेटर लगायत सबै सुबिधाको ब्यबस्था गर्ने । अरु अस्पताललाई संक्रमित नबनाउन उच्च सतर्कता कायम गर्ने ।

– कोरोना संक्रमण पोजिटिभ देखिदैमा अस्पताल भर्ना नगर्ने । होम आइसोलेसन तथा होटेल आइसोलेसनको ब्यबस्था गर्ने । घरमा बाताबरण नभएमा सामुदायिक भवनमा आइसोलेसन केन्द्र बनाउने । संक्रमित मध्ये ९० प्रतिशतलाई सामान्य लक्षण देखिन्छ, नदेखिन पनि सक्छ ।

संक्रमितलाई ज्वरो, खोकी, पखाला आदि भएमा आफैले कुन कुन औषधि कति मात्रा र समयमा खाने भनेर सुचित गर्ने । संक्रमित मध्ये ९० प्रतिशत अस्पताल नजाने परिस्थिति निर्माण गर्न सकेमा अस्पतालमा भीडभाड हुँदैन । १० प्रतिशत गम्भीर बिरामीलाई कोरोना अस्पतालमा उपचार गर्ने ।

अस्पताल तथा स्वास्थ्यकर्मी संक्रमित हुने सम्भावना कम हुन्छ । अन्य रोगका बिरामीले सजिलोसँग उपचार पाउँछन् । अस्पतालमा भीड नहोस भन्नको लागि टेलिफोन वा इन्टरनेटबाट नाम लेखाउने, पालो र समय लिने अनि त्यहि समयमा अस्पताल जाने ब्यबस्था गर्ने ।

– यस्तो महामारीको बेलामा अस्पताल तथा स्वास्थ्यकर्मीलाई बचाएर राख्नु सरकार एबम नागरिकको दायित्व हो । तसर्थ अस्पतालमा भीड कम गर्ने, चिकित्सक / नर्स / अन्य स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई ७ दिन काम गर्ने, १४ दिन आफ्नो घरमा वा नजिकको होटेलमा बस्ने प्रबन्ध मिलाउने । यसो गर्दा धेरै स्वास्थ्यकर्मीलाई एकैपटक संक्रमण भएर अस्पताल बन्द गर्ने अवस्था आउंदैन ।

– एम्बुलेन्सलाई हरेक बिरामी बोक्नुपूर्व संक्रमणरहित बनाउने ।

– क्लिनिकको साटो टेलिमेडिसिनलाई प्रबर्धन गर्ने ।

– नीजि अस्पताललाई सरकारी अस्पताल सरह सेवाप्रभाव गर्ने अनिबार्य ब्यबस्था मिलाउने ।

– नीजि क्लिनिक, पोलिक्लिनिक तथा स्वास्थ्य संस्थामा भेन्टिलेसन, भौतिक दुरी, PPE, सरसफाई आदिको मापदण्ड बनाएर रिफर्म गर्ने ।

– फ्यान तथा एसिको कम प्रयोग गर्ने । अस्पताल, कार्यालय, रेस्टुरेन्ट तथा होटेलमा फ्यान तथा एसिको हावा मानिसको बिपरित दिशामा फ्याँक्ने ब्यबस्था मिलाउने ।

– समुहमा बस्ने, सँगै खाना खाने, सहकार्य गर्ने समुह जस्तै सेना, प्रहरी, स्वास्थ्यकर्मीलाई संक्रमण नहोस भनेर रणनीति बनाउने ।

– अन्य व्यापारिक पसल सुचारु गर्ने । ठूला स्टोरमा भौतिक दुरी र भित्र रहने अधिकतम छोंटो समय लागु गर्ने ।

– मन्दिर, गुम्बा, मस्जिद, चर्च तथा अन्य धार्मिक तथा सांस्कृतिक स्थानमा कडा रुपमा भौतिक दुरी लागु गराउने ।

– भोजभतेर बन्द गर्ने ।

– हिमाली जिल्लाको लकडाउन पूर्ण हटाउने ।

– अध्ययनको लागि सुरक्षित देशमा जान पाउने अवसरबाट बिद्यार्थीलाई बन्चित नगर्न राज्यले सहजीकरण गर्ने ।

– रेडियो, टेलिभिजन, पत्रिका आदि संचार माध्यमबाट सुरक्षा तथा रोकथामका प्रभावकारी कार्यक्रम, बिज्ञापन प्रचार / प्रसार गर्ने ।

– भोकमरी र भिखमरीबाट बच्नको लागि किसानलाई तुरुन्तै बिउ, मल, प्रबिधि, राहत, कृषिबिमा, बजारीकरण आदिको ब्यबस्था गर्ने । खेतीपाती गर्दा सामाजिक दुरी अपनाउन त्यति गाह्रो छैन ।

– हजारौं भ्यान, ट्रक आदिलाई कृषि एम्बुलेन्सको अनुमति दिएर गाउँगाउँमा उत्पादित अन्न, दल्हन, तरकारी, फलफुल, दुग्ध पदार्थ, अण्डा तथा पशुपंक्षीलाई बजारीकरण गर्ने ।

– विदेशमा रहेका नेपालीलाई परामर्श प्रदान गर्न जन स्वास्थ्य सहचारीको ब्यबस्था गर्ने । रोजगारी गुमेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने । संक्रमणरहित भएपछि आफ्नो थातथलोमा बिउ, मल तथा सहुलियत ऋण दिएर पुनर्स्थापित गर्ने ।

– यो २ बर्षको लागि अन्तराष्ट्रिय पर्यटन प्रबर्धन नगर्ने । आन्तरिक पर्यटनको लागि सुरक्षित रुपमा प्रबर्धन गर्ने ।

– राष्ट्रिय गौरबका आयोजना, हाइड्रोपावर निर्माण आदिलाई भौतिक दुरी सहित संचालन गर्ने ।

– स्वच्छ बाताबरणको लागि बायु प्रदुषण, धुलो आदि नियन्त्रण गर्ने । ब्यापक बृक्षारोपण गर्ने ।

– र्यापिड किट तथा रेमडेजेभिर लगायतका औषधि नेपालमा निर्माण / उत्पादन गर्न प्रोत्साहित गर्ने ।

– भारतबाट सामान सीमानासम्म ल्याउने तथा सीमानाबाट नेपालकै ट्रकमा भित्र्याउने, एकजना चालक र एक जना हेल्पर बाहेक अरु आउन नपाउने नियम कडाइका साथ लागु गर्ने ।

– संक्रमित भारतीयहरु नेपाल आउन पूर्णतया बन्देज लगाउनको लागि सीमा गस्ती थप प्रभावकारी बनाउने ।

– संक्रमितलाई घृणा गर्ने परिपाटी अन्त्य गर्न प्रभावकारी कार्यक्रम बनाएर प्रकाशन / प्रसारण गर्ने ।

यी उपायलाई ब्यापक प्रचार गर्ने, अनुगमन गर्ने, दण्ड तथा प्रोत्साहनको ब्यबस्था गर्ने र चरणबद्ध लागु गर्ने हो भने कोरोना संक्रमणलाई छल्दै हाम्रो जनजीवन सुचारु गर्न सकिन्छ ।

कोरोना भाइरसको घातक प्रभाव कम छ । एकजना व्यक्तिले धेरै व्यक्तिलाई सार्न सक्दैन । संक्रमितसँग छुंदैमा, छोंटो कुराकानी गर्दैमा, संक्रमित बसेको ठाउँमा बस्दैमा कोरोना संक्रमण सर्छ भन्ने छैन । सर्नको लागि भाइरसको संख्या र एक्सपोजर समय धेरै भएमा मात्र सर्न सक्छ ।

त्यस्तै सिंगापुरको नेसनल सेन्टर अफ इन्फेक्सियस डिजिज एण्ड एकेडेमी अफ मेडिसिनको संयुक्त अध्ययनले बताएको छ कि संक्रमण भएको ११ दिनसम्म रोग सार्न सक्ने क्षमता हुन्छ । १२ दिनपछि परीक्षणमा पोजिटिभ देखिए पनि रोग सार्न नसक्ने सो अनुसन्धानले बताएको छ । अनुहारतिर फर्केर खोकेमा, हाच्छ्युं गरेमा वा चिच्याएमा सर्ने सम्भावना धेरै हुन्छ ।

अन्यथा सर्ने सम्भावना कम हुन्छ । त्यस्तै वासिंगटन पोस्टले जनाए अनुसार खाध्य पदार्थ तथा सतहबाट रोग सर्ने सम्भावना निकै कम हुन्छ । वासिंगटन पोस्टले लेखेको छ, कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकोले भौतिक दुरी कायम गर्दा धेरै सुरक्षित भइन्छ । बिभिन्न निकायका अलग अलग उद्देश्य हुनसक्छ । तसर्थ भयानक र नकारात्मक सूचना आउंदैमा भयातुर हुनु जरुरी छैन । त्यस्तै संक्रमित र मृतकको संख्या बढ्दै जाँदा हामी डराउनु हुँदैन ।

विश्वभर यो संख्या बढिरहेको परिप्रेक्ष्यमा हामी पनि मानसिक रुपमा तयार हुनुपर्दछ । हामीले उच्च स्तरको सुरक्षा अभ्यास गर्यौं भने कोरोना भाइरससँगै आफ्नो जीवनचर्या संचालन गर्न सक्छौं । रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि हाम्रो आहार, बिहार, आचार र ब्यबहार स्वस्थ हुनु जरुरी छ । सरकारले PCR परीक्षणको दायरा बढाएर संक्रमितलाई चामलमा बियाँ खोजेझैँ खोज्ने, आइसोलेसनमा राख्ने र गुणस्तरीय उपचार गर्ने काम निरन्तर अघिं बढाउनुपर्दछ ।

अब आफै भन्नुहोस् खोप नआउने बेलासम्म परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ बिधि अपनाउने कि अस्थायी साधन तथा उपाय अबलम्बन गर्ने ?

Related Articles

Back to top button
Close