समाचार

शिला भन्छिन् : ‘ संक्रमित भएर के भाे , नर्स हुँ सँगैका संक्रमितकाे पनि सेवा गर्छु ’

काठमाडौं। कोसी (कोभिड १९) अस्पतालमा हाल ३५ जना कोरोना भाइरस संक्रमित उपचार भइरहेको छ । तीमध्य धनकुटा अस्पतालका २ नर्स सहित ७ जना स्वास्थ्यकर्मीको पनि उपचाररत छन्।
जेठ ४ गते गरिएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका क्रममा एकजना नर्समा पनि कोरोना संक्रमण देखियो। धनकुटा अस्पतालमा कार्यरत ती नर्समा कोरोना देखिएकै भोलिपल्ट अर्थात ५ गते गरिएको स्वाब परीक्षणमा अस्पतालका कर्मचारी र अन्य एक गरी ७ जनामा कोरोना पोजेटिभ देखियो।
कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमित सबै नर्सको सम्पर्कमा आएका व्यक्तिहरू रहेको पुष्टि भयो। यतिबेला सबै संक्रमितको उपचारमै संक्रमित नर्स नै तल्लिन छन्।
संक्रमण कसरी देखियो थाहा छैन
स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको समाचार जताजतै फैलिएको थियो। कोरोनाको आशंकामा नर्स शिला सुब्बाले परीक्षण गरिन्। जेठ २ मा स्वाब लिइयो, दुई दिनपछि रिपोर्ट आयो। तर, रिपोर्ट सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन्। कोरोना संक्रमण कसरी देखियो भन्ने आफू अनविज्ञ रहेको सुब्बा बताउँछिन्।
‘हामी जति पनि संक्रमित रहेका छौं। जिल्ला बाहिर गएको कुनै ट्राभल हिस्ट्री पनि रहेको छैन,’ सुब्बाले भनिन्, ‘अस्पतालमा ड्युटी गर्ने र क्वाटरमा बस्ने दिनचर्या रहेको थियो।’
उनी धनकुटा अस्पतालको बहिरंगकी विभाग इन्चार्ज समेत हुन्। संक्रमण देखिपछि सुब्बा आइसोलेसन रहिन्। उनीसँग सम्पर्कमा आएका सबैको परीक्षण गरियो। परीक्षण गर्दा उनी सँगै काम गर्ने एक नर्स, आकस्मिक कक्षका दुई स्टाफ, २ सुरक्षाकर्मी र एक स्टाफको श्रीमान्मा कोरोना संक्रमण भएको पुष्टि भयो।
बहिरंगको विभाग इन्चार्ज सम्हालेकी सुब्बाको ड्युटी १०–५ थियो। बहिरंग विभाबाट दिने सेवाको व्यवस्थापनमा उनी बढी सक्रिय हुन्थिन्। बिरामीको हेरचाह, प्रसूति, गर्भपतन, शल्यक्रिया जस्ता सेवामा प्रत्यक्ष संलग्न हुँदै आएको उनले बताइन्।
मोरङ घर भएकी सुब्बा १४ वर्षदेखि नर्सिङ पेसामा आवद्ध छन्। उनका श्रीमान् इन्द्रपुर हेल्थपोस्टमा कार्यरत छन्। ‘सातवर्षे सानो छोरा मसँगै बसेको छ। तर, उसलाई कोरोना संक्रमण देखिएको छैन। त्यो राम्रो पक्ष हो,’ उनी भन्छिन्।
उनी संक्रमित भएर पनि अन्य संक्रमितको हेरचाहमा खटिरहेकी छन्। नर्स सुब्बा वैशाख ५ देखि कोसी (कोभिड–१९) अस्पतालको आइसोलेसन वार्डमा रहेकी छन्। आफू संक्रमित भए पनि अन्य संक्रमितको हेरचाहमा तल्लीन रहनुमा उनलाई गर्व छ।
‘नर्सिङ पेसा अँगालेको कारण मेरो कर्तव्य बिरामीलाई सेवा दिनु नै हुन्छ,’ उनले सुनाइन्, ‘हामीले आफूले अरु संक्रमितलाई भित्रबाट दिनसक्ने सेवा दिइरहेका हुन्छौं।’
अस्पतालमा रहेका प्रायजसो सबै संक्रमितको अवस्था सामान्य नै छ। तर, एकजनाको स्वास्थ्य अवस्थामा केही समस्या आएको सुब्बाले बताइन्।
‘संक्रमितलाई निमोनियाको समस्या देखिएको छ। उसलाई समयमा औषधी दिने, सुईं दिने लगायतका हेरचाह सबै गर्ने गरेका छौं। आफ्नो कर्तव्यबाट टाढा हुन पनि भएन नि।’
संक्रमितको सम्पर्कमा आउने मानिसलाई संक्रमण हुने जोखिम धेरै हुन्छ। अस्पतालका स्वास्थ्यकर्मीलाई थप जोखिम नहोस् भन्नका लागि सकेसम्म र मिल्ने सेवा भित्रबाट आफूहरूले दिने गरेको नर्स सुब्बाको भनाइ छ।
‘हामी त संक्रमित छाैं। अरु स्वास्थ्यकर्मीलाई किन थप जोखिममा पार्ने,’ उनी भन्छिन्, ‘बिरामीको अवस्था हेरेर डाक्टर तथा अरु नर्स साथीसँग समन्वय गरिरहेका हुन्छाैं।’
उनी बिरामीको हेरचाह मात्र गर्दिनन्। संक्रमितको मनोबल उच्च राख्नका लागि हौसला पनि दिँदै आएकी छन्। संक्रमितलाई एक्लोपन महसुस नहोस् भनेर दैनिक तालिका व्यवस्थापन गर्दै आएको उनले सुनाइन्। ‘धेरै संक्रमित डराएर आउनुभएको हुन्छ,’ उनले भनिन्, ‘हामीले उहाँहरूलाई हौसला दिएर मनोबल उच्च राख्ने काम गर्दै आएका छौं।’
अस्पताल व्यवस्थापन धेरै राम्रो
कोसी (कोभिड–१९) अस्पतालले संक्रमितको हेरचाहका लागि राम्रो व्यवस्थापन गर्दै आएका छ। संक्रमितलाई समय–समयमा खानाको व्यवस्था गर्ने गरेको छ।
‘खाना–खाजामा पौष्टिक आहारको व्यवस्था छ,’ सुब्बाले भनिन्, ‘हाम्रा स–साना आवश्यकता पनि अस्पताल व्यवस्थापनले पूरा गरिदिएको छ।’
संक्रमितलाई हेर्ने नजर बदलियोस्
कोरोना भाइरसको संक्रमणले कसैलाई पनि नछाड्ने हुँदा सबैले सावधानी अपनाउनुपर्ने सुब्बाको भनाइ छ। तर संक्रमितलाई अझै पनि समाजले हेर्ने दृष्टिकोण फरकमा उनको चित्तदुखाइ छ।
उनी भन्छिन्, ‘भाइरस आफैंले सारेको हुँदैनन्। यसमा संक्रमितको दोष के हुन्छ र? संक्रमित व्यक्ति रोगी त हुँदैनन्, केही समयपछि उनीहरू पनि सामान्य मानिसजस्तै हुन्छन्।’ समाजले स्वास्थ्यकर्मी तथा संक्रमितलाई हेर्ने भावना राम्रो हुन सकेमात्र यो महामारीलाई जित्न सकिने उनको बुझाइ छ।
हेल्थपोस्टनेपालबाट

Related Articles

Back to top button
Close