समाचार

कम्युनिस्टले जिते कोल्टे फेर्छ भन्थे, देश उत्तानो परेर लम्पसार पर्‍यो – पूर्वसांसद खतिवडा

भक्तपुर। नेपाली कांग्रेसका चर्चित युवा नेता एवं पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टले निर्वाचनका बेला आफूले जितेमा देशले कोल्टे फेर्ने भनेर प्रचार गरेपनि देश उत्तानो परेको दाबी गरेका छन् ।

भक्तपुरको क्षेत्र नम्बर १ ‘क’मा नेपाली कांग्रेसले शुरू गरेको घरदैलो कार्यक्रमका क्रममा दुवाकोटमा मंगलबार आयोजित कोणसभालाई सम्बोधन गर्दै खतिवडाले कम्युनिस्टले कुरा मात्रै गर्ने र काम नगर्ने बताए ।

‘कम्युनिस्टले जित्यो भने देशले कोल्टे फेर्छ भन्थे,’ नेता खतिवडाले भने, ‘कम्युनिस्टले जित्दा कोल्टो परेन । उत्तानो परेर लम्पसार परेको छ ।’ उनले भक्तपुरमा भइरहेको प्रदेशसभा उपचुनावमा नेपाली कांग्रेसले लालकिल्लामा जीतको किलो गाड्ने दाबी गरे ।

‘भक्तपुर जिल्ला कांग्रेसको किल्ला बन्नेछ,’ उनले भने, ‘कांग्रेसले जित्नेछ । भक्तपुरमा कांग्रेसले किल्ला गाड्यो गाड्यो ।’ खतिवडाले भक्तपुरमा नेमकिपाले सधैं किसान र मजदूरका नाममा राजनीति गरेपनि कहिल्यै जनताका नाममा राजनीति नगरेको बताएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभामा कृष्णलाल भँडेललाई उम्मेदवार बनाइएको छ । भँडेललाई जिताउन नेपाली कांग्रेस भक्तपुरले सोमबारदेखि घरदैलो कार्यक्रम सुरू गरेको छ ।

नेपाली कांग्रेसले योग्य उम्मेदवारलाई टिकट दिएको बताउँदै खतिवडाले मतदान गरेर विजयी बनाउन सबैलाई आग्रह गरेका छन् ।

Loading...

Related Articles

Back to top button
Close