समाचार

धान पाकेर भित्र्याउने बेलामा ‘फौजी किरा’को प्रकोप !

काठमाण्डौ – धान काटेर भित्र्याउने बेलामा ‘फौजी किरा’को प्रकोप देखिएको छ । तराईका धेरैजसो जिल्लाका धानबालीमा ‘फौजी किरा’को प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले जनाएको छ ।धेरै धान उत्पादन हुने झापा, सुनसरी, धनुषा, चितवन, बाँके, बर्दिया र कञ्चनपुरसम्मै फौजी किरा प्रकोपकै रुपमा देखिएको गुनासो आएको नार्कका प्रवक्ता हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो । यो फौजी कीराले धानका बाला काट्ने गरेको छ । धान हुर्कने बेला पात खाने फौजी कीराले पाकेर भित्र्याउने बेला धानको बाला काटेर हैरान पार्ने गरेको किसानको गुनासो छ ।

बाला काट्ने भएकाले यस कीरालाई धानका बाला काट्ने किरा पनि भनिन्छ । धेरै किराको समूह हुने भएकाले यसलाई फौजी किरा भनिएको हो । तर यो अमेरिकी फौजी किरा भने नभएको विज्ञहरुको भनाइ छ ।‘नार्कको टोल फ्री नम्बर ११३५ मा फोन गरेर किसानले धानका बाला काटेर किराले हैरान पारेको गुनासो गरेका छन्’, धानबाली विज्ञसमेत रहनुभएका नार्कका प्रवक्ता उप्रेतीले भन्नुभयो, ‘विगतमा खासै नदेखिएको यो रैथाने किरा केही वर्षयता प्रकोपकै रुपमा फैलिएको छ ।’नार्कको कीट विज्ञान महाशाखाका अनुसार झुण्ड–झुण्डमा रहेर एकदेखि अर्को खेतमा नोक्सान पुर्‍याउँदै हिँड्ने किरालाई ‘फौजी कीरा’ भनिन्छ ।

यस समूहका कीरामध्ये धानको बाला काट्ने कीरालाई ‘मिथिम्ना सेपाराटा वाल्कर’ भनिन्छ । यसलाई रैथााने कीरा पनि भनिएको छ ।यसै वर्ष अमेरिकाबाट भारत हुँदै भित्रिएको अमेरिकी फौजी कीरा भने अर्को प्रजातीको कीरा हो । अमेरिकी फौजी कीराले सबैभन्दा बढी मकैबालीमा क्षति पुर्‍याउने गरेको छ । महाशाखाका कीट वैज्ञानिक सुदीप कुमार उपाध्यायका अनुसार फौजी कीराले धानबालीसँगै मकै, गहुँ, जौ, जुनेलो, उखु, कोदो, सूर्ती, सिमि आदी बालीमा समेत क्षति पुर्‍याउँछ । यी बालीमा यसले आफ्नो जीवनचक्र पनि पूरा गर्दछ ।

यसको पोथी पुतलीले पातको आधार र डाँठकोबीचमा लहरै फुल पार्दछ । एक हप्तामा फुलबाट लार्भा, चार हप्तामा लार्भाबाट प्युपा र त्यसपछि झण्डै तीन हप्तामा प्युपाबाट वयस्क पुतली बन्छ ।दुई महिनामा फौजी कीराले आफ्नो जीवनचक्र पूरा गर्छ । आफ्नो जीवन अर्थात एक वर्षमा यसले तीनदेखि पाँच पूस्तासम्म तयार पार्ने गरेको महाशाखाका वैज्ञानिक उपाध्यायको भनाइ छ ।‘एकपटकमा झण्डै २ सय फुल पार्न सक्ने यो कीराको जीवनचक्र लार्भा, प्युपा हुँदै दुई महिनामा वयस्क बन्छ’ उपाध्यायले भन्नुभयो, ‘आफ्नो जीवनमा यसले तीनदेखि पाँच पुस्ता तयार पार्छ ।’

यो कीराले सबैभन्दा बढी क्षति लार्भा अवस्थामा गर्छ । वातावरणअनुसार हरियो, गुलावी–हरियो वा चम्किलो–खैरो रङको लार्भा हुने यो किराले पात, गुभो र पछि बाला काटेर खाने गर्छ । फौजी कीरा भदौदेखि मंसिरसम्म बढी सक्रिय रहन्छ । तर यो फैलिने बेला भने असोज कात्तिक महिनामा हो । धेरै सक्रिय रहने भएकाले यसले धान पाकेका बेला बढी क्षति गर्ने गरेको विज्ञहरु बताउँछन् । ‘छिटो रोपिएको धान असोज महिनासम्म काटिसक्छन् । तर ढिलो रोपिएको धान कात्तिकमात्रै काटिन्छ’ उपाध्यायले भन्नुभयो, ‘धान पसाउने, पाक्ने र काट्ने बेला बढी सक्रिय हुने फौजी कीराले क्षति पनि धेरै गर्छ ।’

उहाँका अनुसार फौजी कीरा दिउँसो भन्दा राति बढी सक्रिय हुन्छ । बोटको नयाँ पालुवा र पात कोतरेर खान्छ । पछि पात सुकेपछि यसले बाला काट्ने गर्छ । तर धेरैजसो बाला काटेर यसले खाँदैन । खेर मात्रै जान्छ । धानको बाहिरको कडा भाग भएर खान नसक्ने भएकाले यसले खानका लागि काट्ने भए पनि त्यो भुइँमा झरेर खेर मात्रै जाने गर्छ ।लार्भाको संख्या धेरै भएमा फौजी कीराले डाँठ, पातको मूल नशा सबै भाग खाएर बोटसमेत नांगो पार्ने गरेको उपाध्यायले बताउनुभयो । समयमै कीरा नियन्त्रण गर्न नसकेमा भने सम्पूर्ण धानबाली क्षति गर्ने जोखिम पनि हुन्छ ।

धान पाक्न लाग्दा पात सुक्ने भएकाले यो किराले बाला काट्ने गर्छ । भोकाएको बेला पर्याप्त खाना नपाउने भएकाले बाला काटेर बढी क्षति पुर्‍याउने गरेको महाशाखाका वैज्ञानिक उपाध्याय बताउनुहुन्छ ।‘यसको सबैभन्दा बढी फैलिने समय भनेकै असोज कात्तिक महिना हो । धान पसाउने बेला हुन्छ । पाक्ने बेला हुन्छ । धान पसाउने र पाक्ने बेला पात सुक्दै जाने भएकाले बाला काट्न थाल्छ’, उहाँले भन्नुभयो ‘लार्भाको संख्या रातारात धेरै बढ्ने भएकाले खेतको सबै धान पनि नष्ट गर्न सक्ने भएकाले पाकेको धान भएमा काटेर व्यवस्थापन गरिहाल्नुपर्छ ।’

धान काटेपछि केही दिन खेतमै सुकाउने चलन छ । तर फौजी कीराले काटिसकेर सुकाउनका लागि राखिएको धानमा पनि क्षति पुर्‍याउँछ । त्यसैले धान काटेपछि छिटो व्यवस्थापन गर्न अर्थात् घर भित्र्याउन वैज्ञानिकको आग्रह छ ।‘धान काटेपछि पनि यो किराले बाला काट्न छाड्दैन’ उहाँले भन्नुभयो, ‘त्यसैले धान काटिसकेपछि खेतमै सुकाउनेभन्दा घर आँगनमा पाल राखेर त्यसमाथि सुकाउनुपर्छ । सकेसम्म छिटो व्यवस्थापन गर्दा राम्रो हुन्छ ।’ नेपालकै रैथाने किरा मानिने फौजी किरा पछिल्लो समय विषादीको प्रयोग बढ्दा प्रकोपकै रुपमा फैलिएको वैज्ञानिकहरुको भनाइ छ ।

विषादीले अन्य किरा नष्ट भएपछि फौजी किराहरुको संख्या बढेको हो ।विषादीको प्रयोगपछि बालीनालीका शत्रु मानिने फौजी किराजस्ता नोक्सानी गर्ने किराहरुमा विष पचाउन सक्ने क्षमता विकास हुन्छ भने अन्य किराहरु हराउँछन् ।फौजी किरा देखिएपछि सुरुमै विषादी छर्नु हानिकारक हुन्छ । पाकेको धान काट्ने बेला विषादी छर्दा यसले मानिसको स्वास्थ्यमासमेत असर गर्छ । धानको पराल गाईवस्तुलाई खुवाइने भएकाले विषादी प्रयोग हानिकारक हुने वैज्ञानिकको भनाइ छ ।फौजी कीराको नियन्त्रणका लागि खेतभित्र र बाहिर रहेका झारपात उखेल्ने, धान काटेपछि लार्भा नष्ट गर्न खेत जोतेर धानका ठुटा जलाउने वा हटाउने, खेतमा दुई चार दिनसम्म पानी पठाउने गर्नुपर्छ ।

यसका लार्भा दिउँसोभन्दा राति बढी सक्रिय हुने भएकाले खेतमा पासो थाप्ने, बीच–बीचमा खाल्डो खन्ने र पातपतिङ्गर राखेर पछि खाल्डो पुरेर पनि फौजी किरा नियन्त्रण गर्न सकिन्छ ।धान पाकेको छैन । बाला लाग्न सुरु भएको छैन भने जैविक विषादीहरु न्युक्लियर पोलिहेड्रोसिस भाइरस, वेसिलस थुरिन्जेन्सिस जस्ता विषादी दुई ग्रामलाई दुई लिटर पानीमा मिसाइ स्प्रे गर्नुपर्छ । यस्तै, खेतमा पानी पठाएर दुई लिटर मट्टितेल राखेर डोरीको सहायताले बोट हल्लाएर लार्भा मट्टितेल पानीमा झारेर पनि नियन्त्रण गर्न सकिन्छ । यसका लागि पानी खेतमा पठाएपछि त्यसलाई रोक्नुपर्छ ।

निकास दिनुहुँदैन ।यति गर्दा पनि नियन्त्रणमा आउन नसके प्राविधिकको सल्लाहमा विषादी प्रयोग गर्न विज्ञको सुझाव छ । प्रकोप देखिएको खेतमा धान काटिसकेपछि विषादी छरेमा फेरि त्यो खेतमा धान, गहुँ, मकै, जौ नलगाएर त्यसै राखेमा पनि यो किरा फैलिन नसक्ने विज्ञहरुको भनाइ छ ।धानबालीमा फौजी कीराको प्रकोप फैलिएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पनि अनुगमन थालेको प्रवक्ता तेजबहादुर सुवेदीले बताउनुभयो ।नार्कका वरिष्ठ धान बाली वैज्ञानिक हरिकृष्ण उप्रेती भने सामूहिक रुपमा नियन्त्रणको प्रयास सुरु नगरे ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्ने बताउनुहुन्छ ।

‘फौजी कीरा सामूहिक रुपमा फैलिन्छ । यो फैलिएकै ठाउँमा नियन्त्रणको पहल थालिहाल्नुपर्छ । नभए प्रकोप फैलिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ’ नार्कका प्रवक्ता उप्रेतीले भन्नुभयो, ‘तर अहिलेसम्म सामूहिक प्रयास सुरु भएको छैन । ढिलासुस्ती गरेमा झन् ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।’

Related Articles

Back to top button
Close