अन्तर्राष्ट्रिय समाचार

कफ्र्यू तोडेरै कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिए, भारतविरुद्ध नारावाजी गर्दै भने, ‘गो इन्डिया गो ब्याक’, ‘वी वान्ट फ्रिडम’

श्रीनगर : कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । लिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो । आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले अश्रूग्यास प्रहार गरिरहेको छ ।

बिबिसीले सार्वजनिक गरेको भिडियोमा हजारौं मानिस सडकमा देखिन्छन् । उनीहरु भारतविरुद्ध नारावाजी गरिरहेका देखिन्छन् । ‘गो इन्डिया गो ब्याक’, ‘वी वान्ट फ्रिडम’ जस्ता नारावाजी उनीहरुले लगाइरहेका छन् । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गरिदिएपछि नै यहाँ आन्दोलन हुँदैआएको बताइएको छ ।
अलजजीरा, न्यूयोर्क टाइम्स र समाचार एजेन्सी रोयटर्सले दाबी गरेको छ कि प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्याससहित हवाइ फायर गरेको छ । सो क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका दाबी गरिएको छ। रिपोर्टमा दाबी गरिएको छ कि विदेशी सञ्चार माध्यम र पत्रकारलाई निधेष गरिएको छ । तर भारतीय मिडियाले भने कश्मीर सामान्य स्थितिमा रहेको दाबी गरेका छन् ।

अलजजीराले दाबी गरेको छ कि उसँग भएको विरोध प्रदर्शनको एक्सक्लूसिव भिडियो फुटेज छ । अलजजीराका अनुसार भारत प्रशासित कश्मीरको श्रीनगरमा शुक्रबार नमाजपछि प्रदर्शन सुरु भएको थियो । कर्फ्यूको अवज्ञा गर्दै हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्केको समाचारमा दाबी गरिएको छ । उक्त रिपोर्टमा दाबी गरिए अनुसार प्रदर्शनकारीले कालोझण्डा बोकेका थिए ।

केहीले हातमा बोकेको प्ले कार्डमा ‘हामी स्वतन्त्रता चाहन्छौँ’ र अनुच्छेद ३७० हटाउने विषय मान्दैनौँ’ जस्ता नारा लेखिएका थिए । मोदी सरकारले गत सोमबार जम्मू कश्मीरलाई विशेष दर्जा दिने अनुच्छेद ३७० खारेज भएको घोषणा गरेको थियो ।

Related Articles

Back to top button
Close