कोशी ब्यारेजमा पानीकाे बहाव ३ लाख ३१ हजार २ सय २० क्युसेक , ४१ वटा ढोका खोलियो
लगातारको वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सप्तकोशीमा पानीको बहाव अत्यन्त उच्च भएको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार शनिबार साँझ ८ बजेसम्म पानीकाे बहाव ३ लाख ३१ हजार २ सय २० क्युसेक पुगेको छ। अहिलेसम्म ४१ वटा ढोका खोलिएको पनि कन्ट्रोल रुमले जानकारी दिएको छ।थप ढोका खोल्दा भारतीय भूभाग डुबानमा पर्ने र ढोका नखोल्दा नेपाली भूभाग डुबानमा पर्ने स्थिति छ।वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत गराएको छ।
भारतले समयमै बाँधका ढोकाहरु नखोल्दा रौतहट पूर्णरुपमा डुबानमा परेको छ । लालबकैया र बाग्मती नदीमा आएको बाढीले सदरमुकाम गौरसहित अधिकांश भाग डुवाएको छ ।गौरमा शुक्रबार राति नै बाढी पसेको थियो । सदरमुकामका मुख्य सडकमा एक तले घर डुब्ने गरी पानी जम्मा भएको छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी युनिट समेत डुबानमा परेका छन् ।बाढीले गौरसँगै गरुडा, कटहरीया, मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकड डुबाएको छ ।