समाचार

को हुन, स्पेनका लागि नेपाली राजदूत बनेकी दावाफुटी शेर्पा

काठमाडौं : दावाफुटी शेर्पा अर्थात् पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी । दावाफुटीसँग जोडिएको सबैभन्दा बलियो र प्रिय पहिचान यही हो, ‘पासाङ ल्हामुकी छोरी ।’ सोमबारबाट उनको नयाँ परिचय थपिएको छ,स्पेनका लागि नेपाली राजदूत। सोमबार बसेको संसदीय सुनुवाइ समितिबाट अन्य तीन जनासँगै दावाफुटी पनि राजदूतमा अनुमोदन भएपछि उनको नयाँ परिचय थपिएको हो। २०३८ सालमा जन्मेकी दावाफुटी सम्भवत अहिलेकी सबैभन्दा कलिलो नेपाली राजदूत हुन् ।

दावाफुटीको सपनामा ‘युर्टन’ : राष्ट्रिय विभूती पासाङ ल्हामुकी तीन सन्तान छन्, छोरा नाम्गेल र छोरीद्धय दावा फुटी र दिकी शेर्पा । दावाफुटी ठुली छोरी हुन। छोरा नाम्गेल व्यापारमा छन। दावाफुटी अमेरिकामा भर्खरै डिग्री सकेर नेपाल फर्किएकी हुन् । उनको वुवा लाक्पा सोनाम सामु भाई अर्थात् यति एअरलायन्सका निर्देशक आङछिरिङ शेर्पाको निधनपछि यति समुहलाई उही गतिमा दौडाउने चुनौती छ ।

पारिवारिक स्रोतका अनुसार अमेरिका देखि दावाफुटी फरक सपना बोकेर नेपाल फर्किएकी थिइन् । आमा पासाङ ल्हामु शेर्पाको सम्झना र सम्मानमा स्थापित संस्था ‘पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान’ मार्फत सामाजिक र पर्यटकीय अभियानमा लाग्ने योजना लिएर नेपाल फर्किएकी थिइन् । त्यसो त अमेरिकाबाट फर्किएपछि ‘पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान’ को नेतृत्व सम्हाल्लेर काम गर्ने योजना सुनाउदा बुवा लाक्पा सोनामलाई समेत ‘सर्प्राइज’ जस्तै भएको थियो

‘पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान’का तत्कालिन नेतृत्व समेत अचम्भित भएका थिए । १३ वैशाख २०७६ मा भएको ‘पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान’को अध्यक्ष सम्हालेकी थिइन् । पर्वतारोहण क्षेत्रको सुधार, पर्वतारोहण क्षेत्रमा आबद्ध महिलाहरुको सशत्तिकरण सँगै अभाव र गरिबिले पछि परेकाहरुको हितमा काम गर्ने बताएकी थिइन् । भनेकी थिइन्,‘आमाले हिड्नु भएको बाटो र उज्यालो हाम्रो लागि प्रेरणदायी छन्, त्यही सपना पुरा गर्ने हामी नयाँ योजनाका साथ काम गर्नेछौं ।’

तर, पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको ठोस काम गर्न नपाउँदै उनी राजदूत भएकी छिन् । स्रोतका अनुसार अमेरिकामा पढेर आएकी दावाफुटीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूत बन्न उपयुक्त हुने सुझाएपछि उनको सपना बदलिएको हो । बुवा लाक्पा सोनामले पनि छोरीलाई राजदूत बनेर काम गर्न उपयुक्त हुने सुझाएपछि उनको सपना परिवर्तन भएको हो । बुवा लोक्पा सोनाम प्रधानमन्त्री ओलीसँग नजिक छन् । दावाफुटीले अग्रजहरुबाट सिकेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

‘राजदूत भनेपछि कपाल फुलेको मानिसको तस्बिर आउँछ, तपाईं त भर्खरको हुनुहुन्छ, जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ ? भन्ने एक सांसदको प्रश्नको जवाफमा दावा फुटीले भनिन्, ‘अनुभव नभए पनि अग्रजहरूबाट सिक्दै जानेछु ।’ कम बोल्ने शालिन स्वाभावकी दावाफुटी अध्ययनशील छिन् । सांसदहरुले भनेजस्तै उनलाई चुनौती भने धेरै छन् । उनले राजदूत भएपनि ‘पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान’सँग जोडिएर देखेका सपना र योजनालाई भने निरन्तरता दिने बताएकी छिन् ।

Loading...

Related Articles

Back to top button
Close