समाचार

ओली सरकारविरुद्ध विप्लवले गरे बन्द घोषणा

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई पक्राउ गरेको विरोधमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सडक बन्द लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।

नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा देशभर चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

घोषित संघर्षका कार्यक्रम अनुसार कात्तिक ३ गते जुलुस र प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते ओलीको पुत्ला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मसाल जुलुस र कात्तिक १७ गते आईतबार बिहान १० बजेदेखि ११ बजेसम्म सडक बन्द गर्दै चक्काजाम गर्ने जनाइएको छ ।

सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीको राप्ती ब्यूरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंग, राप्ती ब्यूरो इन्चार्ज सुवास, ब्यूरो सदस्यहरू सविन, युवा संगठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीविरुद्ध घोर आपत्ति जनाउँदै महासचिव विप्लवले तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनीसमेत दिएका छन् ।

ओली सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर कारवाही गरिरहेको छ । विप्लवका कतिपय नेता कार्यकर्ता जेल र प्रहरी हिरासतमा छन् ।

Related Articles

Back to top button
Close