समाचार

काठमाडौँमा डेरावाललाई संक्रमण, “हामीलाई कसैले सोधखोजै गरेन” : घरबेटी

काठमाडौँ – काठमाडौँको कलंकी डेरा गरी बस्ने एक दम्पत्ति वैशाख २९ गते नवलपरासीबाट काठमाडौं आए। डेरामा आएपछि उनीहरूले घरबेटीलाई भने, ‘काठमाडौंमा मात्रै अनावश्यक त्रास रहेछ।’

लकडाउनमा काठमाडौं भित्रिन निषेध छ। तर ती दम्पत्ति सरकारी पास लिएर काठमाडौं आएका थिए।

‘उनीहरू आफैं सचेत छन्,’ सोचर शिक्षण पेसा अपनाउने घरबेटीले त्यति चासो दिएनन्। तर कोरोना त्रासबीच उनको मनमा शंका परिरह्यो। मन विचलित भइरहेपछि केही दिनअघि उनले ती दम्पत्तिलाई गएर परीक्षण गराउन भने।

दम्पत्ति टेकु अस्पताल पुगेर पिसिआर परीक्षण गराए। श्रीमतीको कोरोना पोजेटिभ देखियो। श्रीमानमा देखिएन।

‘उहाँहरू आफैं सचेत मान्छे। जचाउनु हुन्छ होला भन्ठानेँ। केही नभएपछि मैले ४ गते आफैं गएर जाँच्नु न भनेँ,’ घरबेटीले सेतोपाटीसँग फोन वार्ता गर्दै भने, ‘६ गते साँझ आएको रिपोर्टमा बहिनीलाई पोजेटिभ देखियो। उहाँलाई त्यही रात बलम्बु आइसोलेसनमा पठायौं। त्यति बेलासम्म हामी ८ दिन एउटै घरमा बसेका थियौं।’

कन्ट्याक्ट ट्रेसिङ अनुसार संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पनि परीक्षण गर्नुपर्ने हो। ट्रेसिङकै आधारमा देशका विभिन्न क्षेत्र सिल गरिएको छ। तर काठमाडौं महानगरपालिका-१४ वडास्थित उनको घरमा संक्रमित भेटिएको दुई दिन बित्दासम्म न प्रहरी पुगेको छ, न स्वास्थ्यकर्मीको कुनै टोली। न कोही जनप्रतिनिधि आएर उनीहरूलाई सान्त्वना नै दिएका छन्।

बुधबार बिहानैदेखि घरबेटीले विभिन्न निकायमा आफ्नो घरमा भएको विवरण सुनाइरहेका छन्। तर कुनै पनि निकायले तत्परता नदेखाएको उनले गुनासो गरे। उक्त घरमा करिब १० जना बस्छन्। डेरावाल एक जनामा कोरोना देखिएपछि सबै जना अलमल परेका छन्।

‘बिरामीसँग एउटै घरमा बस्दा पनि हामीलाई अहिलेसम्म कुनै परीक्षण भएको छैन। कसैले खोजखबर समेत गरेको छैन,’ घरबेटीले सेतोपाटीसँग भने, ‘आफैंले वडादेखि सांसद, मन्त्रालयको हटलाइन, स्वास्थ्य मन्त्रालय गुहार्दा पनि चासो दिइएको छैन। प्रहरीलाई पनि खबर गरियो। कालिमाटी प्रहरी चौकी नै सिल गरिएको छ अरे, हाम्रो लागि को आउने।’

संक्रमितको माइती भनिएको नवलपरासीमा भने बुधबार परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी घरबेटीले पनि पाएका छन्। नेगेटिभ देखिएका श्रीमान यहीँ कलंकीको कोठामै छन्। उनको खानपिनको व्यवस्था घरबेटीले नै गरिरहेका छन्। जुन घरमा बसिरहँदा कोरोना पुष्टि भयो, सोही क्षेत्रलाई अजरअन्दाज गरिँदा परिवार नै मानसिक समस्यामा परेको उनी बताउँछन्।

‘यहाँ १० दिन बस्दा एउटै इनार, धारो, भर्‍याङ, गेट प्रयोग गर्‍यौं। बिरामीको सम्पर्क कहाँ-कहाँ भयो के थाहा? उहाँ आएदेखि कार्यालय पनि गइरहनुभएको थियो। हामी कसरी ढुक्क हुने,’ उनले प्रश्न गरे, ‘संक्रमितका श्रीमान यहाँ एक्लै हुनुहुन्छ। हामी सबैलाई परामर्श चाहिएको छ।’

वडामा पहिलो संक्रमित भेटिएपछि छिमेकीको दृष्टिकोण फेरिएको घरबेटीको अनुभव छ।

‘संक्रमितका श्रीमानलाई किन घरैमा राखेको भनेर गनगन गरिरहेका छन्। कतिपयले गेट बाहिरबाट ताला लगाइदिऊँ कि जचाउन जान्छौ? समेत भन्दै धम्क्याउन थालेका छन्,’ ९४ वर्षीय आमा र ४ वर्षे बालक लिएर कहाँ, कसरी जचाउन जाने उनले सोच्न सकेका छैनन्।

‘जचाउने त हामी सबैले भनिरहेका छौं। अस्पताल जान सवारी छैन। फेरि कुनै सिफारिसबिना त्यसै गएर जाँच नहुने रहेछ। घरै आएर आरडिटी मात्रै गरिदिन माग छ,’ उनी सुनाउँछन्, ‘छिमेकीलाई दिनभरी स्पष्टिकरण दिनु परेको छ। संक्रमितका श्रीमानलाई नराख भन्छन्, अरुको कुरा सुन्नु कि आफ्नो बुद्धिले काम गर्नु?’

उनका अनुसार बिहीबार बिहान वडाअध्यक्ष शोभा सापकोटाले सम्पर्क गरेकी थिइन्। संक्रमितका श्रीमानलाई नेगेटिभ देखिएको हुँदा घर बस्नेलाई परीक्षण गर्न आवश्यक नरहेको उनले बताइन्।

‘संक्रमितसँगै बसेका श्रीमानलाई नेगेटिभ आउँदा अन्य व्यक्तिलाई परीक्षणको दोश्रो वर्गमा राखिएको होला,’ वडाध्यक्षको भनाइ उद्दृत गर्दै घरबेटीले भने, ‘संक्रमितको दोश्रो परीक्षण गर्दा पनि पोजेटिभ देखिए मात्रै हामी सबैको पिसिआर परीक्षण हुने बताइएको छ।’

वडाध्यक्षले परिवारको आरडिटी परीक्षण भने बिहीबार-शुक्रबार हुने आश्वासन दिएकी छन्। यसबारे अहिलेसम्म कुनै संकेत भने नदेखिएको उनले बताए।

घरबेटी प्रश्न गर्छन्, ‘यस्तो संवेदनशील विषयमा राज्यको कति धेरै लापरवाही? दुई दिन बित्दा आरडिटीसमेत भएको छैन। बिरामी बहिनीको अर्को रिपोर्ट आउन पनि साता दिन लाग्नेछ। त्यति बेलासम्म हामी डरैडरमा बाँच्ने?’

उनले सुरक्षा हिसाबले बाहिरबाट आएका मानिसलाई कोठामा प्रवेश नदिने सोचेका थिए। तर महामारी बेला उचित ठानेनन्। डेरामा बस्नेलाई दुःख दिन पाइँदैन भनेर सरकारले उर्दी दिएको छ।

भन्छन्, ‘हामीले हाम्रो दायित्व निर्वाह गर्‍यौं, सरकारले भने निर्वाह गरेन।’ समिक्षा अधिकारी / सेतोपाटि

Related Articles

Back to top button
Close