समाचार

चितवनमा झडप हुँदा डिएसपीसहित पाँच प्रहरी घाइते

पुडासैनी प्रकरणमा दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा हुलदंगा मच्चाउनेमाथि अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । ढुंगा प्रहारबाट डिएसपी सहित पाँच प्रहरी घाइते भएका छन् भने १० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ।

घाइतेहरु मध्ये केहीकाे भरतपुर अस्पतालमा उपचार भइरहेकाे छ। प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न केही सेल अश्रुग्याँससमेत प्रहार गरेको छ।रविलाई जिल्ला अदालतबाट प्रहरी हिरासत भित्र ल्याइसकेपछि प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड्न खोज्दा झडप भएको हो। रवि लामिछानेको रिहाईको माग गर्दै चिवतनमा हरेक दिन प्रदर्शन हुँदै आएको छ।

लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र ‘रूकु’ भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँदै आइतबार जिल्ला वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुद्दा दायर गरेको हो।रविसहित कार्की र कँडेल अब अदालतले आदेश जारी नगरेसम्म प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेपछि आइतबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशमा प्रतिवादीहरुको बयान शुरु भएको थियो ।आइतबार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ । बाँकी २ प्रतिवादीहरु युवराज कँडेल र रवि लामिछानेको भने बयान बाँकी रहेको छ ।

Related Articles

Back to top button
Close