समाचार

२४ वर्ष मै सिउँदो पुछिएकी देवीले जुत्ता सिलाएर बनिन सेलिब्रेटी, सम्मान स्वरुप सक्दो सेयर गरौ !

बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए। तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपर्थ्यो। अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्ने अवस्थामा थिइनन्।
जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँचिरहनु पर्‍यो। जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती सिउँदो पुछियो। उनले परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी सुम्पँदै जानुपरेको बताउँछिन्।विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो। विवाहपछि जिन्दगीका सुन्दर सपना बोकेर नवविवाहित जोडी छाला जुत्ताको पसल सञ्चालन गर्न रोल्पा आएको थियो।

रोल्पामा छाला जुत्ताको व्यवसाय सन्तोषजनक रुपमा सञ्चालन भयो। देवी घरधन्दा गर्थिन्, उनका श्रीमान् पसल सञ्चालन गर्थे। पसलबाट राम्रै तरिकाले दैनिकी चलिरहेका बेला देवीको जीवनमा अकस्मात् ठूलो बज्रपात भयो। आफन्त भेट्न दाङ गएका बस्यालको मोटरसाइकल दुर्घटनामा निधन भयो।श्रीमानको निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उनमा जिम्मेवारी पनि थपियो।
यतिबेला देवी दुई सन्तानकी आमा बनिसकेकी थिइन्।श्रीमानको निधन हुँदा देवीको न त आर्थिक अवस्था सवल थियो न हातमा कुनै किसिमको सीप थियो जसका कारण श्रीमानको काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किइन्।

शुरुशुरुका दिनमा देवीको धेरै आँशु बग्यो। काखका सन्तानले बाबा खै भनेर प्रश्न गर्दा धेरैपटक उनी बीचबाटोमै भक्कानिएको सुनाउँछिन्। कतिपटक त मध्यरातमा छिमेकीले ढोका खोलेर देवीका आँशु पुछेको उनले अझै भुलेकी छैनन्। तर यसरी सधैँ रोएर बिलौना गरेर आफूलाई कमजोर बनाउनुभन्दा बरु केही गर्छु भन्ने धारणाको विकास भएपछि उनले श्रीमानले गर्दै आएको कामलाई निरन्तरता दिन थालेको बताइन्।

उनलाई शुरुशुरुमा श्रीमानले मजधारमा ल्याएर छोडेको पसल सञ्चालन गर्न निकै गाह्रो भयो। तर विस्तारै उनको क्षमता विकास हुँदै गएपछि व्यापार राम्रो चलेको देवीले बताइन्। यसले विस्तारै उनको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन हुन थाल्यो। तर दुःखको कुरा श्रीमानको निधन भएको करिब एक महिना नपुग्दै साढे दुई लाख रुपैयाँको तमसुकसहित साहु आएपछि उनी थप चिन्तित बनेकी थिइन्। तर पनि करिब एक वर्ष नपुग्दै उनले श्रीमानले लगाएको ऋण चुक्ता गरिन्।

“शुरुशुरुमा धेरै रोएँ केही जान्दैनथेँ, कसैसँग बोल्न पनि आउँदैनथ्यो। जुत्ता तथा पसलमा भएका अन्य सामग्रीको मूल्य पनि थाहा थिएन। तर केही गर्छु भन्ने हिम्मत आएपछि सबै सहज बन्दै गयो” उनले भनिन्।करिब दुई लाखबाट सञ्चालन भएको व्यवसाय हाल आठ लाख रुपैयाँ बराबरको पुगिसकेको छ। उनका दुवै छोरा सदरमुकामकै विद्यालयमा कक्षा ४ र कक्षा १ मा अध्ययनरत छन्। सम्पूर्ण घरखर्च कटाएर मासिक रु २०/२२ हजार बचत हुँदै आएको छ भने उनले कोहलपुरमा एउटा घडेरीसमेत लिइसकी छन्।

‘आफूलाई नीला ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु’, उनले भनिन्। सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ। ‘समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहनुभएको छ। उहाँहरुलाई पनि जीवनमा केही गरेर आत्मनिर्भर बन्न सल्लाह दिन्छु’, देवीले भनिन्।

कठिन परिस्थितिसँग डराएर होइन हिम्मत गरेर अघि बढ्न सके सफल भइदो रहेछ भन्ने राम्रो उदाहरण बन्न सफल भएकी छन् देवी। यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाले महिला दिवसका अवसरमा देवीलाई बिहीबार पाँच हजार नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दैछ।महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले देवीको कामको खु्ल्ला हृदयले प्रशंसा गरिन्।

उनका अनुसार जिल्लामा देवीजस्ता अरुकै खुशीमा रमाउनु पर्ने बाध्यता बोकेका महिलाको संख्या ठूलो छ। विभिन्न कारण तथा विभिन्न बाध्यतामा महिला आत्मनिर्भर बन्न सकिरहेका छैनन्।तर पनि देवीजस्तै संघर्ष गर्नसके अन्य महिलाको जीवनस्तरमा पनि सुधार आउने उनको धारणा छ। यस वर्षको महिला दिवसले सम्पूर्ण महिलालाई आत्मनिर्भर बन्न प्रेरणा मिलोस् भन्दै आचार्यले सम्पूर्ण रोल्पाली महिलालाई शुभकामना पनि दिएकी छन्।

यो पनि पढ्नुस

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

Related Articles

Back to top button
Close