समाचार

पहिला सधै भारतबाट बिजुली किन्ने नेपालले अहिले दिनै ३० देखि ४० मेगावाट बिजुली भारतलाई बेच्दै

नेपाल विद्युत् प्राधिकरणले दैनिक ३० देखि ४० मेगावाट बिजुली भारत निर्यात गरिरहेको जनाएको छ । नेपालमा उत्पादन पनि बढिरहेको र वितरण प्रणालीमा बेलाबेलामा समस्या आइरहेकाले दैनिक ३० देखि ४० मेगावाट बिजुली भारतको बिहारमा निर्यात भैरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

‘केही ठाउँमा बत्ती आउने जाने भैरहेको छ, तर हामीसँग बिजुली नभएर त्यस्तो भएको होइन, वितरण लाइनमा भएको खराबीले हो’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘हामीले अहिले पनि रक्सौल-परवानीपुर प्रसारण लाइनमार्फत चौबिसै घण्टा ३० देखि ४० मेगावाट बिजुली पठाइरहेका छौँ, उनीहरुले पनि औपचारिकरुपमा मागिरहेका छन् ।’ बर्खाको समयमा कुनै कुनै समयमा नेपालमा विद्युतको लोड नै नहुने भएकाले केही आयोजना राति बन्द गर्नुपर्ने अवस्था रहेको पनि उहाँले दाबी गर्नुभयो ।

‘शनिबारको कुरा गर्दा हाम्रो उत्पादन १० हजार मेगावाट आवर हुनुपर्नेमा जम्मा ७ हजार मेगावाट आवर मात्रै उत्पादन भएको छ, किनकि धेरै वितरण लाइनमा समस्या आउँदा लोड नै पर्याप्त भएन, हाम्रा धेरै उत्पादन गृहहरु रातभरि नै बन्द गर्नुपर्‍यो’, घिसिङले भन्नुभयो । अहिलेको बर्खामा बिजुलीको माग कहिले निकै उच्च हुने र कहिले निकै कम हुने गरेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरण सम्हालेको ३ वर्ष पुगेको अवसरमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशकलाई प्रश्न आयो, ‘लोडसेडिङ हट्यो भन्नुहुन्छ तर बत्ती किन झ्याप्प झ्याप्प गैरहन्छ ?’ कार्यकारी निर्देशकले जवाफमा भन्नुभयो, ‘हामीसँग बिजुली अपुग भएर बिजुली काटिएको होइन, त्यसैले यसलाई लोडसेडिङ भन्न मिल्दैन, बरु हाम्रा पुराना संरचनाले धान्न छाडेका हुन्, हामीले हजारौँ पोल र ट्रान्सफर्मर फेरिसक्यौं तर अझै धेरै ठाउँमा पुराना संरचनाको कारणले बत्ती गएको हो ।’ यस्तै सडक र ढल बनाउँदा खम्बा सार्ने काम भैरहँदा पनि बिजुली गएको हुन सक्ने भन्दै घिसिङले भन्नुभयो

Related Articles

Back to top button
Close