समाचार

कुनै नेताले टिका लगाएर ल्याएको कर्मचारीले काम गर्न सक्दैन : सांसद चौधरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मुलुकको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै बर्बाद बनाएको आरोप लगाउनु भएको छ । नेपालको एक मात्र अर्बपतिसमेत रहेका सांसद चौधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहोदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क गर्नुभयो ।

उहाँले नेताहरुसँगको सम्बन्धका आधारमा माथिल्लो ओहोदामा पुगेका कर्मचारीले काम गर्न नसक्ने रुपष्ट पार्नुभयो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उद्योगपति चौंधरीले यस्तो बताउनु भएको हो ।

उहाँले २०४६ सालयताका दिनहरुलाई हेर्दा माथिल्लो ओहोदामा पुग्ने कर्मचारीसँग योग्यता र कार्यक्षमता भन्दा पनि नेतृत्वसँगको सम्बन्धले काम गर्ने गरेको पनि उल्लेख गर्नुभयो । सबैभन्दा कम क्षमता भएकाहरुलाई माथिल्लो ओहोदाको जिम्मेवारीमा पुर्याउने राजनीतिक नेतृत्वका कारण मुलुकको कर्मचारी संयन्त्र कामै गर्न नसक्ने अवस्था पुगेको चौधरीको दाबी छ । उहाँले कर्मचारी संयन्त्रलाई गतिशील बनाउन उनीहरुको मानसिकतामा परिवर्तन हुने गरी तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

Related Articles

Back to top button
Close