समाचार

म सडकमा हुँदा धेरैको नजर मैमाथि हुन्छ

काठमाडौं : सुशीला गुरूङको घर धादिङ हो। दुई महिनाकी छँदा उनले बुबा गुमाइन्। सात वर्षको उमेरमा आमाले छाडेर गइन् । उनलाई ठूलोबा र ठूली आमाले हुर्काए बढाए । सुशीलाका तीन दिदी छन् । २०७० सालमा एसएलसी पास गरेर धादिङबाट काठमाडौं आएसँगै उनको पढाइ यात्रा रोकियो। पढाइ भन्दा आवश्यकता जीवन धान्नु थियो।

काठमाडौं आएदेखि नै उनले रानीवनको तरकारी तथा फलफूल पसलमा काम गर्न थालिन्। पसलकै गाडी सिकिन् र चलाउन सक्ने भइन्। सामान ओसारेर ल्याउन-दिन सक्ने भएपछि आफैं गाडी किन्ने निधो गरिन्। ‘पढेको भए त सक्थेँ होला। तर पढाइभन्दा केही काम गर्नुपर्छ भन्ने भयो,’ सुशीलाले भनिन्, ‘मेरो घरमा पैसा कसैलाई पठाउन पर्दैन। कमाएको सबै पैसा बचत गरेँ। साहुहरूले पनि थपिदिएपछि मैले गाडी किनेँ।’

सुशीलाले भ्यान गत चैतमा किनेकी हुन्। यसले उनलाई राम्रै कमाइ गर्न सघाएको छ। आत्मनिर्भर भएपछि सन्तुष्टि दिएको छ। ‘सडकमा हिँड्दा मज्जा पनि आएको छ’ २३ वर्षीया सुशीलाले भनिन्, ‘धेरैको नजर ममाथि हुन्छ। भर्खरका केटाहरूले नजर जुधाउँछन् । यसो जिस्काउँछन्। म पनि के कम, मुसुक्क हाँस्दिन्छु। काममा हिँडेको मान्छे, केही भन्न मिलेन।’

सुशीलाले थपिन् ,’वय*ष्कहरूले भने राम्रो गरेकी छौ नानी भन्छन्। सबैले हौसला दिन्छन्। मलाई पनि ऊर्जा मिल्छ।’ सुशीला बिहान चारै बजे उठ्छिन्। नित्यकर्म सकेर घुइँय्य सुजुकीको भ्यान स्टार्ट गर्छिन्। उनको गन्तव्य कहिले बल्खु, कहिले कालिमाटी। बल्खु-कालिमाटी बजारबाट तरकारी ल्याएर रानीवनकै एउटा पसलमा छोड्छिन्। एकछिन त्यही पसलमा सघाउँछिन्।

पहिले यहाँ उनले करिब चार वर्ष काम गरेकी थिइन्। त्यही सम्बन्धले यहाँ काम सघाउन मन लाग्ने सुशीला बताउँ छिन् । भन्छिन्, ‘सबै मान्छे सहनशील हुँदैनन्। सुरूमा काम गर्दा त अलिअलि दुःख भइ हाल्छ। कसैले प्याच्च केही भन्लान् पनि। तर काम गर्दागर्दै सिक्ने हो।’ काम गर्न चाहिने सबभन्दा ठूलो शक्ति नै आत्मबल भएको उनको बुझाइ छ। थप भिडियोबाट हेर्नुहोस… भिडियो यहाँ लिंकमा छ ।

Related Articles

Back to top button
Close