रोचक

दुःखबाट मुक्ति पाउन, सन्तान लाभ हुन, पदोन्नति हुन, निरोगी हुन यो मन्दिरमा एकपटक दर्शन गर्न पुग्नु होला ! यहाँ हरेक मनोकामना पुरा हुन्छन् !

महादेवस्थान–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाविसको नाम महादेवस्थान रहन गएको हो । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ ।

गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंम्वदन्ती छ । यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् । यहाँ एउटा चट्टानै चट्टानको थुम्को परेको डाँडामा अवस्थित छ । यस थुम्कोलाई कैलाशपर्वत भन्ने गरिन्छ । यो थुम्कोको परिधी झन्डै एक किलोमीटर जति छ र उचाई २०० फिट जति छ । यो थुम्कोमा अर्को एउटा ठूलो गुफा छ । यसलाई बसाहाथान भनेर चिनिन्छ ।जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ । यो गुफाको मुखमा आज पनि एउटा अजङ्गको चट्टान छ र यसैलाई बसाहा भनी पूज्ने गरिन्छ । बसाहाथानको गुफा कैलाशपर्वत भनिने थुम्कोको फेदतिरबाट तेर्सो छेडिएर जाँदै झण्डै १५० फिटमा पुगेपछि अङ्ग्रेजी अक्षरको एल (L) जस्तो ९० डिग्रीको कोणमा ठाढै उठेर छिचोल्दै आकाशमा निस्किएको छ । यसको तेसरो लम्बाई २२० र ठाडो मुख करिब ९० फिट जति अग्लो छ ।

यो गुफाको मुखबाट एकै चोटी ८/१० जना सजिलै पस्न सकिन्छ । यसको गर्भ झण्डै ४५ फिट चौडा छ । आकाशतिरको मुख धेरै चौडा छ । यस्को कुना काप्चाबाट पानी रसाएका छन् । एक ठाउँमा भित्तामा गाईका थुनहरू जस्तै चुनढुङ्गाका पग्लँदै गरेका जस्ता चुच्चा आकृतिहरू देखिन्छन् । त्यसबाट चुनमिश्रित चौलेनी रंगको पानी टप्कने गर्दछ । भक्तजनहरू त्याहाँ ‘दुध देउमाई’ भन्दै दुध थाप्दछन् । भनाइ छ भाग्यमानीको हातमा दूध चुहिन्छ । नभन्दै केहीका हातमा चौलेनी जस्तो चुनपानी हातमा खस्ने पनि गर्दछ । धर्मभीरू भक्तजन यसलाई कामधेनुको दुध भन्छन् भने भौतिकवादीहरू उता महादेवथानमा महादेवलाई चढाएको दुध रसाएर यता चुहिएको हो भनी अड्कल काट्दछन् । महादेवथानको गुफा बसाहाथानको गुफाको आकाश पट्टिको मुख नजिकै नै उत्तरपट्टी खाल्डे आकारमा अवस्थित छ । यसको ७०/८० फीट तल सतहमा मैदान परेको भाग छ । त्यहाँ नै बीचमा प्राकृतिक चोसे आकृतिमा हलेसी महादेव लाई देख्न सकिन्छ । जसलाई युगौंदेखि भगवान महादेव भनी पूज्ने गरिएको छ ।

यसको ठीक माथि गुफाको सिलिङ्गमा चुनढुंगा पग्लिंदै गरेको जस्तो घोप्टे चुच्चाहरू छन् जसबाट निरन्तर चौलेनी रङ्गको पानी तप्किरहेको हुन्छ । माथिका चुच्चाहरू कामधेनुको थुन र पानीलाई उनैका दुध महादेवलाई स्नान गराउन खसेको हो भन्ने किमवदन्ती र जनविश्वास छ । मूर्ति वरीपरीका भाग मैदान परेको छ । यसलाई पहिले बाहिरबाट माटो ल्याई पुरेर बनाइएको हुनसक्छ । यस मैदानी मागमा एकै चोटी बीसौं रुद्रीहरू गर्न सकिन्छ । गुफाको सतहसम्म वर्लनको लागि कृतिम १०२ वटा खुड्किलाहरू बनाइएका छन् जो भर्यांग जत्तिकै ठाडो कोणमा छ । गुफाका शिलिङ र भित्ताहमा चट्टान पग्लिएर झरेका जस्ता धेरै आकृतिहरू छन् । कहीं मूर्तिहरू जस्ता बनेका छन् । कहीं माथिबाट चुहिएका भागलाई तलबाट चुलिएका चोसोले छोएर दुलाहरू बनेका छन् । ती मूर्तिहरू जस्ता आकृतिहरूलाई महादेवका परिवार सप्तर्षी नन्दी भृंगी र तेत्तिसकोटी देउताहरू भनेर पूज्ने गरिन्छ भने दुलाहरूलाई पापद्वार धर्मद्वार जन्मद्वार घोप्टेद्वार आदि भनेर पूज्ने र छिर्ने गरिन्छ । त्यस्ता द्वारबाट धर्मात्माहरू मात्र छिर्न सक्छन् र पापीहरू बीचमा अड्कन्छन् भन्ने धार्मिक विश्वास छ ।

अड्कनेहरूले आफ्नो पापको बारेमा ओकले पछि मात्र छुट्छन् भन्ने भनाई छ । बसाह गुफा महादेव गुफादेखि करिव सय मिटर पश्चिमतिर करिब २ सय २० फिट लामो र ५० फिट चौडाइमा फैलिएको बसाहा गुफा छ । एकैपटकमा सयौं जना मानिस सजिलै भित्र–बाहिर गर्न सकिने यस गुफाबाट करिब २ सय १० फिटभित्र प्रवेश गरेपछि खुला र उज्यालो समथर भूभागमा पुगिन्छ । जहाँ चट्टानको प्वालबाट खुला आकाश देख्न सकिन्छ । त्यस ठाउँको पश्चिमी कुनाबाट हात थापेर महादेवसँग दूध माग्ने प्रचलन छ । दूध माग्दा भाग्यमानीको हातमा दूध र अभागीको हातमा पानी झर्ने विश्वास गरिन्छ । त्यस्तै सोही ठाउँदेखि उत्तरी दायाँ कुनामा हात्तीको सुँडमा गणेशको मूर्ति छ । बसाहा गुफामा नन्दी भृंगीको मुर्ति, गौरीशंकर, गोमन सापलगायतका प्राकृतिक मूर्ति पनि छन् । भैरव गुफा महादेव गुफादेखि करिब ३० मिटर पूर्वतिर आकर्षक भैरव गुफा छ । यस गुफाको पनि आफ्नै महत्व र विशेषता छ ।

हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। महादेवलाई भस्मासु राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

उत्पत्ति प्रसंग हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्तिहरू रहेका छन् । इतिहासका अनुसार हलेसी को नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ । स्थानियवासीका भनाइअनुसार पहिले सत्य युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु घोरल मृग जरायो कालिज तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाईने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानियवासी किराँत जातका मान्छेहरूले नै सिकार गर्ने र जिव जन्तुहरू मार्ने गर्दथे । त्यो बेलामा हलेसी गुफा लहराले जेलिएर रहेको अवस्थामा भएकाले यस गुफेका बारेमा कसैलाई थाह थिएन । एक दिन एकजना किराँती सिकारीको बाण प्रहारबाट घाइते भएको मृग लडेर हलेसी महादेव गुफाभित्र खसेछ । त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तिको जस्तो ज्योती देखेर सिकारीको आँखा तिरमिराएर सिकारी बेहोस भएछ । उक्त बेहोस भएको सिकारीलाई भगवान शङ्करले दर्शन दिए पछि यस गुफाभित्र अन्य देवि देवताको पनि उत्तपत्ती भएछ । यो देखेर त्यो सिकारीले त्यो मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने भनाइ रहेको छ ।

पुरानो धार्मिक मान्यता अनुसार यी दूवै गुफाहरू महादेवले भस्मासुर राक्षस बाट बच्नको लागि खनेका हुन् भन्ने किमवदन्ति छ। भनिन्छ एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले ‘जसको थाप्लोमा म हात राख्छु त्यो चुर्णहोस’ भन्ने वरदान मागेछन् । माहादेवले पनि तुरुन्तै तथास्थु भनी वरदान दिएछन् । भस्मासुरले यो वरदान सद्दे छ कि यो हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् । महादेव डरले त्राही त्राही माम भएर भागेछन् । भस्मासुरले पनि छाडेन छन् । महादेव हलेसीको चट्टानै फोडेर जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई निकैवेर सम्म अलमल्याई दिएपछि । त्यतिन्जेल सम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुइवटा गुफा बनेको प्रशंग आउँदछ । हलेसी महादेव पतालको गुफामा लुकेपछि विष्णुले मोहनी रुपलिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवति आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाँच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएछन्। भष्म भएर रहेको हाडखोर भनी आज पनि च्यास्मि भन्ने गाउँमा भएको कालाकाला चट्टानलाई यहाँका आदिवासीहरू देखाउने गर्दछन् ।

हिन्दूधर्म को श्री स्वस्थानी व्रत कथा अनुसार सतिदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले एउटा ठुलो महायज्ञ गरे जुन यज्ञमा आफ्नै छोरी सतीदेवीलाई सम्म बोलाएनन र आफ्नो पिताले त्यस यज्ञमा नबोलाईकन पनि गईन।पिताको अपमान सहन नसकी सती देवीले तत्काल यज्ञस्थलमा नैं योज्ञाग्निमा स्वयंलाई लाई भस्म गरिदिइन्। यज्ञमा हामफालेर देह त्यागगरेको शरिरलाई महादेवले लिएर संसार डुलाउने क्रम मा यहाँ सतीदेवी अंगको दाहिने कुहुनो पतन भयो राज गृह पिठ राज ग्रिहेश्वरि देवी उल्का मुखी योगिनी हलेश्वर महादेव उत्पति भई शिव शक्ति सरुप ले रहेको पनि कथा मा पाइन्छ गुफासंग उपलव्ध कथा यस्तै छ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ ।

त्रि–धार्मिक स्थल किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थल मध्ये एक हो । ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ । यहाँ बर्सेनि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् । अर्का तिर हिन्दू धार्मिक किंम्वदन्ती अनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे । भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने । तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए । त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ । त्यस्तै, बौद्ध धर्मानुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दछन् । त्यसैले पनि यहाँ बर्सेनि किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् । केहि वर्षअघि कच्ची सडक बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवस्थान पुग्न लामिडाँडा विमानस्थलमै ओर्लिनुपर्ने बाध्यता हटेको छ । अब भने धार्मिक तीर्थयात्रीको बाढी नै लाग्ने हलेसी पुग्न पूर्व पश्चिम राज मार्ग हुदै मिर्चैया- कटारी सडक खण्डबाट पनि पुगिन्छ । भने अहिले मध्यपहाडी राजमार्ग बाट सिधै जयराम, बाहुनीडाँडा कदुवा च्यास्मिटार, बडहरे ,दुर्छिम छापडाँडा हुँदै हलेसी महादेव को दर्शन गर्न पुगिन्छ । यस मन्दिरमा विशेष गरेर शिवरात्रीका दिन भक्तहरूको निकै घुईंचो लाग्दछ ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा -धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा जीर्णोद्वारको काम तीव्रगतिमा अगाडि बढाइएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा सङ्घीय सरकार र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त रु ८२ लाखको लगानीमा जीर्णोद्वार थालिएको हो । धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध हलेसीमा पुरानो संरचनामा असर नपुग्ने गरी जीर्णोद्वार शुरु गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । “चट्टानको बीच भागमा रहेको गुफाभित्र बिराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ”, उहाँले भन्नुभयो, “प्राकृतिकरूपले बनेका कुनै पनि संरचनालाई नछोइ जीर्णोद्वारको काम शुरु गरिएको हो ।”

विसं २०४४÷४५ मा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको सिँढी, र शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर, ध्यान तथा पूजाअर्चना गरिने ठाउँलगायतमा सिमेन्ट हटाएर प्राकृतिकरुपले नयाँ संरचना निर्माणको काम भइरहेको छ । शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर हटाएर तामाको खम्बा राखिएको छ । गुफा प्रवेशद्वारको भित्री भागमा सिमेन्ट प्रयोग गरेर बनाइएको सिँढीमा अहिले ढुङ्गा बिच्छ्याइएको छ । यसअघि एउटा मात्र आवतजावत गर्ने मार्ग रहेको गुफाभित्र अहिले दर्शनार्थीको भीडलाई मध्यनजर गरेर छुट्टाछुट्टै मार्ग निर्माणको काम भइरहेको कार्यकारी निर्देशक भुजेलले बताउनुभयो ।

नगरपालिकाले न्यूनकतम रु एक करोड १० लाखको लागतमा जीर्णोद्वारका लागि बोलपत्र आह्वान गरिएकामा काठमाडौँस्थित प्रतिक्षा कन्ट्रक्सन प्रालि जीर्णोद्वारको काम जिम्मा पाएको नगरप्रमुख इवन राईले बताउनुभयो । उहाँका अनुसार गत असार मसान्तभित्र सम्पन्न गर्ने गरी प्रतिक्षा कन्ट्रक्सन प्रालिका प्रतिनिधिसँग नगरपालिकाले सम्झौता गरेको थियो ।त्रिधार्मिकस्थल हलेसीको जीर्णोद्वारको काम अन्तिम चरणमा पुगेकाले यही साउन अन्तिमसम्ममा सम्पूर्ण काम सकेर विकास समितिलाई जिम्मा दिने तयारी गरिएको निर्माण कम्पनीका प्रतिनिधि जितेन्द्रसिं ठकुरीले बताउनुभयो । “जिल्लामा असार २३ गतेदेखि लगातार वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “अविरल वर्षा हुँदा पनि साउन अन्तिमसम्म काम सकाएर हस्तान्तरण गर्नेछौँ ।”

सङ्घीय सरकारको मातहतमा रहेको त्रिधार्मिकस्थल हलेसीको समग्र विकासका लागि यस आर्थिक वर्षका लागि रु ८० लाख बजेट विनियोजन भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “हलेसी खोटाङको मात्र नभइ देशकै एउटा नमूना तथा प्राकृतिक गुफा हो”, उहाँले भन्नुभयो, “पुरातत्व विभाग, भूगर्भविद् र मन्दिर व्यवस्थापन समितिको सुझावको आधारमा हलेसीको जीर्णोद्वार गर्न थालिएको हो ।”जीर्णाद्वारको काम सम्पन्नपछि हलेसीको रूप पुरानै शैलीमा फर्कने जनाइएको छ । अहिले निर्माण भइरहेका संरचनामा गुफाकै रङको नयाँ रङ हालिने निर्माणस्थलमा खटिनुभएका इञ्जिनीयर सरोज अवालले जानकारी दिनुभयो । हलेसी मन्दिरको मुख्य गुफा अर्थात् महादेव र पार्वतीको मन्दिर रहेको गुफाको ठीक पछाडिपट्टि उस्तै ठूलो प्राकृतिकरूपले नै बनेको बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो ।

यी दुई गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन्, यी प्राकृतिक भू–बनोटलाई अवलोकनकर्ताले विश्वकै नमूना मान्छन् । सगरमाथा हिमशृङ्खलाको काखमा अवस्थित यी गुफाहरुको प्राकृतिक सौन्दर्यको वर्णन मात्रै हो । यसबाहेक हलेसी त्रिधार्मिकस्थलको रूपमा पनि विश्वभर चर्चित भएकाले वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै भारत, चीन, भूटान, जापान, अमेरिकालगायत मुलुकका धर्मावलम्बी हलेसी दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् ।जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी तुवाचुङ नगरपालिका–४ मा पर्छ । हलेसीमा शिव र पार्वतीको पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । जिल्लाबाट तराईसँगको सिधा यातायात शुरु भएसँगै हलेसी आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटकको भीड लाग्न थालेको छ । हिन्दू धर्मालम्बीले पूर्वको पशुपतिनाथ, बौद्धधर्मावलम्बीले दोस्रो लुम्बिनी र किराँतीहरुले आदिम भूमि मान्ने भएकाले र प्राकृतिक सौन्दर्यताका कारण पनि एक पटक जानै पर्ने ठाउँ बनेको हो ।

सडक नपुगेसम्म लामीडाँडा विमानस्थलको अर्काे विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेकाले सहजरूपमा बस तथा जिपमा यात्रा गर्न सकिन्छ । कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकप्टर चार्टर गरेर हलेसी आउने गरेका छन् ।तीन ठूला प्राकृतिक गुफाको अवलोकलन तथा दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँबाट सात घण्टाको बस तथा जिप यात्रापछि हलेसी पुग्न सकिन्छ । तराईका विभिन्न जिल्लाबाट उदयपुर–ओखलढुङ्गाअन्तर्गतको सिद्धिचरण राजमार्ग हुँदै पनि हलेसी आउन सकिन्छ । यीबाहेक लामीडाँडा र खानीडाडाँ विमानस्थलमा ओर्लिएर केही घण्टाको बस तथा जिप यात्रापछि पनि हलेसी पुग्न सकिन्छ ।हलेसी गुफाभित्र शिवपार्वतीको मन्दिरसँगै धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वारहरू छन् । यहाँभित्र छिरे पाप नष्ट हुनाका साथै धर्म कमाइने जनविश्वास छ ।

Loading...

Related Articles

Back to top button
Close