भिडियो

एक रुपैयाँ किलोमा दिँदा पनि बन्दा बिकेन, किसान पेसाबाटै पलायन हुने स्थितिमा (भिडियो)

गृष्मा राजभण्डारी र भरत केसी (इमेज)

खानीखोला (धादिङ), जेठ १३ । प्रधानमन्त्रीले ‘राष्ट्रका नाममा’ सम्बोधन गर्नेक्रममा कृषिमा आत्मनिर्भर हुने र स्थानीय किसानले उत्पादन गरेको तरकारीको निर्यात तीव्र पार्ने बताइरहँदा देशका अधिकांश किसानहरु आफूले उत्पादन गरेको तरकारी खेर फाल्न बाध्य छन् ।

काठमाडौंबाट करिब २५ किलोमिटरको दूरीमा रहेको धादिङको खानीखोलामा हाम्रो टोली पुग्दा कृषकले लगाएको अधिकांश तरकारी बारीमा नै खेर गएको देखियो ।

एक रुपैयाँ किलोमा दिँदा पनि बन्दा किन्ने ग्राहक नहुँदा त्यतिकै खेर गएको छ ।

आफ्नो बारीमा फलेको सिमी टिपेर डोको र बोराभरि राखेर टुलुटुलु हेर्नबाहेक उनीहरुसँग अरु उपाय नै छैन ।

‘लकडाउन’को अवधिमा उनीहरुको मेहनत त खेर गयो नै, मलको भाउसमेत उठ्ने स्थिति नबनेपछि प्रधानमन्त्रीको भनाइलाई मान्न किसानहरु तयार छैनन् ।

ऋण लिएर वा आफ्नै जग्गामा खेतीपाती गर्दै आएका किसानहरुले उत्पादन गरेको तरकारी खेर गएपछि पेसा नै छोड्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।

काठमाडौंको कालीमाटी तरकारी बजारमा बिचौलियामार्फत् तरकारी बिक्री गर्दै आएका किसानहरु बिचौलियाले ‘तरकारी बिक्री भएन’ भनी पैसा नै नदिने गरेको गुनासो गरेका छन् ।

आफूले उत्पादन गरेको तरकारीको भाउ नै नपाएपछि केही कृषकले दैनिक छ घन्टा हिँडेर आफ्नो उत्पादन काठमाडौंसम्म पुर्‍याएर बिक्री गर्ने गरेका छन् ।

किसानबाट दुई रुपैयाँ किलोमा किनेको सिमी काठमाडौंमा २५ रुपैयाँमा बिक्री भइरहेको छ ।

उपभोक्ताहरु सस्तोमा तरकारी खान पाउँदा केही खुसीजस्तो देखिएपनि किसानहरु लागत नै उठाउन नसकेर पेसाबाटै पलायन हुने स्थितिमा पुगेका छन् ।

बारीबाटै गाउँपालिका र नगरपालिकाले बिक्री गर्ने व्यवस्था मिलाइदिए किसानको पीडा केही हदसम्म कम हुन्थ्यो कि !

भिडियो हेर्नुहोस्

Related Articles

Back to top button
Close