समाचार

हत्या आशंकामा गाडेको ठाउँबाट निकालियो किशोरीको शव

नवलपरासी, जेठ १३ । हत्या भएको आशंकामा प्रहरीले एक किशोरीको शव गाडेको ठाउँबाट निकालेको छ ।
पश्चिम नवलपरासी, सुस्ता गाउँपालिका–३, रेवा गाउँकी १४ वर्षीया किशोरी धनेश्वरी बिकको शव प्रहरीले मंगलबार दिउँसो गाडेको ठाउँबाट निकालेको हो ।

स्थानीयहरुले हत्या गरेर किशोरीलाई गाडेको हुनसक्ने आंशका गरेपछि प्रहरीले शवलाई निकालेको हो ।
शवको प्रकृति हेर्दा शंकास्पद देखिएकाले चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा अनुसन्धान गर्न मृतकका बाबु लक्ष्मण, आमा, दाजु र शव गाड्न पुगेका अर्का छिमेकीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए
मृतकको टाउकोमा चोट देखिएकाले घटना शंकास्पद देखिएको थापाले जानकारी दिए ।

मृतक किशोरीको शव ‘पोस्टमार्टम’का लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close