खेलकुद

नेपाल सिंगापुरसँग ८२ रनले पराजित, टी-ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं-नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ । यो पराजयसँगै नेपालको टी-ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर भएको छ।

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको हो । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो । त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । खराब सुरुवात गरेपनि रोहन रंगराजन र टिम डाभिडले सिंगापुरको इनिङ्स उकासेका थिए । मात्र १० रन जोड्दा पहिलो विकेट गुमाएको सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।

Related Articles

Back to top button
Close