Thursday, April 2

नेपालमा त कोरोना भाइरस आएकै छैन भन्नेहरूले एक चोटी अवश्य पढी सचेतनाका लागी सक्दो सेयर गर्नुहोला !

March 18, 2020 10499

काठमाडौं । पछिल्लो समय विश्वभर नै डरलाग्दो रुपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा कम भए पनि सुरक्षित भने छैन । चीनबाट सुरु भएको यो भाइरस भारत लगायतका देशहरुमा पनि पनि पुगेको छ । अमेरिकामा पनि सयौंको ज्यान गएको छ, भने हजारौं संक्रमित भइरहेका छ । यो बीचमा भर्खरै अमेरिकाबाट फर्केका एक नेपाली विद्यार्थीले लेखेको ब्लग भाइरल पनि भइरहेको छ । हालै अमेरिकाबाट फर्केका नेपाली विद्यार्थी इशान मैनालीले आफ्नो फेसबुकमा एक पोस्ट राखेका छन् ।

नेपाल र कोरोना भाइरस । म अमेरिकाको एक विश्वविध्यालयमा अध्ययनरत विद्यार्थी हुँ। अमेरिकामा तीव्र रुपमा फैलिरहेको कोरोना-भाइरसका कारण रातारात विश्वविध्यालय बन्द गर्नु पर्ने अवस्था सिर्जना भयो। छात्रावासले हामीलाई २४ घण्टा भित्र कोठा छोड्न आदेश दियो। यसकारण म हिजो बिहानै नेपाल फर्किएँ।अमेरिकाले राष्ट्र आपतकालिन अवस्थामा रहेको घोषणा गरे पनि निकै ढिलो भैसकेको थियो।

दोहाबाट काठमाडौं आउने जहाज कतार तथा अन्य खाडी मुलुकमा काम गर्ने नेपालीहरुले भरिएको थियो। केही व्यक्तिहरुलाई कोरोनाको लक्षण देखापरेका कारण घर पठाईएको भन्ने पनि सुन्नमा आयो। कति सत्य हो भन्ने त म अनुमान लगाउन सक्दिनँ तर कतारमा हालै एक दिनको अवधिमा दस गुनाले संक्रमितको संख्या बढेकाले मनमा त्रास भने उत्पन्न भयो। हजारौं नेपालीहरु कार्यरत रहेका अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्दै छ। नेपालमा वैदेशिक आगमनमा रोक लाग्नु अगाडि नै चीन, ईटालीजस्ता थुप्रै देशबाट विदेशीहरु भित्रीसकेका थिए। यस्तै सोच मनमा खेलाउँदै गर्दा विमान काठमाडौं अवतरण भयो।

त्रिभुवन विमानस्थलमा संक्रमण रोकथामका निम्ति अपनाइएका उपायहरु र जडान गरिएका थर्मल स्क्यानर बारे पत्रपत्रिका मार्फत थाहा पाएको थिएँ। आश्वासनका साथ जहाज बाट झरेँ। जहाजमा हुँदा हामीलाई एउटा फारम भर्न दिइएको थियो। सो फारममा आफू विगतका २१ दिनमा गएका सबै ठाउँका बारे र आफ्नो शारीरिक अवस्था बारे प्रष्ट लेख्नु पर्ने थियो।

उक्त फारम प्रहरीलाई विमानस्थलमा बुझाउनु पर्ने रहेछ। मेरो अगाडी उभिएको व्यक्तिले आफ्नो फारम जहाजमा नै बिर्सिएछ। मलाई लाग्यो कि प्रहरीले उसलाई अर्को फारम भर्न लगाउँछ तर त्यस्तो केहि भएन। प्रहरीले उसलाई सजिलै जान दियो। म अचम्मित भएँ। त्यसपछि हाम्रो तापक्रम लिईयो, अनि म काठमाडौं विमानस्थल बाट बाहिरीएँ।

नेपालमा कोरोना फैलिएको छैन भन्ने कुरा निकै अपत्यारीलो छ। जब विश्व भरी नै कोरोना संक्रमण द्रुत गतिमा बढिरहेको छ, नेपाली समाचार माध्यमहरुले रिपोर्ट गरेका संख्याहरु मलाई विश्वास गर्न असहज महसुस भइरहेको छ। पहिलो कुरा त, मेरो प्रत्यक्ष अनुभवले विमानस्थलमा अपनाइएको उपायको कमजोरी देखाउँछ। दोस्रो, यो रोगको लक्षण देखापर्न १४ दिनसम्म लाग्न सक्छ।

नेपालमा भित्रिरहेका धेरै नेपालीहरु कम उमेरका भएकाले उक्त भाइरसका लक्षण देखा नपर्न सक्छ। यो भाइरसको लागी हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति बलियो भएको भन्ने परिकल्पना भने म गर्न सक्दिनँ नेपालमै रहेका र विदेशमा रहेर शारीरिक कठिनाइ भोगेर काम गर्ने थुप्रै व्यक्तिहरुको शरीर यस रोगलाई प्रतिरोध गर्न पूर्ण रुपमा सक्षम छैन।

शुक्रबार मोदीद्वारा आयोजित सार्क सम्मेलनमा ओली हाजिर भएका थिए। सार्क संगठनका देशहरु रोग नियन्त्रणका लागि आतुर देखिए पनि उक्त चिन्ता कार्यमा परिणत भएको देखिँदैन। यस्तो समयमा आम नेपालीहरुले राज्यबाट केकस्ता आशा राख्ने भन्ने विषयमा गम्भीर भएर सोच्न महत्वपूर्ण छ।

काठमाडौं पूर्णरुपमा ठप्प हुन अथवा बन्द हुन सक्ने अवस्थामा छैन। त्यसो भएको खण्डमा सबैभन्दा ठुलो असर शारीरिक मजदुरी गरेर जीविकोपर्जन गर्ने वर्गलाई पर्न जान्छ। उच्चस्तरिय धनी कहलिएका नेपालीहरु किन शान्त छन्? यो महाव्याधि नेपालमा पनि व्यापक रुपमा फैलिएमा, के धनी र गरीबहरुबिचको फाटो मेटिएर मानवता भित्रिने छ त? यस विषयमा म खासै आशावादी छैन।

राज्यले कस्को मदत गर्ला त? यस बिषयमा हामी आम नेपाली सचेत रहनु जरुरी छ। कोरोना संक्रमण बढ्दै जाँदा सबैभन्दा शिथिल र कमजोर अवस्थामा रहेका वर्गका लागि कस्तो आर्थिक मदत पुर्याउन सकिन्छ भन्ने विषयमा अहिले देखि नै सोच्न जरुरी छ। राज्यको आर्थिक अवस्था जोगाउनका निम्ती सरकारी सहयोगमा विभाजन होला या नहोला? कतै धनीहरुले उपचारका लागि प्राथमिकता पाएर आर्थिक र सामाजिक रुपले विछडिएका वर्ग

उपेक्षित त हुने हैन? सारा नेपाली जनताले उत्तिकै सहयोग पाउन जरुरी छ र हामीले विषेश ध्यान दिने समय आएको छ। त्यसकालागी सबै मिलेर “सरकारको सहयोग सबैलाई” भन्ने बिषयमा सरकारलाई दबाब दिन निकै महत्त्वपूर्ण छ।

सरकारले के गर्न सक्छ? कोरोना भाइरसको नियन्त्रणका निम्ति ‘सामाजिक दूरी’ कायम गर्न मानिसहरुलाई प्रोत्साहन गर्न जरुरी देखिन्छ। कम उमेरका व्यक्तिहरु लाई यो रोगले धेरै असर नगरे तापनि उनीहरू भाइरसको संवाहक बन्न सक्छन् जसकारण वृद्ध र विरामीहरुलाई सर्ने सम्भावना निकै बढि छ। यो रोगले उमेर भएका वृद्धवृद्धा तथा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई सिकिस्त पार्न सक्छ। अरु देशहरुमा मृत्युदर पनि बढ्दो क्रममा रहेको छ।

तर सामाजिक दूरी कायम गरी भिडभाड र भेटघाट कम गर्दै जादा यो रोग विस्तारै फैलिन कम भएको पनि देखिन्छ। संसारका थुप्रै देशहरुमा यो नियम पालना हुँदाहुँदै पनि, नेपालमा भने उही भिडभाड देखिन्छ – बसमा उत्तिकै मान्छे छन्, मानिसहरु भेटघाट गरिरहेको छन्, काठमाडौँ चलिरहेकै छ। नेपालको स्वास्थ्य र आर्थिक स्थिति जोगाउने हो भने हाम्रो जीवनको गति लाई अलि बिस्तारै दौडाउन आवश्यक छ। केही समयको धैर्यताले थुप्रै जीवन जोगिने छ।

सोच्नुहोला – तपाईं हामी के गर्न सक्छौँ? म आफुलाई १४ दिन सम्म क्वारेन्टिन गर्दै छु। अमेरिका देखि नेपाल सम्मको ३० घण्टा लामो यात्रामा आफुमा कोरोना भाईरस हुनसक्ने र अरुलाई सर्नसक्ने कुराको म जिम्मेवारी लिँदै छु। यो लेख मार्फत पनि म कोरोना बारे सक्दो आवाज उठाउँदैछु।

आउँदो दिनहरुमा म अरुलाई आर्थिक, शारीरिक एवम् मानसिक सहयोग गर्न तयार छु – जति सक्छु, त्यति सहयोग गर्न तयार छु। समाजमा भएका संगठनहरु सँग मिलेर के कस्ता कार्य गर्न सकिएला? सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागी अझै दबाब कसरी दिन सकिएला त? मेरो विचारमा हामीले यी कदम हरु चाँडै नै उचाल्न जरुरी छ।

१) हाम्रो समाजमा रहेका कोरोनाबाट प्रभावित हुनसक्ने वर्गको सहयोग कसरी गर्न सकिएला, त्यो सोचौँ।
२) उच्च स्तरमा रहेका धनी व्यक्तिहरुलाई यस विषयमा सतर्क गराऔँ। उनीहरुलाई कम असर पर्न सक्ने तर उनीहरुको मदतले धेरैको ज्यान बच्नसक्ने कुरा बुझाऔँ।
३) रोगले धनी गरिब, जात, धर्म, केहि भन्दैन।एउटा वर्गलाई यो रोग लाग्दा अर्कोलाई पनि लाग्न सक्छ। त्यसैले सबै समाज मिलेर यसको रोकथाम गर्नुपर्ने कुरा बुझ्न आवश्यक छ।
४) सरकारलाई दबाब दिऔँ; कोरोना संक्रमण्को कुरा गरौँ। सामाजिक सन्जाल्को फाईदा उठाएर सरकारी पदमा भएका व्यक्तिहरुसम्म यो कुरा पुर्याऔँ।
कोरोनाको समाधान भाग्यको भरमा सुम्पिन म तयार छैन। सरकारले अझै राम्रो र कडा कदम उठाउनु जरुरी छ। आर्थिक, सामाजिक तथा बौद्दिक स्तरबाट सक्षम व्यक्तिहरुले समाजप्रतिको आफ्नो दायित्व पुरा गर्न जरुरी छ। नेपालमा आपतकालिन अवस्थाको सिर्जना भएको छैन र यो नहुनका लागि रोकथाममा केहि कहि आउनु हुँदैन।अहिले देखि नै आवाज निस्किनु महत्त्वपूर्ण छ।

मेरा चार हजुरबुवा-हजुरआमा हुनुहुन्छ, जोमध्ये दुइजनासँग म बस्छु। उहाहरुको रोगबाट लड्ने क्षमता निकै कम छ। म मेरो हजुरबुवआमाहरुका लागि लडिरहेको छु। तपाईं कस्का लागि लड्नु हुन्छ?

Translated by: Sanju Koirala
Typist: Aakriti Ghimire, Arya Mainali, Ishan Mainali
Edited by: Aakriti Ghimire

Loading...

प्रतिकृया दिनुहोस्