राजनीति

म पैसा कमाउन मुख्यमन्त्री बनेको होइन, गलत गर्न खोज्नेहरुपनि होसियार : शेरधन राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्रष्ट आँचरण भएका राष्ट्र सेवकहरु होसियार हुन सचेत गराउनुभएको छ । उहाँले म आफू सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री नबनेको स्मरण गराउँदै घुस प्रकरणमा कुनैपनि कर्मचारीहरु पक्राउ परे भविष्य सकियो भन्ने बुझे हुने स्पष्ट पार्नुभएको छ । कर्मचारीहरु घुस खाएको आरोपमा पक्राउ पर्न थालेको भन्दै प्रदेश सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने मुख्यमन्त्री राईको घोषणा छ ।

सोमबार मुख्यमन्त्रीको कार्यालयमा बोलाइएको एउटा आकस्मिक बैठकमा उहाँले ‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ पर्नु नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु भन्नुभयो ।’

‘यदि कर्मचारी पक्राउले निरन्तरता पाएमा यो प्रदेशको अवस्था कस्तो होला ? त्यसैले समयमै सचेत गराउन यो (बैठक) डाकेको छु भन्दै उहाँले सबै राष्ट्र सेवक स्वच्छ भावना लिएर अघि बढ्न भनिएको छ । एक साताअघि जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयका प्रमुख मानबहादुर यादव १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि मुख्यमन्त्री राईको निर्देशनमा सोमबार कर्मचारीहरुको आपतकालीन बैठक बोलाइएको थियो । बैठकमा सञ्चारकर्मीलाई समेत डाकिएको थियो ।

बैठकमा प्रदेश सरकार महातहका माथिल्ला तहका कर्मचारीलाई बोलाइएको थियो । बैठकमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार मातहतका कर्मचारी खुलेआम घुससहित पक्राउ पर्नुले लज्जावोध भएको स्मरण गराउँनुभयो । यसबाट जाने सन्देशले प्रदेश सरकारलाई कमजोर बनाउने उहाँको भनाई थियो ।

मुख्यमन्त्री राईले आफूले प्राप्त गरेको सूचनाअनुसार अरु कर्मचारी घुस काण्डमा पक्राउ पर्ने अबस्था रहेको भन्दै सबै कर्मचारीलाई सचेत हुन निर्देशनसमेत दिनुभयो । मुख्यमन्त्री राईले आफू प्रदेशमा मुख्यमन्त्री बनेर इतिहासमा नाम मात्र लेखाउन नआएको भन्दै अब भष्ट्राचारविरूद्ध शून्यसहनशीलता कायम गराउने पक्षमा अडिग रहने बताउनुभयो ।

उहाँले आफ्नो राजनीतिक जीवनमा कमिशन, घुसको लोभ नभएको भन्दै आफू प्रदेश बनाउन आएकाले यस कार्यमा सबैको सहयोगको अपेक्षा रहेको बताउनुभयो । बैठकमा प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले प्रदेश सरकार मातहतका कार्यालयका प्रमुखहरु घुससहित पक्राउ पर्ने क्रमसँगै प्रदेश सरकारको इमेज कमजोर बनाउने काम भइरहेको भन्दै सचेत बन्न निर्देशन दिनुभएको थियो ।

Related Articles

Back to top button
Close