समाचार

डुंगाको जोहो गर्दै सप्तरीका बाढीपीडित

राैतहट / बाढी आइसकेपछि ज्यान, सरसामान, बालबालिका, वृद्धवृद्धालाई जोगाउनका लागि सप्तरीका बाढीपीडितले अहिले डुंगाको जोहो गर्न थालेका छन् । बस्तीमा बाढी पस्दा सुरक्षित एवम् अग्लो स्थानमा एकैसाथ पुग्न सकिने गरी ठूला डुंगाको व्यवस्था गर्न यहाँका स्थानीय जुटेका हुन् ।

तिलाठी कोइलाडी गाउँपालिकाको बनझुलाका बाढीपीडित रामप्रसाद साहका अनुसार बाढी आएको बेला बालबालिका तथा वृद्धवृद्धा र सरसामान पालैपालो सुरक्षित स्थानमा पुर्‍याउँदा पुर्‍याउँदै बाढीको बहाव उच्च हुने र धेरैजसो मानिसहरु घरभित्रै थुनिने गरेका छन् । उद्धार र सहायताका लागि पनि घण्टौंपछि मात्रै सुरक्षाकर्मीलगायतको टोली आइपुग्ने भएकाले आफैंले पूर्वतयारी गरिरहेको साहले बताए । बाढीबाट अतिप्रभावित हनुमाननगरसहित एक दर्जन बस्तीमा आधा दर्जनभन्दा बढी डुंगा (बोट) तयारी अवस्थामा राखिएको साहले जानकारी दिए ।
मलाह (मुखिया) समुदायले बहुउपयोगी डुंगाको प्रयोग गर्ने गरेका छन् । यस्ता डुंगा बाढीको समयमा बढी उपयोगी हुने र अन्य समयमा सप्तकोशीमा माछा मार्ने, मानिसलाई वारपार गर्ने, मालसामान ढुवानी गर्ने गरेर आम्दानीसमेत हुने गरेको वासुदेव मुखियाले बताए । उनीसँग ३-४ ओटा डुंगा छन् । उनीसँगै हनुमाननगर कंकालीनी नगरपालिकाको जोगिनिया बस्तीका मुखिया (मलाह)हरु यसैका आधारमा व्यवसाय गरेर जिविकोपार्जन गदै आएका छन् ।

वर्षायाम आउनुअघि डुंगा बनाएर बेच्ने गरेको भन्दै सञ्जय मुखियाले माछा मार्न र सामान ढुवानीका लागि बनाइने डुंगामा ४० देखि ८० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको बताए । मानिस ओसार्ने डुंगा बनाउन भने १ लाख रुपैयाँभन्दा बढी लाग्ने उनको भनाइ छ ।

डुंगा चलाएर वार्षिक लाखौंको आम्दानी गरिरहेका सो बस्तीका मलाहहरुको प्रत्येक घरमा कम्तिमा एउटा डुंगा भएकै हुनुपर्ने भन्दै स्थानीय उमेश खड्गा भन्छन्, ‘मलाह परिवारका पुरुषले कोशीमा डुंगा चलाएर माछा मार्ने, महिलाले बजारमा माछा बेच्ने दिनचार्या नै हो ।’ सप्तकोशीको उच्च जोखिममा रहेको हनुमाननगर कंकालीनी नगरपालिकाको गोबगाढासम्म आवतजावत गर्न डुंगा बाहेकको विकल्प छैन । बाढी आएको बेला यस क्षेत्रका मुख्य सवारी डुंगा नै हो । मानिसहरुको ओसारपसार र माछा मार्नुका साथै कोशीटप्पु पलारबाट घाँस, दाउरा ढुवानी गर्ने काममासमेत डुंगाको प्रयोग हुने गरेको छ ।

Related Articles

Back to top button
Close